शनिबार, जेठ १७ २०७७
काठमाडौं २०:४७
वासिङटन डिसी 11:02

कोरोना संक्रमणका विरुद्ध बाल्टिमोरमा सामुदायिक पहल,विभिन्न टास्कफोर्स गठन

इनेप्लिज २०७६ चैत १६ गते ११:०२ मा प्रकाशित

बाल्टिमोर,मार्च २८ । कोरोना भाइरसको प्रकोपले अहिले विश्वभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । कोभिड-१९ नाम दिइएको यो भाइरसको संक्रमणबाट पीडित हुनेहरुको संख्या र निधन हुनेहरुको संख्या दैनिक रुपमा बढेको छ । यसको बढ्दो संक्रमणलाई थप फैलन नदिन सतर्कता र सचेतता बाहेक हालका लागि अर्को विकल्प देखिएको छैन । त्यसैले अमेरिकाको संघीय र कतिपय राज्य सरकारले आपतकालीन स्थितिको घोषणा गरी मानिसहरुको जमघट,भेटघाट,सभा,समारोह सबै बन्द गरिदिएका छन् ।

यही संक्रमणको बढ्दो खतरा र जोखिमलाई न्यून गर्न र आफ्ना समुदायका सदस्यहरुलाई भैपरी आउने आवश्यक सहयोग गर्न बाल्टिमोरमा सामुहिक पहल भएको छ । मेरिल्याण्ड राज्य संसदमा निर्वाचित पहिलो नेपाली-अमेरिकी युवा ह्यारी भण्डारीको पहलमा समुदायका सदस्यहरुका बीच आवश्यक छलफलपछि एक उच्चस्तरीय समिति र सोही समिति मातहत विभिन्न टास्कफोर्स समेत गठन गरिएको छ । हालका लागि मेरिल्याण्ड राज्यमा सिमित हुने गरी गठन गरिएको यो समितिले कोरोनाको बढ्दो संक्रमणबाट जोगिने उपायहरुको बारे सचेतना जगाउनेलगायत आवश्यक सहयोगका लागि समेत काम गर्नेछ ।

राज्य सांसद भण्डारीको संयोजकत्वमा गठित समितिमा मेरिल्याण्ड राज्यको इन्डियन हेड नगरका भाइस मेयर किरण सिटौला,महावाणिज्यदूत प्रेमराजा महतसहित डाक्टर श्याम कार्की,अर्जुन हमाल,राजन त्रिपाठी, प्रेमकुमार श्रेष्ठ, प्रभू थापा र गोपाल विश्वकर्मा सदस्य छन् । यसैगरी समितिका अन्य सदस्यहरुमा कृष्णजीवि पन्थ,कृष घिमिरे, कुलमणी आचार्य ,डाक्टर उत्तम गौली,डाक्टर कृष्ण विष्ट,कुमार कार्की,डोलनाथ घिमिरे,सुबोध पन्त र अन्सुया वन्त रहेका छन् । समितिको सचिवालय व्यवस्थापनका लागि गौतम दाहालले समन्वय गर्नुहुनेछ ।

यस समिति मातहत विभिन्न सातवटा टास्कफोर्स समेत गठन गरिएको छ । जसमध्ये पहिलो चिकित्सकहरुको टास्कफोर्स रहेको छ ।मेडिकल सपोर्ट टास्क फोर्स नाम दिईएको यसको संयोजक डाक्टर श्याम कार्की रहनु भएको छ । यस्तै स्थानीय संघ,संस्थाका सबै प्रमूख एवं प्रतिनिधि सदस्य रहने गरीडाक्टर उत्तम गौलीको संयोजकत्वमा नेपाली कम्युनिटी आउटरिच एवं समन्वय समिति गठन गरिएको छ ।

समितिको बैठक र टास्कफोर्स प्रमूखको रिपोर्टलाई दस्तावेजको रुपमा तयार गर्ने र समितिलाई अवगत गराउने गरी डाक्टर कृष्ण विष्टको संयोजकत्वमा टास्कफोर्स सचिवालयको गठन गरिएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण राज्यमा आपतकालीन स्थिति लागू भएको र यहाँ व्यापार तथा व्यवसाय गरी रहेका नेपाली समुदायका व्यवसायीहरु प्रत्यक्ष प्रभावित भएको अवस्थामा संघीय र राज्य सरकारबाट प्राप्त गर्ने सहुलियत बारे समुदायलाई तथ्य अवगत गराउने र त्यस्तो सेवा तथा सुविधाका लागि आवश्यक समन्वय गर्ने गरी अर्को एक टास्कफोर्स गठन गरिएको छ । जसको संयोजकमा कुलमणी आचार्य रहनु भएको छ भने कृष घिमिरेको संयोजकत्वमा स्थानीय समुदायका आम सदस्यलाई तत्काल आवश्यक लजिष्टिक सुविधा उपलब्ध गराउने बारे समन्वय गर्न अर्को टास्कफोर्स गठन गरिएको छ । भाइरसको संक्रमणको खतराका कारण व्यापार,व्यवसाय बन्द भएर बेरोजगार हुन पुगेका समुदायका सदस्यहरुलाई सरकारी सेवा र सुविधा उपलब्ध गराउन आवश्यक समन्वय गर्नेगरी रमेश भट्ट र साथी बाल्टिमोरको संयोजकत्वमा अर्को टास्कफोर्स गठन गरिएको छ ।

यसैगरी कोरोना संक्रमणका लागि यस समितिले गर्ने गतिविधिलाई मिडियामार्फत प्रचार-प्रसार गरी अन्य राज्यका नेपाली समुदायलाई पनि उत्प्रेरित गर्नका लागि मधुकर अधिकारीको संयोजकत्वमा सतिश चापागाईं र सिर्जन ताम्राकार सदस्य रहेको मिडिया टास्कफोर्स समेत गठन गरिएको छ ।

यो समिति र सम्पूर्ण टास्कफोर्सको सचिवालय डेलिगेट ह्यारी भण्डारीको सम्पर्क कार्यालयमा रहनेछ । सचिवालयको संयोजन गौतम दाहालले गर्नेछन् भने सचिवालयमा दीपा गुरुङ र डाक्टर रबिन्द्र शाहले सहयोग गर्नेछन् ।

डेलिगेट भण्डारी अहिले मेरिल्याण्ड हाउस अफ डेलिगेट्सको तर्फबाट युनिभर्सिटी अफ मेरिल्याण्ड हेल्थ सिस्टममा समेत आवद्ध हुनु भएको छ । जसले कोरोना संक्रमणको पछिल्लो अवस्था बारे अपडेट गर्ने र रणनीति बनाउने काम गर्छ ।

यसैबीच कोरोनाका संक्रमणका कारण बेरोजगार हुन पुगेका समुदायका सदस्यहरुलाई सरकारी सहयोग र बेरोज्गारे बीमा सुविधा उपलब्ध गराउनका लागि डेलिगेट भण्डारीको सचिवालयका तर्फबाट दीपा गुरुङले आवश्यक समन्वय गरिरहेकी छिन् ।

प्रतिक्रिया