महामारीको राजनीति र मलामीबिनाको मरण

कपिल काफ्ले २०७६ चैत १५ गते १३:१७ मा प्रकाशित

काठमाडौंको एक अस्पतालमा बहिनीको निधन भएको जानकारी गराउँदै दाइले फेसबुकमा लेखेका छन् , ‘आफन्तहरुलाई फोनबाट पनि सम्पर्क गरे, तर आठ घण्टा भइसक्यो, मलामी जुटिरहेका छैनन् । कोरोना भाइरसका कारण बहिनीको मृत्यु भएको पनि होइन, तै पनि ज्यान जाने जोखिमका अगाडि मलामी बन्न आफन्तहरु नै तयार देखिंदैनन् ।’

बेलायतमा रहेका गोर्खाली सैनिक, पूर्व क्याप्टेन गोवर्धन गुरुङले लेखेका छन्, ‘करोडौं पाउण्ड बैंकमा छ, स्वदेश र विदेशमा राम्रो सम्पत्ति छ, तर तीन दिनभयो भात खान पाएको छैन ।’ इस्ट लण्डन जहाँ उनी बसोबास गरेका छन्, वरिपरिका किराना पसलहरु रित्तिइसकेका छन्, लेख्छन्, ‘स्टोरमा केही चकलेट मात्र बाँकी रहेछ, त्यही ल्याएर तातो पानीसँग खाइरहेको छु । मधुमेहको विरामी हुँ, डाक्टरले चक्लेट नखानु भन्थे, तर अरु केही छैन, सुन–चाँदी–पाउण्ड–डलर टोक्नु हुँदोरहेनछ ।’

यस्ता मार्मिक विवरण सामाजिक सञ्जालमा यत्रतत्र पाइन्छन् । विश्वका महाशक्ति र समृद्ध मुलुकहरु कोरोना भाइरसका कारण पराजित हुँदैछन् । युवराजदेखि प्रधानमन्त्री–मन्त्रीहरुसमेत कोरोना भाइरसको चपेटामा परिसकेका छन् । नेपाल जस्तो अल्प विकसित मुलुकले सरकार र प्रतिपक्षबीच कुनै विभाजनको भावन देखाई कोरोना भाइरसकाविरुद्ध एकता प्रदर्शन गरेका छन्, उदाहरणीय व्यवहारका लागि स्यावासी पाइरहेका छन् । तर, विश्वका महाशक्ति राष्ट्रहरुबीच कोरोनाविरुद्ध एकीकृत ढंगले प्रतिरोध गर्ने तत्परता नभएका कारण दिन–रात मृत्युको संख्या बढिरहेको छ ।

कोभिड–१९ पनि भनिने यस भाइरसको संक्रमण कालको प्रारम्भमै विश्व यति धेरै अस्तव्यस्त बनेको छ, जबकि नियन्त्रणात्मक अवस्थामा केबल छिमेकी चीनमात्र देखिन्छ, महाशक्ति अमेरिका लगायत इटली, इरान, स्पेन, फ्रान्स, जर्मनी, बेल्जियम आदि मुलुकहरुमा कोरोना भाइरस डडेलोझैं सल्किरहेको छ । निकट भविष्यमै नियन्त्रणको सम्भावना पनि देखिएको छैन । उपचारमा लागेका डाक्टर लगायतका स्वास्थ्यकर्मीहरुलाई नै संक्रमणबाट जोगाउने उपकरण (पिपिई) पुर्‍याउन सकिएको छैन, विकसित मुलुक नै यस प्रकारको हाहाकारमा छन्, नेपाल जस्तो मुलुकमा संक्रमणले व्यापकता नलिएका कारणले मात्र हो, अन्यथा घर–घरमै लाश अड्किने भयावह अवस्थाको सिर्जना नहोला भन्ने अवस्था छैन ।

हामी नेपाली नचाहिने कुरामा पनि बहादुरी देखाउँछौं । शिक्षामन्त्री लगायतको टोलीले सिफारिस गरेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले मानेकाभए आज एसईईको परीक्षा ‘चलिरहेको हुन्थ्यो’ यस मुलुकमा । बीचमै ‘लकडाउन’ गर्नुपर्ने अवस्था आउँछ, परीक्षा हुन सक्तैन भनेर नेपाल समाचारपत्र लगायतका मिडियाले सम्पादकीय नै लेखे, तर त्यस टोलीले सुनेन, बहादुरी देखाइरह्यो, अन्ततःजाँचको पूर्वसन्ध्यामा आएर मात्र जाँच रोकियो । मुलुक ठूलो क्षति बहन गर्नबाट जोगियो । कवि भूपि शेरचनले भनेजस्तै ‘हामी बुद्धु छौं, त्यसैले बहादुर छौं ।’ बुद्धुहरुलाई पनि पैसा कमाउनु छ कमिसन बनाउनु छ– यो कुरा बेग्लै हो ।

यस्तो गम्भीर संक्रमणको अवस्थामा पनि टोल–टोलमा समूह बनाएर तास खेलेर समय बिताउने बहादुर बुद्धुहरु भेटिएका छन् । समूहमा खेलिने अरु खेल पनि चलिरहेका छन्, दुरी कायम राखेर सडकमा हिंड्ने व्यक्तिलाई प्रहरीले कारबाही गर्नुभन्दा यस्ता बहादुर बुद्धुहरुलाई बोरामा कोच्नु आवश्यक भएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव आन्टोनियो गुटेरस भन्छन्, कोरोना भाइरसविरुद्धको लडाइँ मानवताका लागि हो, कुनै मुलुक र सरकारका विरुद्ध होइन । ऐक्यवद्धताका साथ विश्वव्यापी अभियान आवश्यक छ, कोभिड–१९ सम्पूर्ण मानवताविरुद्धको चुनौतीहो’ गुटेरसले भनेका छन्– मानवताका पक्षमा काम गर्ने सबैले यसविरुद्ध लड्नुछ ।

तर, अमेरिका र चीनबीच शुक्रबारको पछिल्लो वार्तासम्म पनि यस प्रकारको एकतावद्ध प्रयास गर्ने तत्परता देखिंदैन । यस अघि ७ फेब्रबरीमा भएको वार्ताभन्दा पछिल्लो वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही लचकता त देखाएका छन्, अबदेखि ‘चाइनिज भाइरस भन्दिनँ’ कोरोना भाइरस नै भन्छु भनेर फक्स न्युज टेलिभिजनलाई अन्तर्वार्ता दिएका छन्, चीनले कोभिड–१९ नियन्त्रणका लागि छोटो समयमै हासिल गरेको प्रगतिको पनि प्रशंसा गरेका छन्, तर उसले नियन्त्रणका लागि अवलम्वन गरेको विधि र शैली अपनाउन उनी ठूलो जनसमुदायको क्षतिपछि पनि तयार देखिएका छैनन् । मानव अधिकारको पहिलो लक्ष्य ‘बाँच्न पाउने अधिकार’ नै गुमाइरहेका आफ्नो मुलुकका नागरिकका आफन्तलाई ‘मानव अधिकारलाई पहिलो प्राथमिकता दिने’मुलुक अमेरिकाका राष्ट्रपति ट्रम्पले के जबाफ देलान् !

गत डिसेम्बर महिनामा चीनको उहान शहरमा कोरोना भाइरसको पहिलो बिरामी देखिएकै आधारमा अमेरिकी राष्ट्रपति र उनका अधिकारीहरुले ‘चिनिया भाइरस, उहान भाइरस’ भन्दै टिप्पणी गर्न थालेपछि चिनिया विदेश मन्त्रालयले कोरोना भाइरसको संक्रमणलाई डँडेलोको स्वरुपलिनबाध्य अमेरिकालाई ‘आफ्नो काममा ध्यान देऊ, अरुलाई आक्षेप नलाऊ’भनेर जबाफ फर्कायो । बिबिसीका अनुसार त्यसको एक हप्ता अघि मात्र चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी सेनाले यस क्षेत्रमा कोरोना भाइरस छोडेर षडयन्त्रको राजनीति गर्‍यो भनेर आक्षेप लगाएका कारण पनि अमेरिका चिढिएको थियो । तर, यसैबीच अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले ‘गलत सूचना नफैलाऊ, आफ्नो षड्यन्त्रको दोष हामीतिर फर्काउने’ भनेर प्रति आक्षेप लगाएपछि राष्ट्रसंघ र विश्व स्वास्थ्य संगठनको चाहना विपरीत दुवै मुलुक टाढिन पुगे । यता जनता मरिरहने उता नेता आरोप–प्रत्यारोपमा लागिरहने अवस्था सिर्जना भयो ।

पछिल्लो शुक्रबारको वार्तापछि ट्रम्पले गरेको ट्युटरले भने किञ्चित आशा पलाएको छ । उनले लेखेका छन्, ‘चीनसँग कोरोना भाइरसविरुद्ध लडेको अनुभव छ, त्यसैले हामी उसको निकटमा रहेर काम गर्दैछौं ।’उता चिनिया राष्ट्रपति सी जिङपिङले भनेका छन्, हामी सहकार्य गरेर गयौं भने दुवै पक्ष लाभान्वित हुन्छौं । सिन्ह्वा सीको भनाइभन्दै लेख्छ, ‘एक–आपसमा प्रतिद्वन्द्वितागर्‍यौ भने दुवै पक्ष घाटामा हुने छौं ।’

कोरोनाको उत्पत्तिस्थल मानिएको उहानलाई तीन महिनाभित्र पुनःपहिलाको अवस्थामा फर्काउन सफल चीनको अनुभव र दक्षताले न्युयोर्क, मिलान आदि महामारीमा परेका शहरलाई मुक्त गराउन सक्ने विश्वास सम्बन्धित विषयका विज्ञहरुको छ ।

(लेखक कपिल काफ्ले नेपाल समाचारपत्र दैनिकको सम्पादक हुनुहुन्छ )

प्रतिक्रिया