सोमबार, असोज ५ २०७७
काठमाडौं १५:०२
वासिङटन डिसी 05:17

श्रीमती ‘पर सरेकी’ छिन्

किशोर सापकोटा २०७६ चैत १४ गते ९:४५ मा प्रकाशित


चन्दा र मेरो विवाह भएको अर्को महिना १७ वर्ष पुग्छ (विवाहको वर्षगांठ मनाउने माहोल भने छैन) । यो १७ वर्षको अवधिमा पहिलो पल्ट उनी ‘पर सरिन्’ । हाम्रो परिवारमा महिनावारी हुंदा कोही पनि महिलाले ‘पर सर्नु’ पर्दैन । महिनावारी हुनु भनेको सामान्य प्रक्रिया हो, यसलाई हाम्रो परिवारमा कसैले पनि असामान्य वनाउन खोज्दैन । छोरीछोरी पनि त्यही मान्यताका साथ हुर्किदैछन् ।

छोरीलाई यही वर्ष स्कुलमा पहिलोपटक महिनावारी भएछ । स्कुलवाट फोन गरिन् । मसंग छोरी सकेसम्म नेपालीमा वोल्ने प्रयास गर्छिन । भनिन् – ‘वावा खुन आयो’ । म झोलामा उनका कपडा र ‘सेनेटरी सप्लाइज’ वोकेर स्कुल दौडिए । आजकल पनि कहिलेकांही ‘सेनेटरी सप्लाइज’ हाल्न विर्सन्छिन् र स्कुल दौडिरहनुपर्छ । छोरीको स्कुल चलिरहेको वेला मैले स्कुलको घण्टी वजाए भने फ्रन्ट डेस्कका कर्मचारीले वुझिहाल्छन् – यात छोरीको कुनै अप्वाइन्मेट छ या त ‘सेनेटरी सप्लाइज’ लान विर्सिएकोले म वोकेर पुगेको छु ।

मैले श्रीमतीको कुरा गर्दागर्दै छोरीको प्रसंग किन निकालेको हो भने छोरीहरुले घरघरमा महिनावारीको विषयमा खुलेर कुरा गर्ने वातावरण वनोस् । कहिलेकांही छोरी अनायसै झर्किदिन्छिन् । छोरी कसरी वोलेको भनेपछि उनले उल्टो सम्झाउंछिन्- ‘सरी वावा, तपाइलाई थाहा छ त, हामी महिलाको मुड महिनामा ३ -४ दिन अलि ठीक हुंदैन भनेर’ । हो, छोरीको कुरामा सत्यता छ, धेरैले परिवारमा यो महसुस गर्नुभएको होला ।

म अव प्रसंगमा नै फर्कन चाहन्छु । एक हप्ता अगाडि मलाइ मध्यरातमा चन्दाको फोन आयो । उनले भनिन्- भोलि विहान म घर आइपुग्दासम्ममा वेसमेन्टको कोठा मिलाइदिनु । भोलिदेखि म छुट्टै वस्छु । मैले परिस्थिति वुझीसकेको थिए ।

किन कोरोना भाइरस संक्रमित धेरै विरामी आएका छन् ? मैले निद्रामा नै सोधे ।

हो – उनले संक्षिप्तमा भनिन्- ‘मेरो युनिटमा सवै कोरोना संक्रमित विरामीहरु छन्’ ।

भोलिपल्ट विहान घर आउंदा उनी सधैझै आफ्नो ड्र्रेस लगाएर आइनन् । कपडा खोलेर डिक्कीमा हालेकी रहिछिन् । जुत्ता घरवाहिरनै खोलिन् । कुकुर लुटपुटिन नजाओस् भनेर मैले पहिला नै समाइसकेको थिए । छोराछोरीलाई आमासंग अंकमाल गर्न नजान पहिलानै सचेत गराइसकेको थिए । उनीसंग घरका हरेक सदस्यको ६ फिटको दुरी कायम भयो ।

सोझै वाथरुममा गएर नुहाएर आइन् ।

मध्यरातसम्म मेरा हातखुट्टा कापिरहेका थिए, ढाडवाट पसिना वगिरहेको थियो, उनले कोरोना भाइरस संक्रमितहरुलाई उपचार गर्दाको अनुभूति ६ फिट टाढावाट सुनाइन्, मैल मेरो कर्तव्य भुल्नु हुंदैनथ्यो, त्यसैले कांपेका हातखुट्टा र डराएको मनलाई नियन्त्रण गरे ।

यो उनको नर्सं भएर काम गर्दाको पहिलो त्रासदीपूर्ण रात थियो । उनलाई काम गर्नका लागि त्यो दिन कुनै सहयोगी समेत दिइएको थिएन ।

कोरोना भाइरसको उपचारमा संभव नभएसम्म नर्सहरुलाई सहयोगी नदिने धेरै अस्पतालहरुले नीति लिएका छन् किनकी एक त व्यक्तिगत सुरक्षा सामग्री (पीपीए) थोरै प्रयोग होस र अर्को संक्रमित व्यक्तिहरुसंग सकेसम्म दक्ष नर्सहरुले मात्रै सम्पर्क गरुन् र संक्रमण वाहिर नआओस् ।

कोरोना संक्रमितहरुको उपचारमा खटिएको भोलिपल्ट उनी फेसवुक लाइभ आइन् । लाइभमा उनले नर्सहरुले उपचारमा अपनाउनु पर्ने सजगता र घरमा वसिरहेका मानिसहरुले गर्नुपर्ने सहयोगको वारेमा चर्चा गरेकी थिइन् । उनले भनेकी थिइन् – ‘यतिवेला सवैले सकेसम्म संयमता अपनाइदिनुहोस् ताकि तपाइहरुलाई संक्रमण भएर वा अन्य विराम लागेर अस्पताल पुग्नु नपरोस्, विरामी भएमा अस्पताल गइ हालिन्छ नि भन्ने मान्यता नराख्नुहोस्, अस्पतालहरु फुल भइसकेका छन् ।

उनले अन्य रोग लागेर अस्पताल जांदा अस्पतालवाट पनि कोरोना संक्रमण सर्ने हुंदा सामान्य विराममा अस्पताल नजान र सकेसम्म घरेलु उपचार खोज्न सुझाव दिएकी थिइन् । लाइभमा जांदा समेत उनको अनुहारमा त्रास थियो, वोली कामेकै थियो । डर हुनु पनि स्वभाविक थियो किनकी कोरोना भाइरसका रोगीलाई स्वास्थ सेवा दिइरहेका चिकित्सक र नर्सहरु लगातार आफै संक्रमित भएर मरिरहेका छन् ।

अर्को दिनदेखि उनी अलि कम डराइन् । शायद मृत्युको डरलाई कर्तव्यवोधले जितिसकेको थियो । हप्तामा तीन दिन काम गर्नुपर्ने स्क्याजुल पुरा भएपछि उनी तीन दिनदेखि घरमा वसेकी छिन् तर ‘पर सरेकी’ छिन् । उनी वेसमेन्टको कोठामा छिन्, म तेस्रो तल्लामा छु । वेलावेलामा उनी लवीमा आउंछिन्, आउनु भन्दा पहिला नै फोन गर्छिन, छोराछोरीलाई माथिल्लो तल्लामा जान अह्राउंछिन् । कुकुरलाई समाइदिन वा गराजमा थुनिदिन भन्छिन् । घरभित्र कि त टाढावाट वोल्नुपर्ने अवस्था छ, सकेसम्म त फोन वा म्यासेन्जरमा कुरा हुन्छ ।

अमेरिका दिनदिनै त्रासदीपूर्ण वाटोमा अगाडि वढेको छ । कोरोना भाइरसवाट संक्रमित हुनेहरुको सवैभन्दा अग्रसुचिमा अहिले अमिरिका छ । धेरै अस्पताल अगाडि आजकल शववाहनको लस्कर देख्न सकिन्छ । संक्रमणको आशंका भएकाहरु त १४ दिने क्वारेन्टाइन सकेर नियमित जीन्दगीमा फर्कन्छन् । तर विरामीको सेवामा भएका स्वास्थकर्मीहरुको यो ‘सेल्फ आइसोलेसन’ कहिले सकिएला ? चिकित्सकहरुलाई मेरो कार्यक्षेत्र सुरक्षित भन्ने कहिले महसुस होला ? मेरी पत्नी ‘पर’ वाट कहिले ‘वर’ आउन पाउलिन् ?

प्रतिक्रिया