कोभिड १९- लकडाउनमा नेपाली कैदीहरुको अवस्था

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७६ चैत १२ गते २३:५६ मा प्रकाशित

यस समाचार लेख्दै गर्दा अहिलेसम्म विश्व स्वास्थ्य संघले दिएको आधिकारिक कोरोना भाइरस संक्रमितको संख्या संसारभरी ४७००८९ छ, जसमा ११२८३४ संक्रमितहरु स्वस्थ भइसकेका छन भने संसारभरी यस रोगको संक्रमणबाट २११७६ जनाको मृत्यु भइसकेको छ। कोभिड १९ विरुद्ध लड्न हरेक देश ले आआफ्नै किसिमले सुरक्षा नीतिहरु अपनाइरहेका छन।

नेपालमा पनि सरकारले हालै आएर कोभिड १९ लाई गम्भिररुपमा लिई लकडाउन शुरु गरेको छ। पर्यटन मन्त्री योगेश भट्टराईका अनुसार एक लाख मानिसहरुको क्षमता भएको क्वारेन्टाइनको व्यवस्थापन भइसकेको छ भने नगरकोटका होटेलहरुमा दुई हजार मानिस राख्ने क्वारेन्टाइन र दुबाकोटस्थित केएमसी अस्पतालमा समेत क्वारेनटाइन बनाउन स्थलगत निरीक्षण भइसकेकोछ । यता सरकार तयारीमा जुटेकोछ भने उता बिरामीको संख्या बढ्ने क्रम जारी छ।केन्द्र सरकारले पाँच हजार र प्रदेश सरकारले दुईदुई हजारको क्वारेन्टाइनको व्यवस्थापन नेपाल सरकारले गर्दैछ तर कोभिड १९ को प्रमाणिकरण टेकु ल्याबमा बाहेक अन्यत्र गर्ने व्यवस्था तत्काल छैन।

कारागार र कैदीको संख्या

नेपालमा हाल संचालनमा ७४ वटा कारागार छन भने जसमा सबभन्दा ठुलो कारागार सुन्धारास्थित केन्द्रीय कारागार हो जसको क्षमता १५ सय जनाको छ। ललितपुरको नख्खु कारागारको क्षमता पनि ४०० जना को छ । काठमाण्डौको डिल्लीबजारस्थित कारागारको क्षमता पनि त्यति धेरै छैन। नेपालका सबै कारागारमा क्षमताभन्दा बढी कैदी छन र सामान्य बिरामी कैदीलाई समेत छुट्टै राखेर उपचार गर्न सक्ने यथेष्ट ठाउ नेपालका कारागारमा छैनन्। नेपालमा कैदीको संख्या हाराहारी २३ हजारको रहेको छ भने हाल भएका कारागारको क्षमता १० हजारको हाराहारीमा रहेको छ।

अन्तरराष्ट्रीय मापदण्ड अनुसार कैदीहरुको वर्गीकरण गरी छुट्टाछुट्टै राख्ने व्यवस्था गर्नुपर्छ तर नेपालका कारागारहरुमा भएका कैदीहरुलाई कसरी राख्ने भन्ने समस्या रहेको छ भने कारागार व्यवस्थापन पक्ष आफ्नो क्षमता भन्दा दोब्बर तेब्बर कैदीहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने समस्या झेलेर बसेको छ।

कोभिड १९ र कारागार व्यवस्थापन

महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्ने सबैभन्दा महत्वपूर्ण उपाय सामुहिक भेटघाटबाट टाढा रहनु हो तर गुन्द्रुक खांदिएसरी खांदिएर अपराधका सजाय काटिरहेका कैदीहरुको स्वास्थ्यको जिम्मेवारी यस कठीन परिस्थितिमा लिने को?

विकसित देशहरुमा सामुहिक भेला, सम्मेलनमा बन्देज मात्र होइन एकै परिवारका बाहेक अन्य दुई व्यक्तिबीच एक मीटरको दुरी तोकेको छ तर एउटै थाना मुनि दुई तल्ले खाटमा सुत्ने कैदीहरुको स्वास्थ्यमा सरकारको ध्यान पुगेको छैन।

सामान्य मापदण्डमा पनि बन्दीहरुले उपचार सेवा पाउनुपर्छ र स्वास्थ्य उपचारबाट उनीहरुलाई सामान्य नागरिक सरह नै उपचार गरिनुपर्छ, यो राष्ट्रको जिम्मेवारी हो।

कोभिड १९ एक असामान्य रोग हो र यो संसारभरी महामारीको रुपमा फैलिएको अवस्थामा कारागारमा रहेका बन्दीहरुले सामान्य नागरिक सरह सतर्कता अपनाउने अधिकार पाउछन भने बन्दीहरुको स्वास्थ्य सुरक्षामा सतर्कता अपनाउनु सरकारको कर्तव्य हुन आउछ ।

अपराधको सजाय भोगिरहेको बन्दीको बांच्ने अधिकार एक सामान्य नागरिक सरह नै हुन्छ। सामान्य नागरिकको स्वास्थ्य सुरक्षा र सतर्कतामा राष्ट्र जति जिम्मेवार हुनुपर्छ त्यति नै बन्दीहरुको स्वास्थ्यमा पनि सरकार संवेदनशील हुनुपर्छ र त्यसको व्यवस्थापन प्राथमिकताका साथ संवेदन भएर गर्नुपर्छ।

The candle burns not for us, but for all those whom we failed to rescue from prison, who were shot on the way to prison, who were tortured, who were kidnapped, who ‘disappeared‘. That’s what the candle is for“.
-Peter Benenson, founder of Amnesty International

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया