अर्थतन्त्र जोगाउन जन स्वास्थ्यको बेवास्ता

बिष्णु शितल २०७६ चैत १२ गते १६:५१ मा प्रकाशित

बिष्णु शितल। अमेरिकालाई विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) लगायतले अबको कोरोना संक्रमणको केन्द्रबिन्दु अमेरिका हुदैछ भनिरहदा यसो भन्ने आधारको बारेमा मेरो आफ्नो धारणा ब्यक्त गर्दैछु ।

अमेरिका शक्ति सम्पन्न देश भएर पनि किन यसो भन्नु पर्ने अर्थात यस्तो अनुमान लगाउन सकिने अवस्था आयो ? के यहाँ चेतनाको अभाव भएर हो ? के यहाँ श्रोत साधनको अभाव भएर हो ? के यहाँ राजनीतिक नेतृत्व कमजोर भएर हो ? के सामाजिक धार्मिक साँस्कृतिक क्षेत्रमा काम गर्ने सँघ संस्थाको कमीले हो ? के मिडियाको कमजोरीले गर्दा हो ? प्रश्नहरु अरु पनि छन । तर म अहिले यिनै प्रश्नहरुको जवाफ खोज्दै आफ्नो धारणा बनाउदै छु ।

आज मात्र हैन झण्डै १ सय ५० बर्षयता या भनौ बृटिस साम्राज्य कमजोर हुदै गएसंगै अमेरिकले आफूलाई एक नंबर शक्तिशाली बनाउदै आएको छ । यसले विश्व बजारमा, उत्पादनमा, सूचना र संचारमा,हात हतियार उत्पादन र विक्रीमा, आफूलाई एक नंबर नै बनाइरह्यो । यसले संसार भरका मानिसलाई जीवनको अन्तिम गन्तब्य अर्थात सपनाको देश बनाईराख्न सफल रह्यो ।

केही दिन पहिले फ्रान्स बस्ने बहिनी अनुराधा पौडेलले लेखिन -जुन पुस्ताले युरोप बनायो त्यो पुस्ताका बृद्ध बृद्धाहरु अहिले बृद्धाश्रममा उपचार नपाएर(स्पेनमा स्वास्थ्य कर्मीहरु बृद्धाश्रमबाट भागेको दर्दनाक कथा छ ) छटपटिदै परिवार पनि नभेटी संसार त्याग गर्नु परेको अवस्था छ । अमेरिकामा पनि त्यो भन्दा दर्दनाक अवस्थाको आँकलन गरिदैछ । पछिल्ला दिनहरुले संकेत गरीसकेका छन ।

यो अवस्था यहाँको शासन पद्धति र नीतिले ल्याएको हो । यहाँको शासन पद्दतिको सार अर्थात चुरो – देश भनेको शक्ति हो , शक्तिको श्रोत पुँजी हो । शक्ति कायम राख्न र देशको पूँजी घट्न वा बिग्रन नदिन देश चलायमान हुनुपर्छ । त्यसको लागि देश खुला र नियमित संचालनमा रहनुपर्छ । त्यसको लागि प्रेरित गर्न राज्य कामदारलाई पैसा दिन तयार छ तर देश चल्नु पर्छ । ह्वाईट हाउस त्यही भनिरहेको छ । अहिलेको अवस्थामा देशबासीका लागि खतर्नाक कुरा हो । यो पैसा दिएर विषालु साप समाउन पठाएजस्तै अवस्था हो ।
यदि यिनीहरुले देश बन्द गर्दै प्रत्येक मानिसको स्वास्थ्य परीक्षण गरेर आबश्यक उपचारको ब्यवस्था गर्ने र अत्याबश्यक वस्तुको आपूर्ति राज्य संयन्त्रबाटै सुरक्षित तबरले गरिनुपर्दछ ।

यदि यसो गरिएन भने पछिल्लो पुस्ताले इतिहासमा यस अवधिलाई कहाली लाग्दो कालखण्डको रुपमा पढ्नु पर्ने छ । आज न्युयोर्कको परिदृष्यले सिंगों अमेरिकालाई थर थर कपाइरहेको छ । दिन दिनैको मात्र हैन छिन छिनैको तथ्य तथ्याँकमा तपाईहरु अद्यावधिक नै हुनुहोला भनेर सबै उल्लेख गरिन तर निकट भविष्यको अमेरिका त्यति उज्यालो देखिदैन । यसो भनेर म अब हाम्रो हातमा केही रहेन , केही गर्न सकिदैन भन्न खोजिरहेको छैन । हामी आफू सुरक्षित रहन सक्छौं । यो हामी माथि खस्न लागेको आणविक बम हैन ।
देश चलाउनेहरुको सोच प्रतिकुल भए पनि हामीले आफू जोगिन विश्वब्यापी रुपमा जानकारीमा आएका उपायहरु अवलम्बन गर्यौं भने आफू पक्कै सुरक्षित रहने छौं । सजिलो नभए पनि आफू सकभर अलग्गै बस्न सक्छौं । हात साबुन पानीले धुन सक्छौ । भीडमा नजान सक्छौं ।

यदि हाम्रो पेशा सुरक्षाकर्मी, स्वास्थ्य कर्मी, संचारकर्मी, अत्याबश्यक वस्तुको काउन्टर बिक्रेता हो भने कामको अवधिलाई अत्यन्त होसियारीका साथ निर्बाह गर्नु पर्दछ । घर पुगेपछि सफाइमा ध्यान दिनु पर्छ । घर बसेको बेला काममा ब्यस्त रहनुलाइ यस्ता महामारीका बेला आबश्यक मनोबैज्ञानिक उपचार पद्दति मानिन्छ । यस्ता बेलामा मानिसहरु रोगभन्दा चिन्ता र तनावले कमजोर भएका हुन्छन । मानसिक रुपमा कमजोर अवस्थामा हामी भित्र रहेको रोग विरुद्ध लड्ने शक्ति क्षीण भएको हुन्छ । यस्ता नयाँ महामारी जस्को औषधि पत्ता लागेको हुदैन यसलाइ हाम्रो शरीरको प्रतिरोधी क्षमताबाटै निको पार्नु पर्दछ । यसका निम्ति पौष्टिक खानेकुरा खाने, पर्याप्त सुत्ने, ब्यायाम गर्ने, लेख्न पढ्न ब्यस्त रहने,परिवारमा रमाईलो वातावरण बनाउने जस्ता उपाय अवलम्बन गर्नुपर्छ । पहिला आफू स्वस्थ रहौं बाकी काम त्यस पछि गरौला ।

यस महामारीमा दिबंगत आत्मालाई श्रद्धांजली र बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना । सबै मित्रहरुमा सुस्वास्थ्य र दीघायुको कामना ।

प्रतिक्रिया