सुतिरहेछ, न्यूयोर्क शहर………

भूपेन्द्र थापा,न्यूयोर्क । २०७६ चैत ११ गते १०:५३ मा प्रकाशित

भूपेन्द्र थापा,न्यूयोर्क ।

‘न्यूयोर्क सिटिः द्याट नेभर स्लिप्स’ । अमेरिका भित्रैका हुन या संसारको जुनसुकै कुनाबाट न्यूयोर्कमा ठोकिन पुग्ने जोकोहीले पनि सुनेको र भोगेको यो उद्धरण र यथार्थता यतिबेला वास्तवमै उल्टो हुन पुगेको छ । हो यतिबेला ‘न्यूयोर्क सिटिः द्याट अल्वेज स्लिप्स’ हुन पुगेको छ ।‘टाइम इज मनी, मोसन इज प्रोगे्रस’ भन्दै उछलकुद गर्ने न्यूयोर्कर अहिले ‘स्टे अन पज, सेभ द लाइफ’ भन्न बाध्य छन् ।

हुनत यतिबेला संसारै सुतिरहेको छ भन्दा हुन्छ । दुनियाँका सबै ठुला देखी साना देश हुन या शहर, हालत उस्तै छ । रोम होस या पेरिस, टोकियो या बर्लिन, सोल होस या जेनेभा, तेहरान होस या लन्डन, दिल्ली होस या काठमाडौ । सबका सब लक डाउन छन् ।

कोरोना नामको भाइरसले दुनियाँ आक्रान्त छ । सधैं युद्ध उन्माद, हतियार र मिसाइलका धाक धम्कीमै रमाउने शक्तिशाली भनिएका राष्ट्र र तिनका शासकहरुलाई आफ्ना देशका स्वास्थ्य संस्थाहरुमा सामन्य मास्क पर्याप्त मात्रामा पु¥याउन हम्मेहम्मे परिरहेको छ । मानिसहरुले बिरामी भएर पनि अस्पताल भर्ना हुन पाइरहेका छैनन् । आफुलाई भाइरस लाग्योकी भन्ने शंका निवारणका लागी टेष्ट गरेर ढुक्क हुन पाइरहेका छैनन् । किनकी चिनको युहानबाट शुरु भएको यो भाइरस नितान्त नयाँ किसिमको हो र यो यति भयानक र द्रुत गतिमा फैलिरहेको छ कि मै हु भन्ने बादशाहहरुले पनि कुनै मेसो पाउन सकिरहेका छैनन ।

एक हप्ता बढी भयो संसारकै राजधानी भनिने न्यूयोर्क शहर ठप्प छ । अझ आइतबार साझँ आठ बजे पछि त अफिसियल्ली नै स्थिर छ । न्यूयोर्क राज्यका गर्भनर एन्ड्रेउ क्यूओमो ले आइतबार साँझ आठ बजेबाट लागुहुने गरी ‘स्टेट अन पज’ घोषणा गरेपश्चात यहाँका अत्यावश्यक सेवा र बस्तुको सेवा प्रवाह गर्ने ग्रोसरी पसल, औषधी पसल, लुगा धुने पसल र सार्वजनिक यातायात सेवा लगायतका बाहेक अन्य सबै पेशा एवं व्यबसाय ठप्प छन् ।

अमेरिकाका अन्य शहरमा बाहिर मानिस नदेखिने भएतापनि न्यूयोर्कमा भने अफिस आवरमा भेडाबाख्राको बथान झै देखिने मानिसको भिड अहिले सब तितरवितर छ । ‘म्याक एन चिज होस’ या ‘वेकन एग एन चिज’, स्यान्डविच लुछ्दै अर्कालाई हुत्याएरै लडाउला झै हिडने मानिसहरु यतिबेला गुप्तबास छन् । सार्वजनिक बस र रेलमा अरुलाई घचेटदै अघि बढने भिड यतिबेला अस्पतालमा थुप्रिरहेका छन् । स्थिति निकै नै कारुणिक छ । दैनिक हजारौले भ्रमण गर्ने र फोटो खिचाउने न्यूयोर्कको मुटु ‘टाइम्स स्क्वायर’ सुनसान छ । हडसन रिभरले छाल हान्न छाडेको छ । त्यसैको विचमा ठिङ्गउभिएर ‘स्ट्याचु अफ लिवर्टी’ टोलाइरहेकी छिन् । अमेरिकी बैभव र स्टक मार्केटको प्रतिक ‘चार्जिङ बुल’ लोलाईरहेको छ । सिगों कंक्रिटको जंगल म्यानहाटान बजारमा कोही छैनन छन त केवल झुक्किएर गमला र सडकका पेटीमा कृत्रिम रुपमा उमारिएका रुखहरुमा केही थान चरा । मिनेटमिनेटमा चुइकिदै कुदने ट्रेनको ढोका खुल्नुपहिले नै पस्न अत्तालिने हुलका हुल मानिस छैनन् बरु सब वेमा तिनै रैथाने मुसाहरुको रजाइ छ । सायद तिनिहरुपनि भोकाएका हुदाँ हुन । यस्तो संकटका बेला न्यूयोर्क शहर कम्तीमा पनि चरा र मुसाले धानिरहेका छन् । चरा मुसा कोही छैन चाही भन्न परेको छैन । धन्य छन ती चरा र मुसा ।

पचाँस वटा राज्य र करिव ३३ करोड जनसंख्या भएको अमेरिकामा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या करिव ४६ हजार पुगिसकेको छ भने करिव छ सय जनाले ज्यान गुमाइसकेका छन् । सबैभन्दा पहिले सुदुरपश्चिममा रहेको वाशिङटन राज्यमा देखापरेको भाइरस संक्रमित नभएको अहिले लगभग कुनै पनि राज्य बाँकी छैन् ।

न्यूयोर्क र नेपाली

क्षेत्रफलमा झण्डै नेपालजत्रै (१,४१,३००) वर्ग किलोमिटर क्षेत्रफल रहेको र करिव २ करोड जनसंख्या रहेको न्यूयोर्क राज्यमा हालसम्म करिव २१ हजार जना संक्रमित रहेका छन भने एक सय अठासी जनाले ज्यान गुमाइसकेका छन् । न्यूयोर्क राज्य अन्तर्गतको न्यूयोर्क शहरमा मात्रै संक्रमितको संख्या १३ हजार नाघिसकेको छ भने ज्यान गुमाउनेको संख्या एक सय पच्चीस रहेको छ । करिव असी लाख जनसंख्या रहेको संसारकै सवैभन्दा बढी जनघनत्व रहेको यस शहरमा आधिकारिक तथ्याङ्क नभएपनि करिव पचाँस हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिन्छ । हाल अमेरिकामा जनगणनापनि चलिरहेकाले केही महिनापछि भने लगभग आधिकारिक तथ्याङ्क पनि आउने आश भने गर्न सकिन्छ । हालसम्म न्यूयोर्क शहरमा बस्ने तीन जना नेपालीमा पनि यो संक्रमण भएको पुष्टि भइसकेको छ । जसमध्ये दुइजनाम क्रमशः ब्लड प्रेसर र डायबिटिजको समस्या भएको बुझिएको छ भने अर्का एक जनाचाही तुलनात्मक अन्य दुइ भन्दा कम उमेर(५०) को भएको र विगतमा अन्य स्वास्थ्य समस्या नभएपनि भाइरस संक्रमित भएको बुझिएको छ । टेस्ट भइकन प्रमाणितै भएका तीन जना मात्रै भएपनि टेस्टै नगरिकन लक्षण भएको तर घरमै आराम गरिरहेको सामाजिक संञ्जालमा बताउने न्यूयोर्कर नेपाली बग्रेल्ती भएकाले निकै नै संख्यामा नेपालीहरु पनि संक्रमित रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ । तर हालसम्म मृत्यु भने कसैको भएको छैन् ।

कोरोना र नेपाल…..

शुरुमा चीनबाट शुरु भएको कोरोना भाइरस अमेरिकातिर भन्दा पनि केही पहिले नै नेपाल भित्रिन सक्ने शंका गरिएको थियो । छिमेकी देश हुनु । युहानमा नेपालीहरु रहनु र दैनिक हजारौ चाइनिज पर्यटकहरुको आवतजावत निकै पछिसम्मै पनि भइरहनुले नेपालमा भयावह हुने त्रास पैदा भएको थियो । सरकारले समयमै कुनै कदम नचाल्दा नेपालमा डरलाग्दो स्थिति पैदा हुने डर थियो । तर भगवान पशुपतिनाथको कृपा हो या जेसुकै होस हालसम्म एक जना मात्रै संक्रमित भएको आधिकारिकता छ । तर ढिलै भएपनि सरकारले लक डाउन गरेकाले केही राहतको श्वास फेरिएको छ । भलै जनताको लिडे र अराजक ब्होराका कारण हिडडुल र चहलपहल अझै पनि भैराखेकोमा सामाजिक संजालमा अन्य सचेत नेपालीहरुले आलोचना र आब्हान पनि गरिराखेका छन् । शक्ति सम्पन्न राष्ट्र अमेरिकालाई आच्छुआच्छु भइरहेको समयमा यदी नेपालमा संक्रमितको संख्या यहाँ झै बढदै जाने हो भने नेपाली जनताको विजोक हुने छ । त्यसैले सवैजना संयमित र सतर्क हुन जरूरी छ ।

पशुपतिको कृपा की पसिनाको प्रभाव

करिव ८० प्रतिशत हिन्दु धर्मावलम्वी रहेको नेपालमा कतिले धर्ममम पुर्ण विश्वास गर्छन त्यो चाही अध्ययनपछी नै पत्ता लाग्ला तर जनजीव्रोमा एउटा उक्तिचाही चल्तीमा छ ‘पशुपतिको कृपाले चलेको देश’ । जवजव नेपालमा कुनै संकट आइपर्छ यसै भन्ने गरिन्छ । तर यसपटक भने त्यस्तै नै होकी भन्ने पनि देखिएको छ । नभए यत्तिका विकसित र चाइनाबाट दुर रहेका देशहरुमा पनि संक्रमितहरुको संख्या दिन दु गुणा रात चौगुना बढदा पनि नेपालमा भने हालसम्म पनि नगण्य नै छ । त्यस्तै कुनै बैज्ञानिक आधार र प्रमाण नभएपनि पटक पटक पसिना आउने गरेको प्रसिद्ध दोलखा भिमेश्वरमा केही समय पहिले आएको पसिनालाई पनि केही मानिसहरुले यो महामारीको संकेतको रुपमा ब्याख्या गर्ने गरेका छन् । १९९० सालको भूकम्प अघि, २००७, २०१७ र २०४६ सालको परिवर्तन अघि, २०५७ सालको दरवार हत्याकाण्ड अघि र २०७२ सालको भूकम्पअघि पनि पसिना आएको र यसपटक पनि पसिना पश्चात संसारैभरी र देशमा पनि संकट आएको अथ्र्याउनेहरुको पनि कमी छैन् । खैर चाहे पशुपतिका कारण होस या दोलखा भिमेश्वर या मेडिकल डाक्टहरुका कारण होस् एक्काइसौ शताब्दीमा देखा परेको शताब्दीको ठुलो महामारी कोरोना अर्थात कोभिड–१९ कै कारण नेपालीहरुले मर्न नपरोस परदेशबाट यही कामना ।

सबैको जय होस !

प्रतिक्रिया