शुक्रबार, चैत २१ २०७६
काठमाडौं १०:४०
वासिङटन डिसी 00:55

डा बस्ताकोटीसंग मिलेर बसन्तले ल्याए ‘संगैसंगै’ गजल

इनेप्लिज २०७६ चैत ११ गते ०:११ मा प्रकाशित

कन्चन म्युजिक इन्टरटेनमेन्टले हालै “संगै संगै” बोलको कर्णप्रिय गजल अमेरिकाको नर्थ क्यरोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गजलकार डा ऋषि बस्ताकोटीको रचना र बसन्त खड्काको स्वर तथा संगीत रहेको उक्त गजलमा दीप तुलाधरले संगीत संयोजन गरेका छन् । गजलको भोकल रेकर्डिङ् नर्थ क्यरोलाइना निवासी समीर सायमीले गरेका हुन् भने म्युजिक रेकर्डिङ् र सम्पादनको काम काठमाडौँको कमलपोखरी स्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । यो गजलको ध्वनी सम्पादन (अडियो एञ्जिनियारिङ्ग) दीप तुलाधरले गरेका छन् भने दृश्य सम्पादन अमेरिका निवासी किसोर अल्बर्ट बस्ताकोटीको रहेको छ ।

“कन्चन” गीत गजल एल्बमको तयारीमा रहेका बसन्त खड्काले “संगै संगै ” गजल कन्चन एल्बमको शिर्ष गजलको रुपमा रहने बताए ।

गायनमा तीन दशक लामो अनुभव बनाइसकेका “छाल झैँ कपाल” र “पिउँदा पिउँदा ” जस्ता कालजयी गीतका गायक बसन्त खड्का र गजल लेखनमा दुइ दशक भन्दा लामो इतिहास बनाएका डा ऋषि बस्ताकोटीको सहकार्यमा आएको “संगै संगै” गजलले पनि स्रोताहरुको मन जित्ने विस्वास गरिएको छ । यस अघि नेपालका सुप्रसिद्ध गजलकारहरूको गजल समेटेर बसन्त खड्काले “मृगतृष्णा” नामक एल्वम स्रोतासामु ल्याएका छन् भने “गोधुली”, “लालिमा”, “बेस्ट अफ बसन्त खड्का” लगायतका गीती एल्बम पनि बसन्तका अन्य सांगीतिक सिर्जना हुन् ।

डा ऋषि बस्ताकोटीका यस अघि “ज्वालाका रापहरू” गजल संग्रह र “गजल स्पर्श” गजल एल्बम प्रकाशित छन् भने अन्य फुटकर गीत गज़लहरू पनि नेपालका प्रतिष्ठित संगीतकार र गायक गायिकाहरूको सहकार्यमा नियमित रुपमा सांगीतिक बजारमा आएका छन । अघिल्लो हप्ता मात्रै बजारमा आएका डा चन्द्र गिरीसंगको सहलेखनमा डा बस्ताकोटीले लेखेको “मलाइ परदेशी नभन” बोलको राष्ट्रिय गीत पनि निकै लोकप्रिय भैरहेको छ ।

कोरोना भाइरसले विश्वलाई नै त्रस्त बनाएको समयमा सार्वजनिक गरिएको यो गजलले सुख दुखमा पारिवारिक साथ् सहयोगको महत्व र आपसी प्रेमलाइ झल्काउञ्छ । घरमा बसेर पारिवारिक वातावरणमा सुन्न उपयुक्त खालको यो गजल यो लिंकमा सुन्न/ हेर्न सकिन्छ ।

प्रतिक्रिया