कोरोना महामारीकै अर्को युद्ध मैदान अमेरिकाबाट नेपाल र नेपालीहरुको नाममा

रामप्रसाद खनाल २०७६ चैत १० गते २२:५४ मा प्रकाशित

रामप्रसाद खनाल ,

 अलिकति रुघा लागे जस्तो भएको छ, टाउको दुख्ने र अनइजी महसुस पनि भएको छ । म आफै पनि तीन दिन देखी घरमै आइसोलेशनमा बसिरहेको छु । हाल म बसिरहेको देश अमेरिका चाइनाबाट शुरु भएको कोरोना भाइरसको चपेटामा परिसकेको छ । यी पङ्ती लेख्दा सम्म अर्थात् मार्च २३ तारिख बिहान ११ बजे सम्मको पछिल्लो तथ्याङ्क अनुसार ४५९ जना भन्दा बढी अमेरिकनहरूको “रामनाम सत्य” भैसकेको छ भने ३५,१७९ जनामा कोरोना भाइरसको सङ्क्रमण भैसकेको छ । मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या मिनेट मिनेटमा थपिरहेको देख्दा शङ्कै शङ्का र त्रासले होला सन २०२० नै मेरो अन्तिम वर्ष हुने त होइन भनेर मनमा डर पनि लागिरहेको अवस्थामा छ । मनमा डर पनि किन नलागोस् – संसार भर १५४१९ भन्दा बढीले जिब्रो टोकिसकेका छन् भने ३५३७५९ भन्दा बढी सङ्क्रमितहरू जीवन र मृत्युको दोसाँधमा छन् ।

जति सुकै डराउन्न, आतङ्कित हुन्न भन्दै अरूलाई सान्त्वना प्रदान गर्दै गरे पनि आफ्नै मन भित्रै कता कता कथामा सुनेको यमराज साँच्चै कस्सिएर हामीहरूलाई लिन आएकै त होइन ? जस्तो पनि मनमा उत्पन्न भइरहेको छ । मै हुँ भन्ने देशहरू, संसारका सर्बशक्तिमानहरुको ओठ तालु सुकिसकेका छन् र अहिले संसार पहिलो र दोस्रो विश्व युद्ध पछिको नसोचेको भयङ्कर भाइरस विश्वयुद्धमा फसेको छ ।

मर्ने कसैलाई रहर हुँदैन तर अहिले मान्छे सङ्क्रमित नभएको वा नमरेको सहर विरलै कल्पना गर्न थालिएको छ । संसारका १९३ देश र टेरेटोरीमा कोरोना भाइरस रूपी यमराज छिरिसकेको छ । थाहा छैन यो यमराजले अब कतिको राम नाम सत्य बनाएर छाड्ने हो ।

यो भन्दै गर्दा कसैलाई कति आतङ्कित बनाएको भन्ने लाग्ला तर वास्तविकता यही हो र हामी कोही पनि वास्तविकता बाट भाग्न सक्दैनौँ । कोरोनाले संसार भर महामारी फैलाउँदै मात्र गैरहेको छैन यसले धेरैलाई लैजाने वैज्ञानिक तथा रिसर्चरहरुले अनुमान गरिसकेका छन् जुन दिनदिनै बढी रहेको सँक्रमित र मृत्‍यु सङ्ख्याले पुष्टि गर्दछ ।

सुरुमा चाइनाको बुवानबाट सुरु भएको यो यमराज रूपी कोरोना भाइरस चाइनाले केही समय लुकाउनाले संसारले आज त्यसको चर्को मूल्य चुकाउनु परेको कुरा कसैबाट छिपेको छैन । सुरु सुरुमा लुकाइयो, त्यस पछि अलि अलि बाहिर लिक हुँदा पत्याइएन, हल्ला हो भनियो । चाइना र कम्युनिस्टहरूलाई बदनाम गर्न साम्राज्यवादी अमेरिका र अरू सम्राज्यबादीहरुले गरेको हल्ला र षड्यन्त्र भन्दै अन्य देशका र नेपालका वामपन्थीहरू पनि बोले लेखे, तर अहिले बल्ल बुद्धिको बिर्को खुलेको छ र सबै लकडाउनको अवस्थामा छन् ।

बाध्यता र विवशताले नेपाल बाहिर रहेका म र म जस्ता करिब एक करोड नेपालीहरू ( भारत र अन्य सबै देशहरू गरी संसार भरको अनुमानित आँकडा ) ले नेपाल र नेपालीको हितमा यत्ति केही बोल्यौँ वा लेख्यौँ भने आफ्नै देशलाई लात्त हानेर विदेश जानेले हामीलाई सिकाउने ? तिमीहरू विदेशी हौ देखी विभिन्न नानाभाँतिका गाली गलौजमा उत्री हाल्ने केही नेपालीहरूले मन अमिलो पारे पनि बिदेशमा रहेका हामी नेपालीहरूलाई भने रात दिन नेपाल र नेपालीकै चिन्ताले सताइरहेको हुन्छ ।

बिहान जुरुक्क उठदा देखी राती नसुत्दा सम्म हामी नेपालकै समाचारहरूमा आँखा डुलाउँछौँ । नेपालमा कहाँ के भयो त्यो हाम्रो चिन्ता र सरोकारको विषय हुन्छ । अहिले हामी आफै कोरोनाको महामारीमा फसेका ठाउँमा छौँ । यहाँ कुन बेला के हुन्छ, मरिन्छ या बाँचिन्छ थाहा छैन । तर हामीलाई हाम्रो होइन नेपालमा भएका आफन्तजन, मित्रहरू, दाजु भाइ दिदी बहिनीहरूको चिन्ता छ । हामीलाई केही भए पनि नेपालमा केही नहोस् भनेर कामना गरिरहेका हुन्छौँ तर हाम्रो मानवीय समवेदना माथि खेलबाड भई नै रहन्छ ।

आज देखी नेपाल लकडाउनको स्थितिमा पुगेछ । यस अघि गत केही दिन देखी काठमाडौँ बाट बाहिरी जिल्ला र गाउँ फर्क अभियान नै चलेछ । चाइनाको बुवान र अन्य ठाउँ बाट हवाई बाटो हुँदै ३० हजार भन्दा बढी चाइनिजहरू नेपाल आएछन् । नेपालमा सञ्चालित विभिन्न परियोजनाहरूमा कार्यरत हजारौंं चाइनिजहरु अस्तिसम्म निर्बाध, बिना चेक जाँच आउने जाने गरे बाटै पनि कोरोना भाइरस नेपालमा आएको छैन भन्ने ठाउँ छैन ।

त्यसै गरी केही दिन यता कोरोना भाइरसको सङ्क्रमण भएका कयौँ देशबाट नेपालीहरू र विदेशीहरू नेपाल आउने जाने क्रम रोकिएको थिएन । छिमेकी देश भारतबाट विभिन्न नाकाबाट आउने जाने को सङ्ख्या कति कति ! नेपालगन्ज, वीरगन्ज, विराटनगर, भैरहवा सुनौली, धनगढी लगायतका दर्जनौँ नाकाहरूबाट नेपाल भित्रिनेको सङ्ख्या कोरोना भाइरस सर्ने, सङ्क्रमण हुने हिसाबले खतराको सूचक मान्नुपर्दछ । हुँदा हुँदा क्वारेन्टाइनमा राखेका मान्छेहरू पर्खाल नाघेर भाग्दै गरेको देख्दा लाग्यो नेपालमा अब कोरोनाको भाइरस सहर देखी गाउँ सम्म फैलने सम्भावना बढ्यो ।

नेपालमा स्वास्थ्यमन्त्रीले नै पत्रकार सम्मेलन गरेर कोरोना भाईरस सँक्रमित भेटिएको बताइसकेकोले खतराको घण्टी बजिसकेको छ । जुन देशमा कोरोनाको टेस्ट गर्ने प्रयोगशाला टेकु काठमाडौँ मा मात्र छ, जहाँ सरकार कमजोर छ र टेस्ट किट देखी चिकित्सक, नर्सका लागि मास्क, गाउन, पन्जा देखी आवश्यक उपकरणहरूको हाहाकार छ अब त्यहाँ को स्थिति कति भयावह होला ? यो सम्झेर अत्यन्त चिन्ता लागेको छ ।

विदेशमा बस्ने हामी नेपालीहरू यता आफ्नो चिन्ता त छँदै छ तर आफ्नो भन्दा बढी चिन्ता नेपालको छ । तसर्थ विदेशबाटै भए पनि अनुरोध गर्न मन लाग्यो – आफू पनि बाँचौँ र अरूलाई पनि बँचाऊँ । सरकारी सूचना, निर्देशनको पालना गरौँ । चिकित्सक र सम्बन्धित निकायका सुझाव ग्रहण गरौँ । आफूमा पनि सके सम्म कोरोना भाइरस सङ्क्रमण हुन नदिऔँ, अरूलाई पनि नसारौँ । बाँचियो भने बाँकी कुरा गर्दै गरौँला अहिले बाँच्ने र बँचाउने कुरा गरौँ । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् । सबैको जय होस ।

– भर्जिनिया अमेरिका, मार्च २३, २०२० बिहान ११ बजे ।

Related News and Links: click on the below links:-

कोरोना भाईरसको आतंक छ, घर मै बन्धक भएका बेला गीत संगीत सुन्नुस, हेर्नुस । गीत संगीत पनि आफैमा एक प्रकारको मलम हो भन्छन !

गीतहरु शुरु गर्नुभन्दा पहिला म र मेरी श्रीमती दुबै तपाईं हामी सबैको सुस्वास्थ्यका लागि, कोरोना भाईरस आतंकको अन्त्यका लागि भगवान सँग प्रार्थना गर्दछौं  

 

                             

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया