लक डाउन आफुले आफुलाई जान्ने अवसर

रमेश ढकाल २०७६ चैत १० गते २२:१३ मा प्रकाशित

 

यो जगतमा योग तथा ध्यान साधनाको निक्कै महत्व छ। त्यसमा पनि हाम्रो पुर्वीय संकृतिमा त यसको महत्व र प्रभाव धेरैनै ब्यापक रहने गरेको छ। आज भन्दा पन्ध्र हजार बर्ष पहिला तिर नै आदियोगीको रूपमा भगवान शिवले यसको सुरुवात गरेका थिए भन्ने विश्वास गरिए पनि यसको व्यापक अभ्यास भने पछि आएर सिद्धार्थ गौतम याने भगवान बुद्ध मार्फत भएको पाईन्छ। इशापूर्व ५२८ तिर सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि वहाँले गौतम बुद्धका रुपमा ध्यान साधनाको व्यापक प्रयोग र प्रचार गरेको पाईन्छ।

ध्यान साधना मार्फत मानव चेतनालाई कसरी यसको उच्चतम स्तर सम्म उठाउन सकिन्छ भनेर आजको योगिक विज्ञान अथवा यसमा सम्बद्ध विभिन्न योगी मिस्टिक् तथा प्रबुद्ध मानिसहरु संसारभरिनै आआफ्नो तरिकाले लागि परेका छन्। यसका लागि विभिन्न मुलुकका विभिन्न शहरहरूमा थुप्रै इन्स्टिटुशन, फाउन्डेसन तथा साधना केन्द्रहरूको स्थापना हुनुका साथै अन्य थुप्रै पूर्वाधार निर्माणका कार्यहरु पनि धमाधम हुँदै आएका छन्।

मानव चेतनाको सुदृढीकरण तथा उच्तम बिकासका लागि ध्यान र साधना अभ्यासलाई एउटा गैर धार्मिक तथा वैज्ञानिक उपकरणको रुपमा प्रगोग गर्न सकिन्छ भनेर आज संसार भरिनै बिभिन्न संस्थाहरू अत्यन्तै सक्रिय भएर यसमा लागि परेका छन्। यसै क्रममा केही निकृष्ट व्यक्तिहरु भने आफुलाई स्वघोषित रुपमा विभिन्न उपमा दिएर योजनाबद्ध रुपमा यस्ता कार्यलाई धन्दाको रुपमा प्रयोग गर्दै अकुत सम्पत्ति शक्ति आर्जन गर्नेगरेका घट्नाहरु पनि हामीले सुन्दैनै आएका छौँ। खैर, भ्रष्ट आचरण भएका मान्छेहरुको कमी कहाँ छ’र। यस्ता मान्छेहरुले ढिलोचाँडो आफ्नो कुक्रित्यको फल त भोग्नेनै छन्। तर पनि यस्ता ढोंगीहरुको पहिचान गर्ने कुरामा भने हामी अत्यन्तै सजक र होसियार हुन आवश्यक छ।

साधारणतया ध्यान साधना भन्नाले मनलाई एकाग्र राखेर कुनै सिद्ध वा सफलता प्राप्तिका लागि गरिने काम वा प्रयत्न भन्ने हाम्रो सामान्य बुझाई रहेको छ। हिजोआज यसका माध्यमबाट भावनात्मक स्वास्थ्यको शुद्धिकरण संग संगै शारीरिक स्वास्थ्य स्थितिलाई पनि राम्रो राख्ने लगायतका अन्य थुप्रै प्रत्यक्ष लाभहरु प्राप्त गर्न सकिने भएकाले यसका बारेमा संसारभरिनै विभिन्न वैज्ञानिक प्रगोग र अनुसंधानहरु भैरहेका समाचारहरु छन्।

यहाँ भने म थोरै फरक प्रकारको ध्यानका बिषयमा चर्चा गर्न खोज्दै छु। यसो हामी सम्झना गरौँ, बिहान उठे देखी दिनको अन्त्य सम्ममा हामी जति पनि कार्यहरु गर्छौँ या हामी बाट जति पनि कार्यहरु हुन्छन् ति कार्यहरु कति कन्सियसली अथवा कनेक्टेड् (ध्यानकेन्द्रित) भएर गर्ने गरेका छौँ ?

जस्तो, बिहान निन्द्रा बाट बिम्झिएर बेड बाट तल पाउ राख्दै गर्दा पहिला कुन पाउ तल राख्नु भएको थियो के तपाईंलाई सम्झना हुन्छ ? त्यस पछिका नित्य कर्महरु गर्दै गर्दा तपाईंको मन ति गर्दै गरेका कार्यहरु संग कत्तिको कनेक्टेड् भएको हुन्छ ? नुहाउदाका बखत हाम्रो ज्यानले पानीको तातो या चिसो पनको त महसुस गर्दै गरेको हुन्छ तर महत्वपूर्ण कुरा त्यो पानीको शरीर संगको स्पर्स संग हाम्रो मन कत्तिको कनेक्टेड् भएको हुन्छ भन्ने हो। नास्ता गर्दै गर्दा नास्ताको स्वाद त हाम्रो जिब्रोले लिराखेको हुन्छ तर हाम्रो मन त्यो नास्ता र त्यसको स्वाद संग कत्तिको कनेक्टेड् भएको हुन्छ ? बिहान अफिस या अन्य कामका लागि घर बाट निस्कदै गर्दा घरको मुल ढोका बाट बाहिर निस्कने क्रमको पहिलो कदमको तपाईंलाई स्मरण हुन्छ अर्थात तपाईंले कुन पाउ पहिला बाहिर निकाल्नु भएको थियो भन्नेकुराको तपाईंलाई याद रहन्छ ?

यसै गरेर, त्यस पछिका अनगिन्ती क्रियाकलापहरु सदाझै हामी गर्नत गरिरहेको हुन्छौँ तर अधिकांश त्यस्ता क्रियाकलापहरु स्वचालितरुपमै हुने गरेका हुन्छन्। अर्थात, अधिकांश समय हाम्रो ध्यान ति पर्टिकुलर गतिविधिमा केन्द्रित रहेको हुँदैन। मतलब अधिकांश अवस्थामा हाम्रो मन र गर्दै गरेको कार्यका बिचको कनेक्सन खुस्किएको हुन्छ।

हामीले दैनिक गर्ने कार्यहरु गर्दै गर्दाका बखत ति कार्यहरु संग हाम्रो मन कति प्रतिशत कनेक्टेड् भएको हुन्छ अर्थात हाम्रा दैनिक गतिविधीहरु हामी कति प्रतिशत कन्सियसली कनेक्टेड् भएर पफोर्म गर्छौँ होला ? साँचै गहिरिएर यसलाई हेर्नु भयो भने अधिकांस समय (शायद नब्बे प्रतिशत भन्दा माथि) हाम्रो मन हामीले गर्दै गरेको कार्य संग कनेक्टेड् भएको हुँदैन। हाम्रो एक्सन एकातिर हुँदै गर्दा हाम्रो मन भने अन्तै अरुनै केही गरिरहेको सोचिरहेको हुन्छ। यसको मतलब नब्बे प्रतिशत हाम्रा कार्यहरु अंकन्सियसली हुँदा पनि हामी कुनै निश्चित तह सम्म सफलनै छौँ (सफल छौँ को अर्थ हाम्रो दैनिक कामकाज चल्दैनै छ)। कल्पना गर्नुस् यदि हामी यिनै कार्यहरु कमसेकम पचास प्रतिशत चै आफ्नो मनलाई कर्म संगै कनेक्ट राखेर गर्न सक्ने हो भने, हाम्रो सफलता पक्कै पनि अहिलेको स्तर भन्दा निक्कै माथि पुग्ने थियो। हैन र ?

मिस्टिक् तथा योगी तपस्वी साधकहरुको मान्यता छ यदि मानिसले आफ्नो चेतन मनलाई कुनै खास अवस्थामा ब्यवस्थित गर्न सक्ने हो भने, यसले मानिसको सम्पूर्ण पद्धति (शरीर, भावना र उर्जा) लाई उसैअनुरुप ब्यवस्थित बनाइ दिन्छ। यस्तो गर्न सकेको खण्डमा मानिस कल्पवृक्ष बन्न पुग्छ मतलब उसले जे चाहन्छ त्यो प्राप्त गर्न सक्छ।

अहिले हाम्रो मातृभूमीमा कोरोनाको संक्रमण फैलने पो हो कि भन्ने भयले हामी तथा हाम्रा परिवारलाई केही हद सम्म आक्रान्त बनाएको अवस्था छ। सरकारले सकेका ब्यवस्थाहरु गर्दै गर्ला, तर अहिलेको अवस्थामा यो सम्भावित संक्रमण बाट जोगिनका लागि सकेसम्म हामी आँफैनै सतर्क र सजक रहन अत्यन्तै आवश्यक छ। अत्यन्त जरुरी पर्दा मात्र हो, अन्यथा घरमै बसौँ। आफु तथा आफ्नो परिवारलाई आफ्नै निगरानी (सेल्फक्वारेन्टाइन) मा राखौँ। परिवार भित्र आध्यात्मिक ज्ञान संग जोडीएका बिषहरुमा चर्चा गरौँ तथा यस्ता बिषयसंग सम्बन्धित पुस्तकहरु पढौँ। टिभी कार्यक्रमहरु हेरौँ ।

बिहान उठे देखिका सबै दैनिक गतिविधिहरु गर्दा सम्पूर्णरुपले हरेक गतिविधिसंग कनेक्टेड् भएर पर्फोर्म गर्ने बानि बसालौँ। बिहान बेलुका सम्भव भए सम्म केही समय योग तथा प्राणायामको अभ्यास गरौँ। यस्तो अभ्यासले हामीले गर्ने दैनिक गतिविधि र मन बिचको कनेक्टिभिटिलाई मजबुत गराउन सहयोग गर्ने छ अर्थात हामीलाई धेरै भन्दा धेरै आफ्ना गतिविधिहरु संग कनेक्टेड् भएर पर्फोर्म गर्ने शक्ति प्राप्त हुनेछ। यसको अभ्यास र प्रभावले हामी कल्पवृक्ष त बन्न नसकौला तर समग्र रुपमा यसले हाम्रो मन र मस्तिस्कलाई अझ होसियार र जागरुक राख्न अवश्य पनि सहयोग गर्ने छ।

यो लक डाउन तथा सङ्क्रमण अवधिभरी ज्यादा भन्दा ज्यादा समय आफ्नै घर भित्र रहेर आफुले आफुलाई जान्ने अवसरका रुपमा प्रयोग गर्दै जीवनमा आइपर्ने दुस्ख, सुख, भ्रम, चिन्ता, लोभ, माया, क्रोध, अभिमान, इर्श्या आदि जस्ता कुराहरु भन्दा माथि उठ्ने कोशीस गरौँ। थोरै नै भए पनि शान्ति प्राप्त गर्ने कोशीस गरौँ। यदि यो अवधि तथा कोशीसमा थोरै मात्रै सफलता प्राप्त हुनसक्यो भने पनि ठूलो उपलब्धी हुनेछ।

अन्तत यो कोरोना पनि एउटा सिमा लिएर आएको छ। त्यसैले हतोत्साहित नबनौँ, होसियार बसौँ। कोरोना प्रमाणित भएका ब्यक्तिहरु पनि केही समयको उपचार पश्चात निको भएर भटाभट घर फर्कदै गरेका समाचारहरु प्रसस्त आइनै रहेका छन्। हताहत हुनेहरुमा पनि ज्यादाजसो जो धेरै पुरानो क्रोनिक बिमारीका कारण रोग प्रतिरक्षा क्ष्यमता अत्यन्तै कमजोर भएका तथा अधिक उमेर भएका मध्येहरु बाट केही मात्र हुन्। अहिले चिनमा यो भाइरसको सङ्क्रमण पूर्णरुपमा नियन्त्रण भैसकेको अवस्था छ। यो संग सम्बन्धित खोप चीन अमेरिका लगायतका मुलुकहरुमा धमाधम परीक्षण भइरहेको अवस्थामा, यसको कहरबाट हामी लगायत यो विश्व चाँडैनै मुक्त हुनेकुरमा हामी पूर्णरुपमा आश्वस्त बसौँ।

रमेश ढकाल
भद्रपुर(७ (हाल दोहा, कतार)

[email protected]

प्रतिक्रिया