कोरोना भाईरसको रोकथाम र प्रिकसन्स बारेमा चाईनाबाट केही सिकौ

नविन बिक ,चीन ,गोन्जाउ २०७६ चैत ४ गते १४:१६ मा प्रकाशित

नबिन बिक ,गोन्जाउ, चीन ।  चीनको वुहान शहरबाट महामारीको रुपमा फैलिएको कोरोना भाईरस अहिले चीनमा शान्त छ । तर बाँकी संसारमा भने परालको आगो झै संसारभर फैलिदै छ । संसारको मै हुम भन्ने बिकाशशील र शक्तिशाली राष्ट्रहरु पनि अहिले कोरोनाको चपेटामा परेर धेरै जनधनको क्षति बेहोर्नुको साथै देशमा आपतकालिन घोषणा गरिरहेका छन । बजारमा हाहाकार मच्चिएको छ, दैनिक उपभोगका सामानहरु पाईन असहज भैरहेको छ ।

कोरोना संक्रमित देशहरु संग हवाई सम्बन्ध ठप्प पार्नुको साथै ति देशबाट आफ्नो देशमा प्रेबश गर्न प्रतिबन्ध लगाईसकेका छन । तर हाम्रो देश नेपालमा सरकारले कानमा तेल हालेर बसि रहेको छ।

धेरै ठुलो कुरा गर्नै पर्दैन, नेपालको त्रिभुवन अंतराष्ट्रीय हवाईअड्डामा कुनै पनी यात्रीको तापक्रम समेत लिईदैन । कोरोना लागेको ब्यक्तिको तापक्रम सामन्य भन्दा माथी रहन्छ यदि तापक्रम ३६.६ डिग्री सेन्टीग्रेड भन्दा माथी भयो भने त्यो ब्यक्तिलाई बिशेष निगरानी र थप परिक्षण गरिनुपर्छ । नेपाल सरकार यति सम्म निरिह छ कि एउटा २-४ हज़ार रुपियाको ईन्फ्रेड थर्मोमीटर किनेर २-४ जना खटाएर निधारमा टन्च गरेर तापक्रम नाप्ने कोशिस समेत गर्दैन ।

तर त्यै काठमाडौको हवाईअड्डामा खडा चाईना एयरलाइंसले बिमानमा छिर्नु पहिला बिमानको ढोकामै २ जना परिचारिका राखेर ईन्फ्रेड थर्मोमीटरले सबैको निधारमा तापक्रम मापन गर्दै भित्र पठाउने गर्छन । सबै सिटमा बसिसके पछि पुनः एक चोटी तापक्रम मापन गरिने रहिछ , ल्यान्डीङ गर्नु पहिला पुन एकचोटी तापक्रम जाँच गरिने र रिपोर्ट तयार पारिने रहिछ ।

कुनै कारणबस केही तापक्रम बढी देखिएको यात्रुलाई पुन केही समयको अन्तरालमा पुन जाँच गरिने रहिछ । जहाज ल्यान्डीङ गरिसकेपछि सबै यात्रु झरे पछि सबैलाई एउटा फारम भर्न लगाई चीन आउनु भन्दा पहिला कुन कुन देशको भ्रमण गरियो ? रुघा खोकी, ज्वरो, के के को औषधी खायौ ? सबै बिबरण भर्न लगाई पुन पालै पालो लाईन लगाएर पुन तापक्रम मापन गरिने रहेछ ।

यहाँ सम्मकी अध्यागमन पुग्नु भन्दा पहिलाको गेटको चाबी नै तपाईको आफ्नै तापक्रम हुदो रहिछ यदि तपाईको तापक्रम ३६.६ भन्दा माथी भएमा त्यो ढोका नखुल्ने रहिछ र तुरुन्तै स्वास्थ्य कर्मीको टोलीले सोधपुछ र पुन जाँच गरिदो रहिछ । हवाईअड्डामा सबैजना शरिर पुरै छोप्ने डिस्पोजेएवल कपडा, हातमा पन्जा,, टाउकोमा टोपी,चश्मा र प्रत्येकको टेबलमा स्यानिटाईजरको बोतल राखिएको हुदो रहिछ । त्यस पछि फेरी स्वास्थ्यकर्मीहरुले यात्रीको प्रत्यक्ष स्वास्थ्य सम्बन्धी जानकारी लिदा रैछन ।

अनी कपास बेरिएको सानो बाँसको सुईरो घुसाएर नाक र घाटी बाट क्रमश सिंगान र खकारको नमुना संकलन गरेर, पासपोर्ट बोर्डीङ पास फोटोकपी गरेर सबै डाँटा संकलन गरेर यात्रीलाई जुन जुन शहरमा जानीहुन ती सबैलाई एकीकृत गरेर सबैलाई बसमा हालेर त्यही शहरमा लागेर बिशेष क्वारेन्टाईनको ब्यबस्था मिलाईएको होटलमा लैजाईदो रहेछ ।

होटलमा छिर्नु पनि पुनः तापक्रम मापन गरिदो रहिछ, त्यसपछि परिवार र आवश्यकता अनुसार कोठा प्रदान गरिदो रहेछ ।

होटलको लिफ़्ट पुरै स्पिरिटले धोए जसरी नै छर्केर पुरा लिफ्टलाई प्लास्टिकले ढाकिएको हुदे रहिछ । प्रत्येक लिफ्टको स्वीच , बत्तीको स्वीच, वातानुकूलितको स्वीच पनि प्लास्टिकले बेरिएर राखिएको हुदो रहिछ । पुरै होटलको कार्पेटलाई प्लास्टिकको नया बोराले ढाकिएको थियो । होटलको वरीपरी प्रहरीको भ्यान तैनाथ थिए ताकी कुनै पनी संक्रमितले कुनै अभद्र ब्यबहार नगरोस भनेर । होटलको स्टाफहरु पनि पुरै आफ्नो सुरक्षाको लागी शिर देखी पाउ सम्म त्यसै गरी ढाकेर बसेका थिए ।  होटल पनि उच्च स्तरीय ( चार तारे होटल) ब्यबस्था गरिएको थियो ।  तीन छाक खाना आफु बसेको कोठाको ढोकामा ल्याएर राखिदिदा रहेछन ।

यी सबै खर्चहरु चाईनिज सरकारले नै गर्ने रहिछ, यति सम्म की बिपरित कोठाको ढोका र आफ्नो ढोका एकै चोटी नखोल्न सल्लाह र चेतावनी दिईदो रहिछ । दिशा गरि सकेपछि फ्लस गरिसकेपछि पनि क्लोरीन हालेर ३० मिनेट सम्म ढाकेर राखी पुन फ्लस गर्नु पर्दो रहेछ ।

केन्द्रीय वातानुकूलित ( सेन्टर एसी) पनि नचलाईदो रहिछ ताकी हावाबाट पनि संक्रमण नफैलियोस भनेर ।  बिदेशबाट फर्किने शत प्रतिशत चाईनिजहरुलाई खकार र सिंगानको पुर्ण रुपमा परिक्षणको कैफियत नआए सम्म २४ देखी ४८ घन्टा सम्म होटल बाहिर निस्कन नपाईदो रहेछ ।

एउटै जहाजमा आएका एउटै परिवारलाई पनि होटलको कोठामा छिरेपछि पुन भोटघाट गर्न नपाईदो रहेछ ।  भोली पल्ट प्रारम्भिक रिपोर्ट नेगेटीभ आएपछि बल्ल आफ्नो घरमा पठाईदो रहिछ तर पनि २ हप्ता सम्म आफ्नै घरमा पनि आईसोलेसनमा बस्नै पर्ने । हामी आफै क्वारेनटाईनमा परेका छौ ।  मलाई ग्रीन स्टीकर दिईएको थियो र मलाई छुट्टै जान भनिएको थियो ।

तर बसे ,सबैसंगै क्वारेनटाईनमा बस्ने र गए सबैसंगै घर जाने तर छुट्टिएर बस्न आफुलाई स्वीकार्य नहुने अडान लिए पछि मलाई पनि मेरो श्रीमती र बच्चाहरुसंगै बस्ने अनुमती दिएका थिए ।  आफ्नै परिवारको एक अर्को सदस्यलाई भेटन, देख्न र बोल्न मन लागेमा छेउमै टाँसिएको कोठाबाट पनि भिडीयो कलबाट कुरा गर्ने गरेका छौ ।

यति धेरै रोकथाम प्रिकसन्सहरु अपनाएका छन की हामी सोच्दा पनि अचम्म लागेर आउछ की कसरी यत्रो ब्यबस्थापन गरेको होला भनेर ।  तर राम्रो देश नेपालमा एउटा ईन्फ्रेड थर्मामीटर समेत प्रयोग गरेर एउटा तापक्रम मात्रै पनि मापन गर्न सक्दैन ।

सधै पशुपतिनाथले मात्रै रक्षा गर्दैनन, कुनै पनि देशबाट जो कोही पनि निर्बाधरुपमा नेपाल आउन सक्ने ब्यबस्था भएको देशले समयमै केही पुर्ब तयारी र रोकथामको उपायहरु नलगाएमा इटाली र ईरानको जस्तो हालत हुने र ठुलो जनधनको क्षति ब्यहोर्नुपर्नेमा कुनै दुईमत छैन।

प्रतिक्रिया