मैले हेरेको हिन्दी सिनेमा”थप्पड”अनि सोच्न बाध्य बनाएको महिलाको अवस्था र महिला दिवस

शशी के.सी २०७६ फागुन २३ गते २३:४५ मा प्रकाशित

सिनेमा थरीथरीका हुन्छन, कुनैमा रमाइलो धेरै, कुनैमा लडाईॅं- झगडा, कुनै सिनेमामा समाजको यथार्थ चित्रण, कुनै सिनेमा हेरूनजेल बेलाबेलामा रूवाई रहने र कुनै सिनेमा हेरिसकेपछि सोच्न बाध्य नै बनाउने, हो त है, यस्तै नै त भईरहेछ वा यस्तै त हुन्छ नि प्राय: हाम्रो समाजमा जस्तो लाग्ने।

हिजो धेरैपछि एक हिन्दी सिनेमा “ थप्पड” हेर्न जुर्यो हाम्रो नजिकको सिनेमा हलमा, यो अमेरिकामा संसारका बिभिन्न देशबाट आएकाहरू बसोबास गर्ने भएकोले गर्दा, बेलाबेलामा यहाॅंको सिनेमा हलहरूमा केही”शोहरू”आ-आफ्नो देशतिरका राम्रा राम्रा सिनेमा लेराएर चलाउॅंछन्। नेपाली नाम चलेका सिनेमाहरूपनि बेलाबेलामा हेरिन्छ गएर । सिनेमा त हिन्दी भाषामा थियो, सबै भाषा नबुझेपनि धेरै वा सिनेमाले भन्न खोजेको आशय त पुरै बुझियो नै साथै भारत र नेपाली समाज उस्तै उस्तै नै भएकोले धेरै मिल्ने ।

सिनेमा एक साधारण गृहणी, उसको घर/ माइती, उसकोमा काम गर्न आउने महिला जसलाई श्रीमानले दिनरात कुटीरहने, उसको छिमेकी महिला र उसको महिला वकिलको वरीपरी घुमेको छ। हाम्रै नेपाली समाज जस्तै सुखदु:ख किसिमले दिनचरिया चल्दै गरिरहॅंदा, एकदिन घरमा भएको पार्टीमा श्रीमतीलाई रिसको झोकमा, सबैको अगाडी एक”थप्पड” हान्छ उसको श्रीमानले, त्यसपछि सिनेमाको कथा नै मोडिन्छ। घरपरिवारले, समाजमा यस्तो भई रहन्छ, ठुलोकुरा हैन भन्ने देखि, महिलाहरूले सबै सहनुपर्छ भन्नेसम्म भन्छन्, त्यस्तै सिनेमा हेर्ने दर्शकहरू कतिलाई त यस्तो सबै देखिरहेको वा समाजमा भई रहने श्रीमानले कुटपिट गरिरहने सामान्य पनि लाग्न सक्छ। तर साॅंच्चै सोच्दा खोई त महिलाको अधिकार, आत्मसम्मान, के महिला कुटीनै पर्ने त माया पाउनपनि, खोई उसको त्यागको महत्व, के महिलाले आफ्ना इच्छा सबै मार्नै पर्ने त सुखी/ खुशी जिवन जिउन, के उसको आफ्नै छुट्टै अस्तित्व वा पहिचान नै छैन त। यस्तै यस्तै अनउत्तरित प्रश्नहरू धेरै उब्जन्छ सिनेमा हेरेपछि ।

अब कुरा गरौं महिला दिवसको। मार्च ८ संसारभर”महिला दिवस” भनेर बिभिन्न कार्यक्रम गरेर मनाईन्छ। एकदिन कति अफिसमा त “महिलालाईमात्र बिदा” दिने पनि गरिन्छ । ठिकै छ त्यो पनि। तर यति हो त्यो सिनेमामा जस्तै महिलालाई दया गरेर वा अधिकार नै हो जस्तो गरेर वा कसैको बुहारी, छोरी, श्रीमती आदीको दर्जामा राखेरमात्र सम्मान / तिरस्कार नगरियोस्। उसलाई, चाहे जेसुकै हुन, जागिर खाने वा नखाने “उ” नै भनेर सम्मान गरौं। उसको पनि आफ्नै छुट्टै पहिचान छ, महिला दयाकामात्र पात्र हैनन्।

सबैलाई महिला दिवसको शुभकामना

 

शशी के.सी

लेखिका

प्रतिक्रिया