बिहीबार, असोज ७ २०७८
काठमाडौं १६:२१
वासिङटन डिसी 06:36

गणेश पंडित एक क्रान्तिकारी सतिसाल ब्यक्तित्व

प्रेम कैदी २०७६ फागुन २३ गते ११:३७ मा प्रकाशित

प्रेम कैदी,

समकालीन नेपाली राजनीतिमा राष्ट्रियस्तरका अति इमान्दार, सिद्धान्तनिष्ट, राष्ट्र भक्तिमा ज्यादै समर्पित र संघर्षशील शिखर पुरुषहरू १ सय नेपाली नामहरू संकलन गर्दा त्यसमा अग्रस्थानमा पर्ने व्यक्तित्व हुनु हुन्छ वाग्मतीका गणेश पंडित ।

गणेशजी जस्तै मैले २०२२ पछि चिनेको उहाँका भाइ तथा मेरा प्रिय मित्र कुमार पंडितबाट प्राप्त जानकारी अनुसार नुवाकोटको शिखरबेसीमा २००३ साल साउन ३२ गते जन्मेका गणेशजीले २०२१ सालमा शान्ति विद्या गृह मा.वि.बाट एसएलसी उतीर्ण गर्नु भएको थियो । उहाँ अमृत विज्ञान महाविद्यालयमा अध्ययनरत हुँदै साहित्य र राजनीतिमा आकर्षित भैसकेको देखिन्छ । अन्तरध्वनि साहित्यिक पत्रिकाको सम्पर्कबाट उहाँको कला साहित्यप्रतिको रुचि पाइन्छ भने पश्चिम १ नम्बर (नुवाकोट, रसुवा र धादिङ) छात्र समितिबाट उहाँको राजनीतिको शुरुवात भएको देखिन्छ । महाविद्यालयमा पनि उहाँ विद्यार्थी यूनियनको पदाधिकारी बन्न सफल भएकोले उहाँको राजनैतिक परिपक्वता विकसित भैसकेको देखिन्छ । त्यसैले २०२१ पछिका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका गतिविधिमा नेतृत्वदायी भूमिका खेल्दै त्रिचन्द्र महाविद्यालयका विज्ञानमा स्नातकको विद्यार्थी हुँदा त उहाँ देशव्यापी नेतृत्वदायी भूमिकामा आइसक्नु भएको पाइन्छ ।

विद्यार्थी आनदोलनका तत्काल राष्ट्रिय स्तरका अगुवा मध्ये एक गणेशजीले २०२१ देखि यताको एक दशक वामपंथी विद्यार्थी नेताको रुपमा काठमाडौँका अनेकौ आन्दोलनमा अग्रणी भूमिका खेल्दै नेपाल कम्यूनिष्ट पार्टी (चौ.म) निकट सक्रिय भएको समेत देखिन्छ । विद्यार्थी, कलाकर्मी, मजदूर र गाउँका किसानहरू बीच प्रचारात्मक आन्दोलनमा समेत उहाँको अग्रणी भूमिका रहेको थियो । उहाँ योग्य विज्ञानको शिक्षक हुन सक्ने क्षमता भएकोले आफ्नो जिल्लामा शिक्षण पेशामा प्रवेश गर्नु भएको देखिन्छ र २०३२ सालमा अमर ज्योति मा.वि..खरानीटारमा प्रधान अध्यापक जस्तो सम्मानजनक स्थान लिन सफल हुनु भयो ।

तत्काल पन्चायत बिरोधी शिक्षक संस्था नेराशिसंको संस्थापक उपाध्यक्ष हुन पुग्नु भएको र बाग्मती क्षेत्रको शिक्षक आन्दोलनको एक छत्र नेता हुन पुगेको देखिन्छ । १०४ दिनको राष्ट्रव्यापी हड्तालले तत्काल पञ्चायती तानाशाही व्यवस्थालाई नंग्याउन सफल नेराशिसंको नेतृत्वले १४ बुँदे सहमति गर्दै शैक्षिक क्षेत्रबाट संगठित हुने जनअधिकारलाई स्थापित गरेर जनतन्त्रका पक्षमा एक कोशे ढुंगा स्थापित गर्न सफल भएको थियो । २०३८ चैत १२ गतेको यस उपलब्धिमा गणेशजीको सर्वोच्च भूमिका थियो, त्यसैले तत्कालीन शासकहरू उहाँलाई समाप्त पार्न अनेक उपाय खोजिरहेकोमा २०४२ सालको सत्याग्रह बीच जनवादी मोर्चाका नामबाट भएका बम काण्डसँग उहाँलाई जोडेर गिरफ्तार गरी निर्मम यातनाका साथ उहाँको हत्याको प्रयत्न भएको तर जन दवावका कारण उहाँ बच्नु भएको थियो । नचाहँदा नचाहँदै पनि २०४२ को निर्वाचनमा जनपक्षीय उम्मेदुवारका रुपमा रापसको निर्वाचन लड्ने घोषणा गरेपछि बल्लबल्ल ११ महिनापछि जेलबाट रिहा गरिएको थियो । देशमा चलेका अनेकौ जनआन्दोलनमा अग्रणी भूमिका खेल्दै ४५÷४६ को आन्दोलनमा उहाँ अग्रभाग मै हुनु हुन्थ्यो र हामी निरन्तर सम्पर्क मै थियौँ । म पत्रकारको रुपमा उहाँसँग सक्रिय सम्बन्धमा थिए । देशमा तत्काल भएको राजनैतिक परिवर्तनपछि २०४८ मा उहाँ जिल्लामा लोकप्रिय उम्मेद्वार हुनु हुन्थ्यो तर उहाँ २०५१ को मध्यावधी निर्वाचनमा मात्र सांसद हुन सफल हुनु भयो ।

पार्टीमा उहाँले दक्षिणपंथी भारत परस्त धार विरुद्ध सधै संघर्ष गर्नु भयो । उहाँ पार्टीका तर्पmबाट सधै उग्रधारमा रहेको भनी सबै अवशरबाट वञ्चित हुने नेताहरूमा पर्नु हुन्थ्यो तर अमेरिकाको अन्ताराष्ट्रिय आतिथ्य ( आइभीपी) कार्यक्रममा तत्कालीन सभामुख दमननाथ ढुंगानाको कोटा अन्तर्गत घुम्न गएपछि उहाँको दलको नेतृत्वले देशी विदेशी षड्यन्त्रकारीको उक्साहटमा लागेको, झण्डै अमेरिकी साम्राज्यवाद कै दलाल भन्दै निलम्बन गरी सास्ती दिने काम ग¥यो ।

यसै बीच उहाँ संलग्न दलले टनकपुरका साथै महाकाली नदी बेच्ने एकीकृत महाकाली सन्धि जस्तो राष्ट्रघाती काम गरेपछि चन्द्र प्रकाश मैनाली, वामदेव गौतम लगायत थुपै्र विशिष्ट नेताहरूका साथ उहाँले पनि पार्टी छोड्दै नेकपा (माले) गठन गर्नु भयो । माले पार्टीपछि विभाजन भएर वामदेव गौतम एमाले फर्किनु भयो र चन्द्र प्रकाश मैनालीले अलग नेकपा(माले) बनाएपछि गणेश पण्डित कतै नलागेर देशभक्ति पूर्ण विचार प्रवाह गर्दै स्वतन्त्र अभियन्ताको रुपमा क्रियाशील हुनु भयो । जे जसरी बसे पनि जे जस्ता आरोप लगाइए पनि सधै देशभक्तिपूर्ण अडान अनि सिद्धान्तप्रतिको निष्ठा गणेश पण्डितका निजी विशेषता रहेकोमा कसैको असहमति छैन ।

गणेश पण्डित पारिवारिक सम्पर्क, कर्मप्रतिको निष्ठा र अत्यन्त सामाजिक व्यवहारका कारण साथी भाइहरू खासगरी नेपाली राजनीतिमा देशभक्तिपूर्ण निष्ठाको राजनीति गर्ने धु्रवमा अति नै प्रिय व्यक्तित्व हुनु हुन्थ्यो । पछिल्लो कालमा परिस्थितिबस दक्षिणपंथी धारका समाजवादी दल निकट पुग्नु भएपछि त्यस समूहप्रति उहाँ सधै तीब्र आलोचक नै रहनु भयो । देशप्रति अथाह भक्ति, जनताप्रति प्रेमपूर्ण लगाव र प्रतिक्रियावादी वैदेशिक भरौटे तत्वहरू सँग सधै वैरभाव राख्ने गणेशजी वास्तवमा हाम्रो देशको स्वाधीनता र सार्वभौमसत्ताको पक्षमा सधै अबिचलित रुपमा खडा भैरहने सतीसाल जस्तै कहिल्यै नझुक्नै व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको राष्ट्रभक्ति, अति सहज र जनमुखि व्यवहार अनि सैद्घान्तिक निष्ठा, त्यसका साथै आत्म बलिदानले ओतप्रोत संघर्षशील चरित्र वास्तवमा नेपाल राष्ट्रले नै गौरव गर्नु पर्ने पक्ष हो । अध्यक्ष माओले जनवादी क्रान्तिका सांस्कृतिक सेनानायक महान साहित्यकार ल्यू सुनका बारेमा भन्नु भए जस्तै गणेशजी दोग्लापन र चाटुकार प्रवृतिबाट पूर्ण मुक्त हुनु हुन्थ्यो । उहाँका त्याग बलिदान सम्झौताहीन संघर्षशील व्यक्तित्व लगायत यस्ता अनेकौ गुणले बाग्मती मात्र होइन् देशभर मै उहाँले प्रेरणा प्रदान गरेका हजारौँ लाखौ युवाहरू परिवर्तन, जनतन्त्र र साम्यवाद प्रति समर्पित भावले लाग्न पुगे तर त्यस्ता प्रेरणादायी संघर्षशील व्यक्तित्व पार्टीमा घुसेका धमिरा प्रवृतिका अगाडि पराजीत हुन पुग्यो र पार्टी नेतृत्व विध्वंशकारी प्रतिक्रियावादी साम्राज्यवादीहरूका भरौटेहरूले कब्जा गर्न पुगे, आज नाम मात्रका कम्युनिष्ट र त्यस्तै उल्टो बाटोमा बर्बाद भएको साम्यवादी दल देशमा शासन गरि रहेछ तर यस पार्टीमा नेल्सन मण्डेला भनिएको मोहन चन्द्र अधिकारहरू छैनन्, यस दलमा देशभक्त जनवादी नेता मदन भण्डारी जीवराज आश्रित षडयन्त्र पूर्ण हत्या भैसकेको छ र कतिपय सिद्धान्तनिष्ठ साम्यवादी

नेताहरू आज सडकमा छन् । साम्यवादका नाममा अत्यन्त भ्रष्ट विदेशीका नग्न भरौटे नेताहरू आज सत्ताको शिखरमा छन् । साम्यवादी सिद्धान्तको अत्यन्तै लज्जास्पद अवस्था देशमा रहेको यथार्थ बीच इमान्दार, सिद्धान्त निष्ठ र बलिदानले ओतप्रोत गणेश पण्डित जस्ता अगुवाहरू देशको दुर्दशामा आशु चुहाउँदै दिवंगत बनेका छन् । मलाई विश्वास छ युवाहरूले भविष्यमा दूध र हिलोबीच भेद गर्न सफल हुनेछन् र देशलाई गणेश पण्डित जस्ता सच्चा सिद्धान्त निष्ठ र जनताप्रति समर्पित योद्धाहरूको मार्गलाई अंगालेर राष्ट्रलाई सही दिशा प्रदान गर्ने छन् ।

राधाक्रष्णमन्दिर रृानीबन नागार्जुन काठमाडौ
२०७६ फागुन २३

प्रतिक्रिया