आइतबार, चैत १६ २०७६
काठमाडौं ०५:३४
वासिङटन डिसी 19:49

एनआरएन अमेरिकाको प्रेस विज्ञप्ती – युवा सम्मेलन

इनेप्लिज २०७६ फागुन १४ गते ११:१६ मा प्रकाशित

प्रेस विज्ञप्ती
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्, अमेरिका अन्तर्गतको युवा समितिको आयोजनामा अमेरिकामा पहिलो पटक ऐतिहासिक युवा सम्मेलन आइतबार (फेब्रुअरी २३) मा सम्पन्न भएको कुरा जानकारी गराइन्छ । अमेरिकाको टेक्सस राज्यस्थित टेक्सस युनिभर्सिटीको लोन स्टार हलमा सम्पन्न सम्मेलनमा अमेरिकाको विभिन्न राज्यमा बसोबास गर्ने नेपाली युवाहरू लगायत विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली युवा विद्यार्थीहरू सँगै विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । यसै गरी सम्मेलनमामा अमेरिकाका लागि नेपाली महामहिम राजदूत डा. अर्जुन कार्की, एनआरएनए अन्तर्राष्ट्रिय समितिका सचिव गौरी राज जोशी, एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाह, पूर्व अध्यक्ष केशव पौड्याल, लगायत एनआरएन अन्तर्राष्ट्रिय र राष्ट्रिय समितिका पदाधिकारीहरू, टेक्सासमा विद्यमान नेपाली संस्थाका पदाधिकारीहरू एवं अमेरिकामा बसोबास गर्ने विभिन्न युवा उद्यमीहरुकोसमेत सहभागिता रहेको थियो ।

सम्मेलनको पहिलो सत्रमा ‘नेपाल सरकार, नेपाली युवा विद्यार्थी र एनआरएन’ विषयको अन्तरक्रिया (प्यानल डिसकसन) सम्पन्न भएको थियो । अन्तर्क्रियाका वक्ताहरू महामयिम राजदूत डा. अर्जुन कार्की, एनआरएनए अन्तर्राष्ट्रिय समितिका सचिव गौरीराज जोशी, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाह, एनआरएनए अमेरिकाका प्रमुख संरक्षक एवं पूर्व अध्यक्ष डा. केशव पौडेल र विद्यार्थी प्रतिनिधि मिलन कटुवालले सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । पहिलो सत्रलाई पत्रकार सूर्य थापाले सहजीकरण गर्नुभएको थियो । सो अन्तरक्रिया युवाहरूलाई एनआरएनमा सक्रिय बनाउन चाल्नुपर्ने कदम, युवाहरूको विद्यमान समस्या र समाधानमा नेपाली राजदूतावास र एनआरएनको भूमिकालगायतका विषयमा व्यापक छलफल भएको थियो । छलफलका क्रममा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूले वासिङ्टन डिसीस्थित नेपाली दूतावासबाट प्रदान गरिने सेवा र सुविधालाई थप चुस्त र सहज बनाउन राजदूत डा. कार्कीसँग माग गरेका थिए । सोही मागलाई सम्बोधन गर्दै राजदूत डा. कार्कीले निकट भविष्यमै नेपाली विद्यार्थीहरूलाई मात्र सम्बोधन गर्न इमेल ठेगानाको व्यवस्था गरिने जानकारी दिनुभयो । र, उक्त इमेल ठेगाना हाल सञ्चालनमा आई सकेको समेत जानकारी गराउन चाहान्छौं ।

यसै गरी सम्मेलनको दोस्रो सत्रमा यूचिटा युनिभर्सिटीका विद्यार्थीहरूले ‘दि–वेश पोखरेल, जोर्नी टु अमेरिकन आइडल’ विषयक प्रस्तुति राख्दै अमेरिकन आइडलमा छानिएका नेपाली विदेश पोखरेललाई सबैले सहयोग गरिदिन आग्रह गर्नुभयो भने अनुप खनाल र त्रिभुवन पाण्डेले हालसम्म एनआरएनए अमेरिका अन्तर्गतको विद्यार्थी समितिले विभिन्न विश्व विद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई एनआरएनएको छातामुनि सङ्गठित गर्न १२ वटा विश्वविद्यालयहरूमा ‘स्टुडेण्ड एम्बासडर’ मनोनयन गरिएको र थप विश्व विद्यालयहरूमा पनि मनोनयनको प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो । यसै गरी सोही सत्रमा एनआरएन अमेरिकाको स्वास्थ्य समितिले तयार पारेको ‘आत्महत्यालाई रोकथाम गर्न सकिन्छ’ नामको चेतनामूलक भिडियो प्रस्तुत गरिएको थियो । साथै, एनआरएन अमेरिकाको युवा संयोजक विनोद रुवालीले नेपाली विद्यार्थीहरू लक्षित छात्रवृत्ति बारे जानकारी गराउनुभएको थियो । साथै एनआरएनए अमेरिकाका अध्यक्ष शुनिल साहले प्रेसिडेन्ट योथ अवार्ड $१००००० (एक लाख डलर) बराबरको व्यवस्थापन लागि आवश्यक पहल गर्ने जानकारीसमेत दिनुभयो । छात्रवृत्तिको अभियानलाई थप सहयोग पुरयाउन एनआरएनए अन्तर्राष्ट्रिय समितिका सचिव गौरी जोशीले $२००० (दुई हजार) डलरको छात्रवृत्ति प्रायोजन गर्ने घोषणा गर्नुभयो भने एनआरएन अमेरिकाका अध्यक्ष सुनिल शाहले ‘प्रेसिडेन्ट योथ एन्ड स्टुडेन्ट अवार्ड फन्ड’ स्थापनाका लागि $२००० (दुई हजार) डलरको सिड मनी प्रदान गर्ने घोषणा गर्नुभयो । साथै, युवा संयोजक रुवालीले प्रतिभाशाली र मेहनती नेपाली विद्यार्थीहरूको अध्ययनलाई छात्रवृत्ति प्रदान गरी थप सहयोग पुर्‍याउनुहुने महानुभावहरूलाई उहाँलाई सम्पर्क गर्न पनि अनुरोध गर्नुभयो । यसै गरी सोही सत्रमा ‘युवा उद्यम’ विषयक विकास रुवालीको जानकारीमूलक प्रस्तुति रहेको थियो भने एनआरएन टेक्सस च्याप्टरका प्रभात दीक्षितले आगामी अमेरिकी जनगणणा २०२० का बारेमा जानकारी दिनुभएको थियो । यसै गरी नेपाली विद्यार्थी र्यापर प्रोस्ट्यानले नेपाल भ्रमणबर्ष २०२० लक्षित र्याप प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनको तेस्रो तथा अन्तिम ‘प्रेरणादायी’ सत्र (मोटिभेसनल सेसन) को वक्ताहरू डा. तारा सिग्देल र सिजर कोइराला (पिएचडी)ले सहभागी युवाहरूलाई आफूहरू विद्यार्थीका रूपमा अमेरिका आउँदा र सङ्घर्ष गर्दाको प्रेरणादायी अनुभवहरू साट्नुभयो भने संविधानसभा सदस्य एवम युवा नेता धनराज गुरुङले अमेरिकामा उच्च शिक्षा हासिल गरेको युवा नेपालीहरूले स्वदेश फर्किएर आफ्नो ज्ञान, सीप र दक्षताको प्रयोग गर्न अभिप्रेरित गर्दै नेपालमा एनआरएन मैत्री ऐन, कानुन र नियमहरू बनाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त सत्रलाई मिलन कटुवालले सहजीकरण गर्नुभएको थियो ।

सम्मेलनको उत्तरार्द्धमा एनआरएनए अमेरिकाका महासचिव पशुपति पाण्डेले संस्थाको विविध गतिविधिहरूको बारेमा जानकारी दिनुभएको थियो भने सम्मेलनका संयोजक सन्देश उप्रेतीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । सम्मेलनको उद्घोषण शारदा श्रेष्ठले गर्नुभएको थियो भने एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

अन्तमा, प्रथम ऐतिहासिक युवा सम्मेलनलाई सहयोग पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूलाई गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

PDF मा हेर्न यहां क्लिक गर्नुहोसः https://adobe.ly/2w5HmAu

जय एनआरएन ।
विनोद रुवाली
युवा संयोजक
गैर आवासीय नेपाली सङ्घ
राष्ट्रिय समन्वय परिषद्, अमेरिका

प्रतिक्रिया