मृत्‍यु जितेर पनि हार्दै गएका ओली, गोकुल काण्ड, केक काण्ड, धुर्त प्रचण्ड र बेहाल देश !

रामप्रसाद खनाल २०७६ फागुन १४ गते ०:११ मा प्रकाशित

रामप्रसाद खनाल 

यो साँचो होकी हजारौँ अपराधहरूको सिँढी चढ्दै एमालेमा मिसिन, चोखिन र हेग जानबाट जोगिन आएका प्रचण्ड नामका एक जना धूर्त खेलाडीले केपी ओली नामको अर्को धूर्त खेलाडीलाई मिले जस्तो गर्दै पछाडिबाट दिनहुँ छुरा धस्दै बदनाम गराउन कुनै कसर बाँकी राखेका छैनन् ।

राजनीति बुझ्नेहरूले मात्र थाहा पाउने कुरा के हो भने यी घिउ बेचुवा र तरवार बेचुवाहरूको पार्टी एकता राम्रो नियत र देशका लागि भएकै थिएन । यी दुवै धूर्तहरूले हिजोका दिनमा एकले अर्कालाई सबैभन्दा ठुला शत्रु र देशका खलनायक बनाउने प्रयास गरे तर नाटकीय ढङ्गले माओवादी एमाले एकीकरण गरेर सत्ता हत्याए पनि एकले अर्को लाई हत्याउने खेल अहिले पनि जारी छ ।

कुन दिन केपी ओलीलाई खुस्क्याउँला र म प्रधानमन्त्री अनि पार्टी अध्यक्ष बनेर अर्को साम्राज्य चलाउँला भनेर एकातिर प्रचण्ड मौका कुर्दै र ओलीलाई भित्र भित्रैबाट बदनाम गराउन तल्लीन छन् भने ओली पनि के कम त्यसै छोडौँला तलाईं भन्दैछन जुन कुरा यिनीहरूको दिनदिनैका अभिव्यक्ति र व्यवहारले छर्लङ्ग हुन्छ ।

दुइटै किड्नी फेल भएका, अर्काको किड्नी, औषधी र सत्ताको बलमा बाँचिरहेका केपी ओली स्वयमले म अब कतिदिन नै बाँच्छु र भन्दै सुरुमा  जिम्मेवारी लिएको देखेका प्रचण्ड कुन दिन केपी मर्लान र मेरो बाटो खुल्ला भनेर धूप हालिरहेका छन् तर पनि राजनीतिक ज्याद्रा ओलीको मनोबल भने अचम्मको छ । उनी म मर्नु पर्छ एक दिन भन्ने भुलिसकेका छन् । यिनलाई मृत्यु जित्ने मान्छे भन्दा फरक पर्दैन । नेपालमा यस्तो ज्याद्रो र मर्दिन भन्ने मनोबल भएको मान्छे उनी बाहेक अर्को मैले कोही देखेको छैन ।
गएको चुनावमा जनताले यिनलाई पत्याएर भोट दिए त्यो पूर्ण सत्य हो । जनताले यिनले केही गर्छन् कि भन्ने आशा राखे त्यो पनि सत्य हो तर    पहिला दुई तिहाइ र अहिले स्पष्ट बहुमतको सरकारको नेतृत्व गरिरहेका ओलीको दुई वर्षको कार्यकाल हेर्दा यिनी हावा भरिएका बेलुन मात्र रहेछन् भन्ने कुरा बुझ्न कुनै गाह्रो छैन ।

जनतालाई उखान टुक्का हालेर हँसाउन माहिर यिनले धुर्मुस सुन्तलीको मात्र होइन धेरै हाँस्य कलाकारको रोजीरोटी छिनेका छन् । उनी राजनीतिक नेताबाट हाँस्य कलाकारमा परिणत भएको कुरा उनका हरेक भाषणमा हेर्न र सुन्न सकिन्छ । प्रचण्डसँग राजनीतिक मितेरी लगाएका ओली पार्टी एकता पछि सम्झिएका होलान् म बलियो भएँ भनेर तर उनी दिन प्रतिदिन लोकप्रिय बाट अलोकप्रिय बन्दै गएको कुरा हनुमानहरू बाहेक अरू कसैबाट छिपेको छैन ।

सर्वहारा कम्युनिस्ट नेता हुँ भन्ने, झापामा सामान्य मान्छेहरूलाई सामन्तहरू भन्दै टाउको गिँडेर, जेलनेल खाएर आएका ओली अहिले राजा होइन महाराजा सम्झिन थालेका छन् आफूलाई । यिनको बोली, भाषा, व्यवहार हेर्नुस् यिनी राजा होइन महाराजा बनेका छन् । डेढ करोड भन्दा बढी  खर्चेर जन्मोत्सव मनाउने हैसियत ओली बाहेक आज सम्म नेपालमा अरू कसैले बनाएका छैनन् । राजतन्त्रमा मनाइने राजाहरूको जन्मोत्सवलाई ओली महाराजले ओझेल पारीदिएका छन् । चार हेलिकोप्टर सहित, अर्को हेलिकोप्टर चार्टर गरेर ठुलो केक तेह्रथुम पुर्‍याउने ओलीले नेपालमा अर्को रेकर्ड तोडेका छन् ।

गाउँको घर अगाडि भिरालो जमिन डोजर लाएर सम्याएर, प्रहरी, सेना र जनता लगाएर, सरकारी बिदा दिएर, हजारौँ मान्छे जम्मा पारेर मनाइएको यो जन्मदिन ओलीको लागि अर्को खुसीको दिन बने पनि जनताको लागि भने लज्जाको दिन बन्यो । केही अरिङ्गाल र छौँडा बाहेक  ओलीकै कार्यकर्ता, नेता र जनताले लज्जा महसुस मात्र होइन धज्जी उडाएको दिन बन्यो । यो सबै नाटकहरू हेर्दा लाग्यो – हामी नेपाली जनता कति अभागी जसले आफ्नो प्रधानमन्त्री र सत्तारुढ दलको अध्यक्ष लाई अन्तर्मन देखी जन्मदिनको शुभकामना दिन पनि पाएनौँ बरु उल्टो आलोचना गर्नुपर्‍यो ।

केही निर्लज्ज अनुहारहरू, अरिङ्गाल र छौडाहरुले विदेशमा जन्मदिन मनाउँदाका केकहरूका फोटोहरू पोस्ट्याउँदै नेपाल देशको मानचित्र भएको केक काट्नु स्वाभाविक माने । आलोचना गर्नेहरूलाई गाली देखी धम्की सम्म बर्साउन भ्याए । उनीहरूले यो भुलेकी नेपाल भन्ने हाम्रो देश अलग देश हो, यहाँ आफ्नै धर्म, संस्कार र मान्यताहरू छन् । यहाँ अङ्ग्रेजी भाषामा गीत गाउँदै जन्मदिन मनाउने, देशकै तस्बिर राखेर केक काट्ने चलन छैन बरु अष्ट चिरञ्जीवी पूजा र अन्य पूजा गरी जन्मदिन सम्झिने गरिन्छ । अमेरिकामा अमेरिकाकै नक्सा र  झन्डा राखेर कट्टु, ब्रा देखी चप्पल, ट्वाइलेट पेपर सम्म बनाउन लगाउन पाइन्छ । यहाँ केक जस्तो पनि हुन सक्छ तर के अमेरिकामा यस्तो गर्न पाइन्छ भनेर हामीले नेपालमा यस्तै गर्न सक्छौँ त ?? के हाम्रा मूल्य मान्यताको हामीले ख्याल गर्नु पर्दैन ?? हुन त भ्रष्ट, फोहोरी राजनीतिको आहलमा चुर्लुम्म डुबेका नेता र दलहरूका चाटुकार, दाश बनेर देशै खान तयारहरूलाई देश अङ्कित केक कुनसा ठुलो कुरा भो र !

निर्लज्ज अनुहारहरू, अरिङ्गाल र छौडाहरुले यो पनि बिर्से कि सर्वहारा कम्युनिस्ट नेता हुँ भन्नेले यसरी उधुम गरेर जन्मदिन मनाउनु के उचित थियो त ?? यी हिजडाहरु ओलीको चाकडी गर्न, आफ्नो स्वार्थ सिद्ध गर्न र यती समूहलाई उँभो लाउन क्रियाशील छन् उनीहरूलाई देश र जनताको के कुरो भो र !

यता यस्तो छ भने उता निर्लज्ज जन्मोत्सव मनाउनु दुई दिन अघि ओलीकै घरमा बसेका, ओलीका सबैभन्दा निकट, ओली धर्मपुत्र गोकुल बास्कोटाको करोडौँको घुस डिल सार्वजनिक भए सँगै गोकुलको होइन ओलीको राष्ट्रवाद, भ्रष्टाचार निवारणको नारा झन् छर्लङ्ग भएको छ । गोकुलले आफू एक्लै यो डिल गर्न सक्ने हैसियतका मान्छे नै होइनन्, यिनलाई ओली र प्रचण्डको निर्देशन बिना यिनले यो र यस्ता भ्रस्ताचारका डिल गरे होलान् भनेर कसैले भन्छन् भने उनीहरू नेपाली राजनीति नबुझेका मान्छेहरू हुन । नेकपाको सचिवालय बैठकले गोकुललाई कुनै कारबाही नगरेबाट र अख्तियारले अहिले सम्म कुनै कारबाही सुरु नगरे बाटै प्रस्ट छ कि – गोकुल कारिन्दा मात्र हुन यो डिल गर्ने गराउने सबै ओली र प्रचण्ड हुन । अझ आश्चर्यको कुरा अख्तियारको छापा भन्दै गोकुलले आफै मन्त्रालयबाट सम्पूर्ण कागजात, फाइल उसै दिन उठाइसकेको र अख्तियार तथा प्रहरीले आफूहरूले छापा नमारेको बताएबाट खेल के छ भन्ने बुझ्न कुनै गाह्रो छैन ।

आठौँ आश्चर्यको कुरा त यस्ता भ्रस्टाचारको डिल गर्ने गोकुलहरूका पक्षमा केही कथित सर्वहारा निर्लज्ज अनुहारहरू, अरिङ्गाल र छौडाहरुले गोकुल जस्तो पो नेता हुनुपर्छ भन्दै नैतिकताका आधारमा राजीनामा दिएको र प्रचण्ड, ओलीले भ्रष्टाचारीलाई नछाड्ने भन्दै सामाजिक सञ्जालमा बमिटिङ्ग गरिरहेको देख्दा हग्ने लाई भन्दा देख्ने लाई लाज भने जस्तै भएको छ । हनुमान गिरीको यो भन्दा लज्जा उदाहरण के हुन सक्ला र ! अझ अडियो रेकर्ड सार्वजनिक गर्ने विजय प्रकाश मिश्र लाई नै सार्वजनिक लेखा समितिबाट साइबर क्राइम मुद्दा लगाएर प्रहरी मार्फत पक्राउने कदमले नै प्रमाणित गर्छ कि यो डिलमा प्रचण्ड ओलीहरू नै सामेल छन् ।

 काभ्रेमा ओलीले गरेको गोकुलको भाषण सुनेर पनि गोकुल को हुन ? के हुन ? नचिन्ने हामीहरू अन्धा, भदौमा आँखा फुटेका गोरु र एक्काइसौँ शताब्दीका दासहरू होइनौँ र ??

जे जे भयो भयो विगतमा विगतबाट पाठ सिकेर अब हामी सुध्रिनुको विकल्प छैन । प्रधानमन्त्री ओली, न तपाईँका कुनै सन्तान छन्, न त तपाईँले भने झैँ तपाईँसँग धेरै लामो आयु छ । छातीमा हात राखेर, नेपाल देशलाई आफ्नो घर र नेपाली जनतालाई आफ्ना सन्तान, परिवार ठानेर सुशासन दिन थाल्नुस् । गोकुलहरू मार्फत गर्ने डिलहरू आखिर के का लागि ? छोड्नुस् यस्ता डिलहरू । यदि तपाईँलाई स्वास्थ्यले साथ दिएर बच्नुभयो भने अझै तीन वर्ष बाँकी छ तपाईँसँग । महाराजा बन्न छोड्नुस् । आफ्नो धरातलमा आउनुस् । अझै पनि ३ वर्षमा गर्न सकिने धेरै कुरा छन् । बहुमतको सरकार छ काम गर्नुस् राम्रो काम मा कसैले अवरोध गर्दैन । तपाईँलाई अर्को जन्मदिनका दिन हामी सबैले हाम्रो प्रधानमन्त्री भन्दै गर्वका साथ शुभकामना दिन पाउँ । घर घरमा अष्ट चिरञ्जीवी लगायतका पूजा गरेर तपाईँको दीर्घायुका लागि जन्मदिन मनाउन पाउँ । राजसी जन्मोत्सव, हेलिकोप्टर सवारी, हेलिकोप्टर चार्टर गरी ल्याइएका यतिका केक भन्दा जनताको मन देखी पाइने शुभकामनाहरुमा धेरै शक्ति र भक्ति हुन्छ । गोकुल पिता ओलीज्यू, नेपाली जनका पिता हुन तपाईँलाई प्रेरणा मिलोस् तपाईँलाई जन्मदिनको हार्दिक शुभकामना ।

हामी जनता पनि झनै सुध्रिनुपर्ने अवस्था छ । यी भ्रष्ट नेता, दलहरू लाई ठिक पार्न सक्ने मतदाता तपाईँ हामी जनता नै हो । अब तीन वर्ष बाँकी छ निर्वाचन हुन । आगामी निर्वाचनका लागि अहिले देखिनै तयारी गर्ने, भ्रष्टहरूलाई भोट नदिने, असल राम्रा योग्य उम्मेदवारलाई भोट दिने, राम्रो नराम्रो छुट्ट्याउने र निर्णय गर्ने हो भने देशले यी अपराधीहरूबाट ढिलो चाँडो मुक्ति पाउने नै छ तर अझै पनि परम्परागत फोहोरी राजनीतिलाई निरन्तरता दिने हो भने हामी त्यही फोहोरी राजनीतिको आहालमा आफू पनि डुबेरै मर्छौँ र हाम्रा भावी सन्ततिहरुलाइ पनि डुबाएरै छोड्छौँ । देश अर्को सय वर्ष पछाडि फर्किने छ । आगे तपाईँको जो मर्जी !

– फेब्रुअरी २४, २०२० भर्जिनिया, अमेरिका ।  

*********************************
र यो एउटा कविता पनि ……

कमरेड केपी – जिन्दाबाद जिन्दाबाद !

Image may contain: 7 people, people sitting, people eating and foodदेशलाई केक बनाएर
च्वाट्ट छुरीले काट्दा
राजाको जन्मदिन भन्दा पनि अझै भव्य
सार्वजनिक बिदा दिएरै
हेलिकप्टरमा केक सहित
सवारी चलाएर
राजसी जन्मदिन मनाएर
भोज भतेर गरेर
खुसी बाँड्दा
हेप्पी बर्थ डे कमरेड भन्दै
अङ्ग्रेजीमा जन्मदिनको खुसी साट्दा
जोड जोडले ताली मार्ने म मनुवा
ताली मात्र होइन नारा पनि लगाउँछु
लोकतान्त्रिक गणतान्त्रिक नयाँ नेपालको
सार्वभौम नागरिक हुँ भन्दै
उफ्री उफ्री फेरी पनि नारा लगाउँछु
राजतन्त्र मुर्दावाद – मुर्दावाद, मुर्दावाद !
सामन्ती व्यवस्था – चाहिँदैन, चाहिँदैन !
कमरेड केपी – जिन्दाबाद जिन्दाबाद !
कमरेड प्रचण्ड – जिन्दाबाद जिन्दाबाद !

– रामप्रसाद खनाल

 

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया