प्रसंग: शिवरात्रीको प्रसाद भाॅंगको लड्डु

शशी के.सी २०७६ फागुन ७ गते २३:०१ मा प्रकाशित

शिवरात्री, शिवजीको उत्पत्ति वा जन्मदिनको रूपमा धुमधामसॅंग संसारभर हिन्दुहरूले मनाउॅंछन्। अरू शिव मन्दिरमा जस्तै, काठमाडौंको पशुपतीनाथ मन्दिरमा शिवरात्री आउनु २-३ हप्ता अगाडीदेखि नेपालको बिभिन्न ठाउॅं लगाएत भारतबाट पनि साधुसन्त, जोगीहरू आउॅंछन्।अनेक तालतालका जोगी देखिन्छन्। कोहीकोही त मौका यही हो भनेर घर घर माग्न पनि आउॅंछन्।

एकपटक एउटा जोगी आएको थियो माग्न, अब जोगीलाई कचौरामा चामल र केही पैसा त हामी नेपालीले दिन्छौं नै, चलनै हो, ऐ त्यो जोगी त तेतीले गएन । अनेक शिवजीको मंन्र पढ्न थाल्यो, घरमा तल भाडामा बस्ने, हामी केटाकेटी, बुढाबुढी सबै गर्दा ७-८ जना थियौं होला, बाहिर निस्क्यौं जोगी हेर्न, के के नै आशिर्वाद नै पाइएला जस्तो गरेर,खै के गर्यो गर्यो, कसरी हामी सबैलाई लट्यायो, तल बस्ने दाईले त खुरूक्क पर्सबाट ३-४ हजार रूपैंया निकालेर दिनु भयो। त्यो जोगी पैसा लिएर गयो। एकछिनपछि पो सबैको होश आयो, ओहो जोगीले ठग्यो भन्ने, जोगी कहाॅं पुग्यो, कहाॅं।

त्यस्तै अर्को पनि रमाइलो प्रसंग छ, यो चाहीॅं आजभन्दा ३५-४० बर्ष अगाडीको हो।बुबा जागिरको शिलशिलामा रामेछापमा हुनु हुन्थ्यो, हामी सरकारी क्वाटरमा बस्थ्यौं। यस्तै शिवरात्री आउन लागेको थियो, एउटा जोगी घरघरमा माग्दै आएछन्। बुबा अफिस,हामी घरमा स-साना केटाकेटीहरू, मम्मी र एक घरमा सहयोग गर्न राखेको केटा र उसको भाई( ९-१० बर्षको) जो हामी केटाकेटीसॅंग खेल्ने साथी पनि थियौं । जोगीले बस्ने ठाउॅं छैन, आदी के के भनेछ, हामी बसेको क्वाटरको तल्लोतलाको छिंडीमा केही दिन बस्नु नी त भनेर बस्न दिनुभयो मम्मीले। जोगी दिनभरी गाउॅंमा मागेर आउने, बिहान बेलुका धुनी बालेर पुजाआजा गर्ने, घर नै मन्दिर नै जस्तो बातावरण। अनि शिवरात्री आयो, जोगीले ठुलो पुजा गरे, मिठो मगमग प्रसाद पकाएको पनि माथिसम्म बासना आयो।

बेलुका सहयोगी केटाले जोगीले दिएको शिवरात्रीको प्रसाद भनेर लड्डु लिएर आएछन्। अरू खानेकुरा त मम्मीले जो पायो त्यसले दिएको खान नदिने हामीलाई, प्रसाद त खाओ भनेर दिनु भयो एक-एक लड्डु र आफुहरूले पनि खानु भयो। खाएको एकछिन पछि त हामी स-साना केटाकेटीहरू त सुति हालेछौं, सहयोगीको भाई त हाॅंसेर लडीवुडी गर्न थालेछ, कहिले यता कुदने, कहिले खाट मुनी लुक्ने, बुबा,मम्मीलाई पनि अलिक टाउको घुमाए घुमाए जस्तो भएछ ।

झट्ट बुबाले कतै “शिवरात्रीको प्रसाद” भनेर जोगीले भाॅंगको लड्डु त खुवाएन भनेर खोध्न पठाउॅंदा त, जोगीले हो अलिकति भाॅंग हालेको थिॅंए भनेछन्। अहिले पनि जव जव शिवरात्री आउॅंछ यिनै घटना याद आउॅंछ।

सबैलाई आउॅंदै गरेको शिवरात्रीको शुभकामना।

शशी के.सी

लेखिका

प्रतिक्रिया