कालिका नगरपालिकाको फोहोरले वरण्डाभार जंगल र खगेरी खोला दुर्गन्धित (फोटो फिचर )

इनेप्लिज २०७६ फागुन ५ गते १२:३२ मा प्रकाशित

शिशिर सिंखडा,चितवन । पूर्वी चितवनको कालिका नगरपालिका र भरतपुर महानगरपालिका सीमा क्षेत्रमा रहेको खगेरी खोला र वरण्डाभार जंगलमा जथाभावी फोहोर फाल्नाले दुर्गन्ध फैलिएको छ । खगेरी खोला, सो नजिकैको गंगोली घोल र वरण्डाभार जंगल छेउ फोहोर फाल्नाले सो क्षेत्रमा दुर्गन्ध फैलिएको छ भने खगेरी खोला पूर्ण रुपमा प्रदुषित भएको छ ।

जनावरको जैविक मार्ग कोरिडोरको रुपमा रहेको सो जंगलमा फोहोर फाल्नाले जंगलबाट निस्केर जनावरहरुले समेत फोहोर खाने गरेका छन् । स्थानीयहरु आवतजावत गर्दा समेत दुर्गन्ध फैलिएकोले हिड्न समस्या भएको बताएका छन् । यस अगाडि पनि सोही मार्गको चतुर्मुखी सामुदायिक वनको क्षेत्रमा फोहोर फालेको ठाउँ नजिकै बाघको आक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ भने केही व्यक्तिहरु घाइते समेत भएका थिए । लंकालाईन–भोजाड सडक खण्डको खगेरी पुल नजिकैका क्षेत्रहरु नवजागृति सामुदायिक वन, चतुर्मुखी सामुदायिक वन र भिमवली सामुदायिक वनको क्षेत्र पर्दछ । सो सडक खण्डका छेउ र वन क्षेत्रमा ठूलो मात्रामा फोहोरहरु यत्रतत्र छरिएर रहेको देख्न सकिन्छ ।

भरतपुर महानगरपालिकाको आफ्नै डम्पिङ साइट रहेको छ । महानगरले नगर क्षेत्रका फोहोरहरु उठाई व्यवस्थापन गर्दै आएको छ । कालिका नगरपालिकाले हालसम्म फोहोरको व्यवस्थापन नगर्नाले सो जैविक मार्ग एवम् कोरिडोर क्षेत्रमा फालिएका फोहोरहरु जंगली जनावर र पानीमा हुने जीवहरुले खाने गरेका छन् भने सो सडक भएर यात्रा गर्ने स्थानीयहरुले सास्ती व्यहोर्नु परेको छ ।
फोहोरको व्यवस्थापन नहुँदा कालिका नगरपालिकाबाट निस्किएका फोहोरहरु सो स्थानमा फाल्न नगरवासीहरु बाध्य भएका छन् । स्थानीय निर्वाचन भएको ३ वर्ष पुग्नै लाग्दा समेत नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन । फोहोर व्यवस्थापन हुन नसक्दा नगरपालिकाको छवि समेत बिग्रदै गएको छ भने स्थानीयले समेत फोहोर व्यवस्थापन गर्न नपाउँदा दुःख पाउँदै आएका छन् ।
कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ हरेक दिन जसो जिल्ला सदरमुकाम भरतपुर सोही फोहोर थुप्रिएको बाटो हुँदै जाने गर्दछन् । उनी सो फोहोर छेउबाट भरतपुर आउजाउ गरेपनि देखेनदेखे झैँ गरी हिड्ने गरेको स्थानीयहरु बताउँछन् ।

नगर प्रमुख श्रेष्ठले नगरपालिकाको मुख्य प्राथमिकतामा फोहोर व्यवस्थापनलाई राखी काम गर्नुपर्नेमा सो कामको हालसम्म पनि कुनै कार्ययोजना पनि नबनेको र काम अगाडि बढाएको नदेखिनुले कालिका नगरवासीहरु आश्चर्यमा परेको बताउँछन् ।

प्रतिक्रिया