बिहीबार, फागुन १५ २०७६
काठमाडौं ०९:३२
वासिङटन डिसी 22:47

तामांग ल्होछार २८५६ भव्यताको साथ सम्पन्न

डिग बहादुर तामांग २०७६ माघ २९ गते २२:४० मा प्रकाशित

यस बर्षको तामांग ल्होछार २८५६ भव्यताको साथ सम्पन्न भएको छ । तामाङ सोसाइटी अफ ग्रेटर वाशिंगटन स्थापना भएको १५ वौं बर्षको बार्षिक शुभ अवसरलाई पारेर सोनाम ल्होछर २८५६ दुइ चरण गरेर मनाइयो । गत फरवरी २ तारिखको दिन बौद्ध गुम्बामा गएर, सम्पूर्ण प्राणी जगतको सुख र शान्तिको लागि छोग, मण्डल, मारमेन मोलम र ग्यप्शी पूजा-प्रार्थना गरेर मनाईयो ।

त्यसै गरि आईतवार, फरवारी ९, २०२० का दिन सोसाइटीको औपचारिक निर्णय अनुसार, २१४५३ इपिसरि प्लाजा, स्टार्लिंग शहरको इभेन्ट हलमा करीब ४०० जति सहभागीहरुको उपस्थितमा विविध सास्कृतिक साझको आयोजना गरेर मनाएको थियो । सोसाइटीका कार्यकारी उपाध्यक्ष फौदा लामाको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा मुख्य अतिथी नेपालका महामहिम राजदूत डाक्टर अर्जुन कुमार कार्की हुनुहुन्थ्यो ।

यसै गरि अमेरिकी सरकारका बर्तमान सेनानी (कर्णेल) अलविनस्च्वाप तथा मेजर जस्टिन देपुए, सस्थापक अध्यक्ष डा श्याम बल, र संस्थापक उपाध्यक्ष डिग बहादुर तामाङ लगायत विभिन्न संघ संस्थाका प्रतिष्ठित व्यक्तिहरुलाई परम्परागत खादा ओढायर  स्वागत गरिएको थियो ।

राजदूत कार्कीले, “यसरी तामांग सोसाइटीले बिदेशमा पनि,  नेपाली सस्कृतिलाई जिवन्त राखेकोमा नेपाल सरकारको तर्फबात राजदूताबास मेरो र श्रीमती गौरी ठकुरीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु” भन्नु भयो ।

सोसाइटीका अध्यक्ष उत्तर लामा दोङ्ग तामाङले आफ्नो मन्तव्यमा, “आज नेपालका तामाङहरु विश्वका कुना काप्चा सम्म पुगेका छन् । त्यसै गरि हाम्रो ल्होछार लगायतका तामाङ संस्कारहरु विश्वभरि फैलिएर भूमण्डलीकरण भईसकेका भन्नुभयो । यहा उपस्थित हुनुभएको सम्पूर्ण नेपाली तथा अमेरिकन दाजुभाई तथा दिदीबहिनी लाइ स्वागत गर्न पाउदा म लगाएत हाम्रो सम्पूर्ण तामाङ सोसाइटी परिवार धेरै खुशी भएका छौ । हामी हाम्रो परम्परागत परिकारहरुका साथै सांस्कृतिक मनोरन्जनका गीत संगीत लिएर आएका छौं, त्यत्ति मात्रै नभएर यसपाली हामीले समावेशी रुपमा तामाङ सांस्कृतिकका साथै नेवा:, गुरुङ, मारुनी, भारत नाट्ट्यम लगायत अन्य नेपाली संस्कृतिको कोसेलीहरु पनि लिएर आएका छौ ।

हामीले विश्वास लिएको छौ हजुरहरुको सक्रिय सहभागिताका साथमा धेरै रमाइलो हुनेछ भन्ने । यसरि हामी हाम्रो पहिचान र संस्कृतिलाई जोगाउने प्रयास गर्ने क्रममा हामीले मुख खोल्नै पर्ने भएकोले म आफुलाई लागेको कुरा के भन्न चाहन्छु भने  हाम्रो काभ्रे जिल्लामा बहुसंग्ख्यक तामाङ जातिको बसोवास भए पनि त्यहाँ खनाल थोक, खरेल थोक, कानपुर भन्ने गाउहरु छन् जहा प्रशस्तै तामाङहरु छन् त्यहाको अन्य जातिहरुसंग बर्षौ देखि मिलेर बसोवास गरि आएका छौ ।

त्यसै गाउँ मध्येवाट दाजु नारायण मैनाली जो नेपाली कुटनैतिक क्षेत्रमा हुनुहुन्थ्यो र उहाँको दाजु लोक सेवाआयोगका अध्यक्ष हुनुहुन्छ। हामीलाई त्यो गाउहरुको नामले कुनै फरक परेको छैन । तर हाल नेपाल सरकारले नेवा-तमासलिंग नामको पहिचान सम्बन्धि मागलाई वेवस्ता गरेर ३ नम्बर प्रदेश को नाम बागमती राख्ने निर्णय गर्यो । नेवा-ताम्सालिंग नाम राख्दा कसलाइ के नोक्सान पुग्थ्यो र ? तसर्थ यो हाम्रो माग अझै जारी छ संबिधान संसोधन गरेर यो मागलाई दिलाउनु पर्छ” भन्ने विचार राख्नु भएको थियो ।

सांस्कृतिक कार्यक्रम सोसाइटीका सदस्यहरुको संयुक्त म्हेंदोमाया नृत्यवाट शुरु भएर, एञ्जेल्स ब्यान्डका राजु लामा लागायत पेमा दोङ्ग, राजेश खड्गी, पेमा मानसिंह तामांग को प्रस्तुतिले करिब १२ बजे सम्म सबैलाई थाक्ने गरि नचाएर सम्पन्न भएको थियो। सबै भन्दा कम उमेरका अमेरिकन तामाङ नानीहरुले स्व गोपाल योञ्जन दाइको “सुन सुन है मैच्यांग” बोलको गीतमा नृत्य गरेका थिए थुप्रै कलाकारहरुले निक्कै आकर्षक गीत तथा नृत्यहरु प्रस्तुति गरेका थिए ।

चिर परिचित कलाकार तथा मास्टर अफ सेरमोनी पूजा चन्द लामाको प्रस्तुति अत्यन्तै आकर्षक थियो। न्युयोर्कबाट आउनुभएका कलाकारद्वय सन्जोग योञ्जन र गोमा योञ्जनको तामांग सेलो गीतहरुको प्रस्तुति सुन्नेलाई कर्ण प्रिय थिए भने नाच्नेलाई “ताक धिंग ताक” को सुन्दर तालले उफारेको थियो । डा बिमल दोङ्ग र उहाँकी भाई इन्जिनिर पेमा दोङ्ग लगायत, रत्न तामाङ बिनोद मोक्तान, गोमा योञ्जनको समुहले प्रस्तुत गरेका टिपिकल तामाङ गीत “सांगाला जिर्म ग्वैबरी म्हेंदो” नेपालको झझल्को दिने खालको थियो ।

नर्थ क्यारोलिन, न्युयोर्क, पेन्सलभानिया, भर्जिनिया, वाशिंगटन डि सी लगायत मेरिल्याण्डबाट धेरै सहभागीहरु आएका थिए भने कार्यक्रको मुख्य प्रायोजक जेन ट्राभल थियो ।

डिग बहादुर तामांग

 

प्रतिक्रिया