सम्झनामा सामाजिक अभियन्ता स्व पार्वती अधिकारी

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७६ माघ १८ गते २२:१० मा प्रकाशित

बाबा राजेश्वरी थापा ,भियना, अस्ट्रिया । यति बेला अस्ट्रियाको नेपाली समाज शोकमा डुबेको छ। पाल्पा जिल्लाको गेजा गाऊमा सन् १९७६ मार्च २५ तारिकमा जन्मनुभएकी गुरुआमा पार्वती अधिकारीको १८ जनवरी, २०२० मा भियनामा निधन भएको छ। हिजो ३१ जनवरी २०२० मा परिवार, साथीभाई, आफन्त तथा शुभचिन्तकहरुको उपस्थितिमा भियनामा उहांको अन्त्येष्टि गरियो। उहांको जेठो छोरा तेह्र वर्षीय अनुपमले आफ्नो आमाको शोकसभामा बोल्दा उपस्थित सबै भावविह्रल भए। विदेशमा लामो समयदेखि बसोबास गर्दै आउनुभएकी स्व. अधिकारी नेपाली भाषा र संस्कृतिलाई जोगाउन व्यक्तिगतरुपमा लाग्नु भएको थियो र पछिल्लो समय नेपाली मुलका केटाकेटीहरुलाई नेपाली भाषा पढाउदै आउनुभएकोले “गुरुआमा” को नामबाट लोकप्रिय हुनुहुन्थ्यो।

लक्षण देवकोटा,वरिष्ठ पत्रकार, जेनेभा, स्वीजरल्याण्ड

पूर्वी पाल्पाको सामान्य परिवारमा जन्मेर बिज्ञान बिषयको गहिराइसम्म पुग्ने असाधारण नारी हुनुहुन्थ्यो पार्वती अधिकारी । उहां स्ववियूमा कोषाध्दक्ष हुदां म पत्रकारिता गर्दै थिएँ पाल्पामा । बडो उत्साही बिद्यार्थी र जोसिली महिला हुनुहुन्थ्यो। पछि काठमाडौँ जानु भो । सम्पर्क टुट्यो । आज अचानक दुखद खबर मर्माहित छु।

बिनोद चौलागाई ,अध्यक्ष, गैर आवासिय नेपाली संघ, अस्ट्रिया

अत्यन्तै मृदुभाषी, सरल र प्रेरणादायी दिदी पार्वती अधिकारी अस्ट्रियाकी सकृय महिला सामाजिक अभियन्ता हुनुहुन्थ्यो। दिदीको अकल्पनीय निधनले म व्यक्तिगतरुपमा अत्यन्तै दुखी छु। दिदी सबैको प्रेरणाको श्रोत हुनुहुन्थ्यो। समाजसेवामा दिदीले देखाउनु भएको मार्गदर्शनलाई हामी पछ्याउने छौं।

सागर सुवेदी,चर्चित पत्रकार, भियना

हुन त संसारभरी बिभिन्न कारणबस “हरेक सेकेन्ड” सयौ मानिसहरुको मृत्यु भैरहेको हुन्छ, त्यसैमा स्वयम् म आफै स्वास्थकर्मी भएको कारण नचाहदा नचाहदै हरेक हप्ता कुनै न कुनै व्यक्तिको मृत अबस्था देख्न बाध्य हुन्छु, तर आज दुई चिचिरा बाबुकी प्रिय आमालाई यो संसारबाट चटक्क चुडेर लगेको साथै त्यो परिबार प्रति पर्न गएको बज्रपातमा प्राय: अष्ट्रीयाबासीहरु संगै म आफुले आफैलाई थाम्न सकिन अनायासै आखा रसाएछन् , त्यसैमा पनि बालक बाबुको ‘भाबुक बोलिमा’ कसैले पनि आफ्ना आशु रोक्न नसकेको देखिन्थ्यो ! हेर्दा हेर्दै स्व. पार्वती अधिकारी दिदीको भौतिक शरीर खरानी बन्यो अनि एक कहालीलाग्दो सपना जस्तो मानी उक्त ठाउमा स्व. अधिकारी दिदीको खरानी छोडेर अरु अष्ट्रीयाबासि संगै म पनि घरमा आए !

फेरी मलाई सोच्न बाध्य बनायो , आखिर ‘जीबन के रहेछ’ त ? दिदीसंग करिब महिना दिन अगाडी भएको हाम्रो बार्तालाप सम्झे, ती अबोध बाबुहरुले गुमाएको आमा सम्झे, कालो बादलले आखा ढाकेको महसुस भयो, म आफै भित्र कहाँ हराए आफैलाई महसुस नै भएन !

दिनेश बैदाबार,युवा संयोजक, गैर आवासिय नेपाली संघ

पार्वती गुरुआमा र म पाल्पाली थियौ तर हामी एक अर्का लाई नजिक बाट पाल्पाली को नाता मा चिन्न पाएनौ!! पाल्पा का दु:ख सुख, सँगै बसेर भलाकुसारी गर्ने मेरो चाहना अब कहिले पुरा नहुने भयो,मैले मेरो पाल्पाली चेली गुमाए, मेरो छोरो ले उस्को नेपाली गुरुआमा गुमायो, नेपाल देश ले होनहार छोरी गुमायो!! दिदी हजुर को आत्मा ले शान्ति पाओस, परिवार सबै मा धैर्य गर्ने शक्ति मिलोस!

निलम सिन्चुरी,समाजसेवी, भियना, अस्ट्रिया

अस्ट्रियाको नेपाली समाजमा पार्वती अधिकारीको निधनले एक अपुरणीय क्षति भएको छ। सार्है असल र व्यवहारिक महिला हुनुहुन्थ्यो उहां। बालबच्चाहरुलाई अत्यन्तै माया गर्ने नेपाली विषयकी गुरुआमा खेलकुदमा निकै रुची राख्नुहुन्थ्यो। पौडी खेल्ने, साइकिल चलाउने वा स्केटिंग खेलमा उहां आफु त निपुर्ण हुनुहुन्थ्यो भने अरु महिलाहरुलाई र केटाकेटीहकुलाई समेत उहांले प्रेरित गर्नुभयो। महिला सशक्तिकरण उहांको ठुलो देन छ र नेपाली मुलका बालबच्चाहरुको अतिरिक्त क्रियाकलाप र व्यक्तित्व विकासमा अभिभावकहरुलाई उहांले विभिन्न तबरले अभिप्रेरित गर्नुहुन्थ्यो। उहांको अभाव सदासदैव नेपाली समाजमा खट्किरहनेछ।

हिमाद्रि थापा,सहपाठी, स्नातकोत्तर बायोटेक्नोलोजी, BoKu हाल ग्राज

पार्वती दिदीसंग संगै पढें। दिदी एक होनहार बिधार्थी हुनुहुन्थ्यो, दिदीको बायोटेक्नोलोजीमा विद्यावारिधि गर्ने ठुलो इच्छा थियो। दिदी एक प्रेरणाकी श्रोत हुनुहुन्थ्यो, नेपाली भाषा र संस्कृतिलाई जोगाउन निकै लागी पर्नुभएको थियो भने विदेशमा लामो समय बसोबास गरेपनि दिदीले आफ्ना छोराहरुलाई संस्कार, अनुशासन सिकाउनुको साथै नेपाली भाषामा समेत सिकाउनु भएको थियो। दिदी ज्ञान र प्रेरणाको खानी हुनुहुन्थ्यो।

फोटो तथा समाचार संकलन:विभिन्न श्रोत

 

प्रतिक्रिया