सोलुखुम्बुमा जलविद्युतको विषयमा विवाद उत्पन्न हुँदा गोली चल्यो

इनेप्लिज २०७६ माघ ४ गते १८:४४ मा प्रकाशित

सोलुखुम्बु- सोलुखुम्बुमा जलविद्युतको विषयमा उत्पन्न विवादमा गोली चलेको छ। सोलुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने विषयमा आयोजित कार्यक्रममा झडप भएपछि प्रहरीले गोली चलाएको हो। सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका बासिन्दाले कार्यक्रममा सहभागी हुन तिङ्ला गएको टोलीलाई अवरोध गरेका थिए। अबरोध पन्छाउन सुरुमा अश्रु ग्यास प्रहार गरेको प्रहरीले पछि हावामा गोली चलाएका थिए ।

तिङ्लामा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो। सांसद हेमकुमार राई उक्त कार्यक्रमको उद्घाटनका लागि त्यहाँ पुगेका थिए। तर स्थानीयबासीले तिङ्लामा विद्युतीकरण नगरी कार्यक्रम राखिएकोमा विरोध जनाएका थिए।

तिङ्लाबासीले आफूहरु हाइड्रो प्रभावित क्षेत्रको भएको र प्रथामिकता आधारमा सुरुमा तिङ्लामा विद्युत विस्तार हुनुपर्ने माग गर्दै कार्यक्रममा अवरोध पुर्याउने प्रयास गरेका थिए।

झडपमा केही प्रर्दशनकारी र प्रहरी घाइते भएका छन्। कार्यक्रम अवरोध गर्न जम्मा भएका स्थानीय बासिन्दाले १६ वटा मोटरसाइकल र एउटा जीपमा आगजनीसमेत गरेका छन्।

स्थानीयले कार्यक्रममा अवरोध गरेपछि जिल्लाबाट गएका अतिथीहरु बीच बाटोबाटै फर्किएका छन्।

श्रोत :नेपाल समय

प्रतिक्रिया