चरित्र शुद्ध कि चित्त

बाबा राजेश्वरी थापा भियना, अस्ट्रिया २०७६ माघ २ गते २२:१९ मा प्रकाशित

 

एकादेशमा एउटा सभ्य र असल चरित्र भएको मानिसहरुको गाऊँ रहेछ। सबै महिला तथा पुरुषहरु निकै कहिले परस्त्री र परपुरुषगमन नगर्ने, कहिले झुठ नबोल्ने, कहिले ठगी नगर्ने तथा कहिले पापकर्म गर्दा रहेनछन। तर अकस्मात् त्यस गाऊंकी एक महिलालाई छिमेकी गाऊँको परपुरषसंग लसपस भएको बात लागेछ। गाऊँमा ठुलो हंगामा मच्चिएछ। त्यसपछि गाऊंका सज्जन तथा भद्रभलादमी महिलापुरुषहरुलाई जम्मा गरेर त्यस महिलालाई के सजाय दिने भनेर छलफल गरिएछ। सयथरी मानिसका सय थरी सुझाव आएछ । यो सब कुरालाई भिक्षा माग्न आएको जोगीले गौर गरी सुनिरहेको थियो।

अन्तमा ती बात लागेको महिलालाई नांगै गाऊँ घुमाउने निर्णय सबको सर्वसम्मतिबाट पारित भएछ। यो सुनेपछि जोगीलाई असह्य भएछ। जोगी त्यहां जुरुक्क उठेर ठुलो स्वरले भनेछ, “ आदरणीय महिला तथा सज्जनवृन्द! आज सम्म कुनै पनि परस्त्री तथा परपुरुषसंग गोप्यरुपमा सम्बन्ध नराखेको व्यक्तिले मलाई एक मुठी चामल दान गर्नुहोस, म यी चरित्रहीन महिलालाई नांगै यो गाऊँ होइन अरु दश गाऊँ घुमाउछु।”

एकाएक सबको मुहार मलीन भएछ र सब मुखामुख गर्न थालेछन तर जोगीले घण्टौं कुर्दा पनि एक मुठी चामल भिक्षा कुनै महिला तथा सज्जनको हातबाट पाएनछ। अन्तमा ती महिलालाई लागेको आरोप भुल भएको भन्दै सबै आआफ्नो घरतिर लागेछन्।

शिक्षा: अर्कालाई सजाय तोक्नु अघि आफ्नो पापको पनि प्रायश्चित गरौं!

बाबा राजेश्वरी थापा
भियना, अस्ट्रिया

प्रतिक्रिया