रौतहटको मौलापुरमा राष्ट्रपति विद्यादेवी भन्डारी आउनुहँदै

सञ्जय साह मित्र २०७६ पुष २६ गते ०:२० मा प्रकाशित

सञ्जय मित्र

रौतहट÷फागुनको पहिलो हप्ता महामहिम राष्ट्रपति विद्यादेवी भन्डारी रौतहटको मौलापुरमा आउनुहुने भएपछि तयारी सुरु गरिएको छ । मौलापुर नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर रिनादेवी साहले फागुन ६ गते मधानी महोत्सवको क्रममा भूतनाथ महादेव मन्दिरको शिलान्यास, एकीकृत दलित नमूना बस्ती मौलापुर र पिकनिक स्थल मौलापुरको उदघाटन गर्न राष्ट्रपति भन्डारी आउने निश्चित भएको बताएकी छन् ।

मौलापुरको पतौरामा पुरातात्विक महत्वको शिव मन्दिर रहेको छ । पुरातात्विक उत्खननसमेत गरिएको र पुरातत्वविदको अन्तिम नतिजा आउने क्रममा रहेको र पूर्वानुमानअनुसार यो मन्दिर कर्नाटवंशीय शासनकालको हुनसक्ने बताइएको छ । केही दशकपहिले भग्नावशेषको रुपमा जमिनमुनि प्राप्त भएको मन्दिरको अवशेषलाई पुरातत्वविदहरुले उत्खनन गरेका थिए । पुरातात्विक अध्ययनपछि मन्दिरको निर्माणको लागि फागुन ६ मा राष्ट्रपति भन्डारीबाट शिलान्यास गराइने कार्यक्रम तय भएकोले तयारी आरम्भ गरिएको छ ।

यसै गरी मौलापुर नगरपालिकाको पहलमा निर्माण भइरहेको एकीकृत नमूना दलित बस्ती मौलापुरको पनि उदघाटन राष्ट्रपति भन्डारीबाट हुने भएको छ । यसै गरी मौलापुरको अणुवा नदीको किनारमा भइरहेको पिकनिकस्थलको पनि उदघाटन राष्ट्रपति विद्यादेवी भन्डारीबाट हुने भएको मेयर साहले बताएकी छन् ।

मौलापुर नगरपालिकाको आयोजनामा हुन गइरहेको मधानी महोत्सवले यस क्षेत्रमा नयाँ पहिचान स्थापित गराउने, हजारौँ बोल बम कामरनाथुहरु आउने, भगवान शिवको अनुष्ठान पनि गरिने तथा साँस्कृतिक उत्सव पनि गरिने मेयर साहको भनाइ छ । विशेष सांस्कृतिक कार्यक्रममा प्रसिद्ध भारतीय भोजपुरी नायक दिनेशलाल निरहुआ तथा आम्रपाली दुबेसहित नेपालका कलाकारहरुको सहभागिता रहने मेयर साहको भनाइ छ । प्रसिद्ध कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने भएकोले भारतीय दर्शक पनि हजारौँको संख्यामा आउने विश्वास गरिएको छ ।

कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्री, साँसद, प्रदेश सरकारका मन्त्री तथा साँसदहरुको समेत सहभागिता रहने जनाइएको छ । प्रसिद्ध नेपाली तथा भारतीय कलाकारहरुका साथै स्थानीय कलाकारहरुको समेत सहभागिता रहने सांस्कृतिक कार्यक्रमका साथै भारतको मधुबनीका कलाकारहरूद्वारा शिवलीलासमेत प्रदर्शन हुने कार्यक्रममा बताइएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को लागि नेपाल सरकारद्वारा सूचीकृत देशभरका एक सय पर्यटकीय गन्तव्यमा रौतहटको मौलापुरको महादेवस्थान पनि परेको छ । पर्यटन वर्षको अवसरमा मौलापुरमा गरिएको मधानी महोत्सवले पर्यटन वर्षलाई पनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकरप्रसाद जयसवाल, विभिन्न वडाका वडाध्यक्ष, नगरपालिका कार्यालयका कर्मचारी, शिक्षक, तथा स्थानीयबासीको सहभागिता रहेको पत्रकार सम्मेलन कर्नाटकालीन मानिएको भूतनाथ महादेव मन्दिरमा गरिएको थियो । मन्दिरको निर्माण हुने भएपछि स्थानीयबासी खुसी भएका छन् । मौलापुरको मूल सडकबाट मन्दिरलाई जोड्ने फराकिलो सडक निकालेर स्थायी प्रवेशद्वारको निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

पत्रकार सम्मेलनमा नै मौलापुर नगरपालिकाद्वारा असहायसित मेयर कार्यक्रमअन्तर्गत २७ जनालाई जनही २५ हजार रुपैयाको चेक हस्तान्तरण गरिएको थियो । मौलापुर नगरपालिकाले अति विपन्न परिवारको छोरीलाई विवाहको लागि २५ हजार रुपैया दिँदै आएको छ । महिला नगर प्रमुख भएको प्रदेशको एकमात्र नगरपालिका महिलामैत्री बन्दै गएको पाइएको छ ।

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया