अमेरिका, गँजेडीहरुका गफ र यहाँको वास्तविकता !

रामप्रसाद खनाल २०७६ पुष २४ गते २२:०९ मा प्रकाशित

– रामप्रसाद खनाल

सातौँ पटकमा बल्ल तल्ल अमेरिकाको ३ महिने भिजिट भिसा प्राप्त गरेका एक जना साथी अमेरिका आए । भिसाको म्याद हुँदा सम्म अमेरिका बसे । यहाँ आफन्त कोही नभएका उनले साथीभाइहरू सँग भेटे, एक जना नेपाली इमिग्रेसन लयर सँग पनि भेटे । म पनि ग्रीनकार्ड लिन्छु यतै बस्छु त्यसका लागि के के गर्नु पर्छ ? के गरौँ ? सोधे । केही गरे पनि उनको ग्रीनकार्ड को बाटो खुल्ने नदेखे पछि उनी नेपाल फर्के । नेपाल पुग्ना साथ एउटा अन्तर्वार्ता दिँदै उनले भनेछन – म अमेरिका, त्यहाँको सुख सुविधा, ग्रीनकार्ड सब त्यागेर नेपाल फर्किएँ । मलाई नेपाल नै प्यारो छ । अमेरिकी राष्ट्रपति ट्रम्पले बोलाएर ग्रीनकार्ड दिन्छु भने पनि म अमेरिका जान्न अब । त्यो साम्राज्यवादी देशमा को जान्छ । मलाई चाहिएन अमेरिका ।

भएछ के भने अमेरिकाबाट फर्केको तेस्रो दिन उनले फेरी अमेरिकी राजादुताबासमा गएर भिसा अप्प्लाई गरेछन् । सात दिन पछि भिसाको लागि अन्तर्वार्तामा बोलाएछ राजदूतावासले । भिसा कन्सुलरले अन्तर्वार्तामा सोधेछन् – तपाईँ त अमेरिकाबाट फर्केर नेपाल आएको १० दिन पनि भएको छैन फेरी किन र केको लागि अमेरिका जान चाहनुभएको हो ? उनी झसङ्ग भएछन् । उत्तर दिँदा अक्मकिएछन । अनि कन्सुलरले भनेछन – तपाईँ अमेरिकाबाट फर्किनुहुन्छ भन्ने आधार के छ लिएर आउनुस् । पासपोर्टमा ड्याम्म रिजेक्ट छाप हानिदिएछन् । साथी फेरी हिम्मत गरेनन् राजदूतावास जान । अनि अमेरिका र राष्ट्रपति ट्रम्पका बारेमा बेला बेला बरबराउँदै स्टाटस ठोक्छन । अस्ति ईरानले इराक स्थित अमेरिकी आर्मी बेसमा मिसाइल दागेको थाहा पाएपछि साथीले लेखेछन् – अमेरिकी साम्राज्यवादलाई घुँडा टेकाउनै पर्छ, सबै मिलेर अमेरिकालाई हराउनुपर्छ । ईरानले जे गर्‍यो ठिक गर्‍यो । यस प्रकारको स्टाटसको अर्थ के ??

नेपालबाट जापान गएका, जापानमा केही मेलो मेसो नपाए पछि कसैको सहारामा अमेरिकाको भिजिट भिसामा अमेरिका हानिएका, अमेरिका आएर शरणार्थी बनी पाउ भनी निवेदन दिएका एक जना “ठुला समाजसेवी” को १७ वर्ष पछि शरणार्थी स्टाटस एप्रुभ भयो ३ वर्ष अगाडि । एप्रुभ भएको एक वर्ष पछि शरणार्थी स्टाटस अन्तरगत ग्रीनकार्ड हात पारे । अनि ठुलो भोज गरे साथी भाइ डाकेर । ग्रीनकार्ड हात पार्दा उनको शान विश्व युद्ध जिते सरहकै थियो । तिनैले ग्रीनकार्ड पाए पछि इन्डियाको बाटो हुँदै नेपाल जान १७ वर्ष पछि हवाई टिकट लिए पछि हातमा नेपाली पासपोर्ट र टिकट देखाउँदै एयरपोर्ट बाटै फेसबुकमा स्टाटस ठोके – नेपाली पासपोर्ट बाटै नेपाल यात्रा गर्दै छु । यो नेपाली पासपोर्टमा मलाई गर्व छ ।

स्मरण रहोस् अमेरिकामा ग्रीनकार्ड लिँदैमा यहाँको पासपोर्ट पाइँदैन । ग्रीनकार्ड लिएको पाँच वर्ष पछि विभिन्न सर्त पुरा गर्दै अन्तर्वार्ता पास गरेपछि बल्ल अमेरिकन सिटिजनशिप लिन पाइन्छ त्यसपछि बल्ल अमेरिकन पासपोर्ट लिन पाइन्छ । ती समाजसेवीले अर्को ३ वर्ष पछि बल्ल सिटिजनशिप एप्लाई गर्न पाउँछन् । सिटिजनशिप एप्रुभ भयो भने बल्ल अमेरिकन पासपोर्ट एप्लाई गर्ने हो । यस्तो अवस्थामा उनको स्टाटस र नेपाली पासपोर्ट शो को के अर्थ ??

अमेरिकामा कैयौँ यस्ता परिवारजन पनि छन् जो प्रचण्ड र बाबुरामको कथित जन युद्ध ताका बाउ मारिएर, छोरो मारिएर, सम्पत्ति कब्जा गरिएकाले विस्थापित भए पछि काठमाडौँ र काठमाडौँ बाट अमेरिकाको भिसा लगाएर अमेरिका आएका छन् । अमेरिका आए पछि तिनै प्रचण्ड र बाबुरामले गरेको ज्यादती, हत्या, अपहरण, लुटपाट, सम्पत्ति कब्जालाई देखाएर शरणार्थी भए, अमेरिकाको ग्रीनकार्ड लिए । अहिले उनीहरू कतिपय तिनै प्रचण्ड कार्यकारी अध्यक्ष भएको पार्टीका भरौटे भएका छन् । अर्का थरी छन् – शेर बहादुर दाइ बाहेकको संसार देख्दैनन् । अझ अर्का थरी छन् – उनीहरूलाई नेपालको होइन विहारको चिन्ता छ । डोनाल्ड ट्रम्प यस्तो र उस्तो भन्दै बोल्छन् लेख्छन् । उनीहरूलाई आफ्नै बाउ मार्ने, छोरो मार्ने, सम्पत्ति लुट्ने, आफूलाई शरणार्थी बनाउने प्रचण्ड र बाबुरामको होइन डोनाल्ड ट्रम्पको चिन्ता लाग्न थालेको छ । यस्ता मान्छे पनि छन् अमेरिकामा !

एउटी साप्रा र वक्षस्थल देखाएरै र लोग्ने फेरेरै चर्चित भएकी नायिका भिजिट भिसामा अमेरिका आइन । पढाईको अवसरबाट वञ्चित उनले अङ्ग्रेजीमा अमेरिकामा सबै नेपाली “होम लेस” रहेछन् भन्दै नेपाल फर्किन । अनि मिडियाहरूमा अन्तर्वार्ता दिँदै बक्न थालिन – मैले अमेरिका त्यागेर नेपाल फर्किएँ । अमेरिकामा सबै थोक थियो मेरा लागि तै पनि मैले नेपाल नै रोजेँ । मानौँ उनी अमेरिकी राष्ट्रपतिको निम्तोमा अमेरिका आएकी हुन र यहाँ सबै सेटल भए पनि उनलाई नेपालको मायाले तानेर सारा कुरा छोडेर नेपाल फर्किएकी हुन । यस्ता सेलिब्रेटी र यस्ताका कुरा पत्याउने हामी कस्ता !!

एक जना मेरा चिर परिचित मित्र छन् । गफ गर्नमा उनी झापाली ओली काकालाई काँचै खाइदिन्छन् । उनका स्टाटसहरु, लेखाइ, बोलाई सुन्दा लाग्छ उनी नेपालका सबैका गुरु हुन । नेपालका सबैभन्दा ठुला मान्छे हुन । उनले भने – मैले सन १९९५ देखी हरेक वर्ष नटुटाई डिभी भर्छु अमेरिकाको लागि । दुनियाँलाई डिभी पर्छ तर मलाई पर्दै पर्दैन बा किन हो ! विभिन्न समयमा गरी ५ पटक अमेरिकन एम्बेसीमा भिजिट भिसा एप्लाई पनि गरेँ । यी गोरे मुलाहरूले मलाई तँ फर्केर आउंदैनस सरी तँलाई भिसा दिन सकिन्न भन्छन् । लौन अमेरिका आउने बाटो के छ बताइदिनुपर्‍यो, बरु म रिन धन गरेरै पनि खर्च पर्च गर्न तयार छु ।

अनि तिनै मित्रले कहिले काहीँ मेरै लेख, स्टाटसहरुमा ट्वाँट लागेर जङ्ग बहादुर उत्रेपछि कम्मेन्ट लेख्छन् ” खनालजी, अर्काको देशमा बसेर, अमेरिका बसेर तपाईँ नेपालका कुरा गर्ने ? हिम्मत छ भने नेपाल आएर राजनीति गर्नुस् ।” एक पटक त उनले विदेशमा बस्ने नेपालीहरू नेपाली होइनन्, नेपालका भए त नेपाल मै बस्थे, यही केही गर्थे भनेर पोस्ट्याउन समेत भ्याएछन् । उनी यती सम्मका बाठा छन् कि हामीहरूका लेख, बिचार, स्टाटसहरुमा सबैले देख्ने गरी माथि उल्लेख गरे झैँ कम्मेन्ट लेख्छन् । गाली गर्छन् । तर भोलि पल्ट मेसेन्जरको इन्बक्समा लेख्छन् – हिजो बेस्सरी दारु खाएको थिएँ । जङ्ग बहादुर उत्रिएको बेला के लेखेँ कुन्नि ! माइन्ड नगर्नु ल ! अब भयो ! यस्ता ” नेपाली ” लाई के भन्नु !!

अहिले ईरान र अमेरिकाको तनाबले कतै छोएकोछ भने त्यो हाम्रो नेपाल र हामी नेपालीलाई छोएको छ । अमेरिकी राष्ट्रपती ट्रम्पको महभियोगको चर्चा पनि हामी र हाम्रै देशमा बढी छ । बेला न कुबेला भेनेजुयला त हुँदै भैगो ! तर अहँ हामीलाई याद छैन प्रचण्ड र बाबुरामको दश बर्से आतंकको कालो ईतिहास । भुलिसकेका छौं सत्रहजार लाशहरुका कथाहरु । पटक्कै याद छैन चुनाव अघि प्रचण्ड र ओली काकाले गरेका बाचाबन्धन । सम्झना हुने कुरै भएन शेर बहादुर, कमल थापा, उपेन्द्र यादबहरु र अरु धेरैहरुका कहानीहरु ।

यस्तै छ हजुर यहाँको चलन !
के गर्नु तपाईं हामीलाई भएर जलन !!

माथि उल्लेखित नेपाली प्रवृत्तिहरू देख्दा लाग्छ म कैयौँ शताब्दी अघिको त्यही पुर्खा ढेँडु हुँँ जसको पुच्छर मात्र नभएको हो अहिले । यो युग मेरो हुँदै होइन । म बुझ्दिन यो युगलाई । म जान्दिन यो युगलाई अन्माउन । म जस्ता पुच्छर मात्र नभएका ढेँडुहरुको के काम यो युगमा । देखेको बोल्ने, सत्य कुरा बोल्ने, न्यायको पक्ष र अन्यायको विपक्षमा बोल्ने, दुई जिब्रे कुरा नगर्ने म र म जस्ता ढेँडुहरुलाई राम राम भने पनि कसैले काँध थाप्ने कुरै भएन नि ! कि कसो हजुर ?

– जनवरी ९, २०२०, भर्जिनिया अमेरिका

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया