पोखरामा सञ्जीव र टीकाको युगल साँझ हुने

इनेप्लिज २०७६ पुष २२ गते ११:०९ मा प्रकाशित

पोखरा, पुस २२ गते । गायक सञ्जीव पराजुली र गायिका टीका प्रसाईँको युगल साँझ पोखरामा हुने भएको छ । बाबा एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आगामी माघ ४ गते पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा हुने कार्यक्रम अनुपम म्युजिक पोखरा र लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीको संयुक्त आयोजनामा हुन लागेको हो ।

नाई मलाई थाहा छैन…, कर्के नजर…, माया लुकी लुकी… लगायत दर्जनौँ चर्चित गीतमा स्वर दिएका सञ्जीव र टीका युवा पुस्ताका स्थापित कलाकार हुन् । उनीहरुको गायन जोडीलाई पोखरामा युगल रुपमा प्रस्तुत गर्नका लागि अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा १५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । समितिको सहसंयोजकमा लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देल रहेका छन् । सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा पोषणराज खनाल र सह–सचिवमा मोहनराज पौडेलले जिम्मेवारी पाएका छन् ।

यस्तै, सदस्यहरुमा पवित्रा पराजुली, लक्ष्मी बाँस्तोला, अनुज कुलुङ, शिव नेपाली, रुकबहादुर गुरुङ, दामोदर आचार्य, भगवान श्रेष्ठ, वसन्तराज कोइराला, गोविन्द सिञ्जाली र ईशु श्रेष्ठ रहेका छन् ।

समाजसेवाका विभिन्न कार्यक्रम गर्दै आएको लायन्स क्लब अफ् पोखरा आदर्श चौतारीका अध्यक्ष भरतराज सिग्देलले युवा पुस्ताका चर्चित कलकारहरुको युगल साँझबाट बचत भएको रकम समाजसेवामै खर्च गरिने बताए । सञ्जीव र टीका वर्तमान पुस्ताका निकै सशक्त कलाकार भएकाले उनहरुको प्रस्तुतिलाई दर्शक÷स्रोताले भरपुर साथ दिने विश्वास पनि उनले व्यक्त गरे ।

अनुपम म्युजिकद्वारा आयोजित अनुपम साङ्गीतिक साँझमा समेत पोखरामा प्रस्तुति दिएका सञ्जीव र टीकालाई पोखरामा युगल रुपमा प्रस्तुत गर्न लागिपरेका अनुराग अधिकारीले उनीहरुको प्रस्तुतिलाई पोखराका सङ्गीतप्रेमीमाझ प्रस्तुत गर्नुपर्ने आवश्यकताबोध गरेर यस्तो कार्यक्रमको परिकल्पना गरिएको बताए । यसअघि गायक कर्म ग्याल्छेनको एकल साँझ गराइसकेका उनले अग्रजप्रतिको सम्मान र समकालीन र अनुजप्र्रतिको जिम्मेवारीबोधका कारण यो क्रम जारी राख्ने धारणा सुनाए ।

कार्यक्रममा सञ्जीव र टीकाका आफ्ना तथा केही अग्रजका गरी करिब १ दर्जन साङ्गीतिक प्रस्तुतिसँगै नृत्यसमेत प्रस्तुत गरिने आयोजक संस्थाहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया