मंगलबार, चैत १८ २०७६
काठमाडौं २१:२५
वासिङटन डिसी 11:40

विनिपेगमा पहिलो टोपी दिवस

डा. पुरुषोत्तम राज सिंह, विनिपेग, क्यानडा। २०७६ पुष २० गते १९:४४ मा प्रकाशित

-डा. पुरुषोत्तम राज सिंह, विनिपेग, क्यानडा।

जनवरी १, २०२० (बुधवार) का दिन क्यानडाको मध्यनभागमा अवस्थित मेनिटोबा प्रदेशको राजधानी “विनिपेग” मा बसोवास गर्ने नेपालीहरु एकाबिहानै देखि आफ्नो संस्कृती झल्किने पहिरन र शीरमा नेपाली टोपी ढल्काउँदै शहरको दक्षिण भागमा अवस्थित हिन्दु मन्दिरमा आफ्ना नानीहरु साथ जम्मा हुँदै थिए – पहिलो नेपाली टोपी दिवस कार्यक्रममा सहभागी हुन। आफु त सोही मन्दिरको तीन मध्ये एक कक्षा कोठामा (हरेक शनिवार नेपाली कक्षा हुने थलो) कार्यक्रम गरे नअट्ने अवस्थामा ठूलो ठाउँ प्रयोग गर्न मिल्ने बारे तीन दिन अघि मात्र मन्दिरको प्रमुखलाई भनी तलको फराकिलो जीम हलमको प्रयोग (बिहान १०:३० – १२:००) को लागि अनुमति लिई सकेकोले बिहान नौ बजेनै आई चाजोपाजो मिलाउँदै थिए। सबै सहयोगी साथिहरुको सहयोगमा कार्यक्रम स्थल तयार भयो – बस्नलाई कुर्सीहरु, कार्यक्रम बारे लेखिएको ब्यानर, साउण्ड सिस्टम, पोडेम आदि।

अन्य शहरहरुमा अंग्रेजी नयाँ वर्षलाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रुपमा मनाउन थालेको सात वर्ष भई सक्दा विनिपेगवासी पहिलो टोपी दिवस मनाउन जम्मा भएका थिए । नेपाली भाषा र साँस्कृतिक केन्द्र, विनिपेग (एन.एल.सि.सि) को संयोजकत्वमा आयोजित यस कार्यक्रममा साना नानीहरु देखि विभिन्न संघ संस्थाका दाजु भाइ दिदी बहिनीहरु, अग्रज र मान्यजनहरुको बाक्लै उपस्थिति थियो।

टोपी दिवस समारोहको संचालन एन.एल.सि.सि का र यस समारोह समितिका सदस्य पनि रहनु भएका श्याम घिमिरे बाट केन्द्रका संयोजक र यस लेखनका पंक्तिकार लाई सभापतित्व ग्रहन गर्न र विभिन्न संघ-संस्थाबाट प्रतिनिधित्व गर्नुभएका अतिथिहरुलाई आतिथ्य ग्रहण गर्न अनुरोध गर्दै र साथमा आफ्नो अभिब्यक्ति “नेपाली मान नेपालीको शान, ढाका टोपी हाम्रो पहिचान” ब्यक्त गर्दै शुरु गर्नु भयो। अतिथिको स्थान ग्रहण गर्नु हुनेमा एनसिएसएम का अध्यक्ष रन्जु उपाध्याय; एन.एस.ए. का अध्यक्ष अर्पण राज सिंह; एन.आर.एन-क्यानडा का सल्लाहकार डा. देवी अधिकारी; एन.सि.एस.एम पुर्व अध्यक्षहरु चित्र प्रधान, टीकाराम अधिकारी, मनिका प्रधान; चौतारी नेपालका विनोद केसी; र नेपाली सिनियर्स क्लबका पण्डिट गंगाराम काफ्ले हुनुहन्थ्यो।

नेपाली राष्ट्रीय गान बाट शुरुभएको यस औपचारिक समारोहमा एक गीत, दुई सामुहिक नृत्य, टोपीको इतिहास र महत्वबारे छोटो प्रस्तुती, दुई कविता, एक मुक्तक, टोपी पहिरन बारे डेमो, र अन्तमा सभापतिबाट धन्यवाद ज्ञापन गरि पुर्व निर्धारित समयमा सम्पन्न भयो। त्यस पश्चात फोटो सेसन र चीयापान को अनौपचारिक कार्यक्रम सम्पन्न भयो।

समाजका प्रतिष्ठित कलाकार दिल कुमार सुवेदी बाट “जहाँ छन् बुद्धका आँखा … ” राष्ट्रभक्तिले ओतप्रोत गीत गाई सबैलाई मन्त्रमुग्ध पार्नु भयो भने केन्द्कै सदस्य भिम थापाले हाम्रो जनजीवनमा टोपीको विशेषतालाई एक सशक्त मुक्तक शैलीमा प्रस्तुत गर्नुभई सबैको मन जित्नु भयो। साथै वहाँले देश र टोपी सधै भरि बाँचिरहोस भन्ने राष्ट्रप्रेमको संदेश पनि प्रवाह गर्नुभयो।

एनएलसिसि अन्तर्गत संचालित नेपाली कक्षाका चार साना नानीहरु – सोफी, प्रस्तुती, आर्या र मेधावी – द्वारा एक राम्रो नृत्य र समाजका प्रतिष्ठित अनि नेपाली कक्षाका दुई पूर्व छात्राहरु (उचा र अनिसा) द्वारा विभिन्न गीतहरुमा मनमोहक नृत्यहरु प्रस्तुत गरे।

एनएलसिसिका र यस समारोह समितिका पनि सदस्य रहनुभएका डा. ज्ञानेन्द्र पोखरेलले “बिर्ख बहादुरको टोपी” शीर्षकको शार्दूल विक्रीडित छन्दमा लेखिएको कविता वाचन गर्नुभै टोपी हामी नेपालीहरुको जनजीवनको अभिन्न अंगनै भैसकेको कुरा ब्यक्त गर्नुभयो । “……..टोपी हो उसको सान, मान, सपना, हो टोपीनै जीवन। टोपीले छ बचेको शाख उसको, टोपी सदा यौवन।। छ टोपी शीरमा र डुल्छु निर्भय, निडर छ शीर उच्चो सधै। नहुँदो हो त त्यो, नचिनिँदो हो उ नेपाली भै विश्वमा।

नेपाली कक्षाको अभिभावक समेत रहनु भएका गोपी तिम्सिनाले टोपीको सरलता, सहनसिलता –(जसले लगाए पनि हुने, जहाँ राखे पनि हुने) र महानताको व्याख्या कवितामा कोर्नुभयो।

समारोहको आकर्षणको रुपमा रहेको टोपीको इतिहास र महत्वको बारेमा प्रस्तुत गर्ने जिम्मा पाउनु भएको नेपाली कक्षाकै अर्का अभिभावक र यस समारोह समितिका सदस्य केशव नेपालले छोटो समयमा टोपी जस्तो गहण विषयको इतिहास खोतल्न सम्भव नभएको तर यसबारे जानेको, बुझेको र छोटो अध्ययनको प्रस्तुतिले आउँदा दिनहरुमा यसबारे जान्ने इच्छा बढ्नसक्ने धारणा ब्यक्त गर्नुभयो। वहाँले टोपी संसारको सबै जसो ठाउँ र धर्ममा बेग्ला बेग्लै ढाँचामा परापूर्व कालदेखि प्रयोगमा आएको बस्तु भएपनि नेपाली टोपी (ढाका र भादगाउँले) अरु भन्दा भिन्दै र आकर्षक भएको जीकीर गर्नुभयो। नेपाली टोपीको ईतिहास खोतल्दै जाने हो भने गोपालवंश, लिक्षवीवंश र पछिल्लो समयका मल्लकालिन समयको पनि योगदान र परिमार्जन हुनसक्ने सम्भावना बलियो छ तर हाल प्रयोजनमा आएका ढाका र भादगाउले टोपीहरुको जन्मथलो काठमाडौं उपत्यकानै हुने यसका नामबाट (“भादगाउँ” र नेवारी भाषामा “धाका” भनेको कपडाको टोपी बुन्न प्रयोग गरिने एक विशेष प्रकारको धागो र पछि चलनचल्तिमा ढाकाटोपी हुन गएको) पनि बुझिन्छ भन्नू भयो। तीन वटा कपडाका टुक्रा प्रयोग गरि बनाईने नेपाली टोपीले नेपालको भुगोल (हिमाल, पहाड, तराई, लेक र बेसी) लाई प्रतिनिधित्व गर्छ भन्नुभयो। नेपालमा पाइने ढाका टोपीमा पाल्पाली ढाका टोपीको ईतिहास लामो भएको र पछिल्लो समयमा पुर्वमा पनि ढाका टोपी प्रसस्त बन्ने गरेको बारे भन्नुभय‍ो। टोपी डेमो मा वहाँले टोपीको हिफाजत र यसलाई कसरी सजिलै पट्याई उचीत किसिमले टाउकोमा लगाउनेबारे प्रदर्शण गर्नुभयो। टोपी लगाउँदा वहाँले दुई कुरा मा विचार पुर्याउन सल्लाह दिनुभयो – पछिल्लो भागलाई तल न धकेल्ने र टोपीको माथिल्लो भागले टाउकोको माथिल्लो सतह छुन दिनु भएन।

कार्यक्रको अन्तमा समारोहका सभापतिको हैसियतमा यस पंक्तिकारले एनएलसिसि को दशौं वर्ष प्रवेश गरेकै बेला नेपालीहरुको शान र मानका संकेतक पहिलो टोपी दिवसमा विभिन्न संघ संस्थामा आबद्ध नेपालीहरुको ठुलो सहभागिता भएकोमा खुशी ब्यक्त गर्दै पाल्नु भएका अतिथिहरु, समारोह समितिका सदस्यहरु, निश्वार्थ सहयोगी साथिहरु (हिन्दु मन्दिरका प्रमुख समेत) र स्वयमसेवकहरु लगाएत सम्पुर्ण सहभाीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो। यस समारोहको शुरुवात संगै यसलाई निरन्तरता गर्ने र अझ प्रभावकारी किसिमले अघि बढ्ने चुनौतीको हामी सबै विनिपेगवासीहरु मिली सामना गर्नु पर्ने कुरा ब्यक्त गर्नुपर्यो। धन्यवाद ज्ञापनसंगै औपचारिक कार्यक्रम सम्पन्न भै सामुहिक फोटो र चीयापानको कार्यक्रम बडो हर्षोल्लास मुद्रामा सम्पन्न भयो।

प्रतिक्रिया