क्रिसमसको उपहार

शशी के.सी २०७६ पुष १३ गते २३:२१ मा प्रकाशित

“उपहार” त हामी बिभिन्न खुशियाली, कसैको जन्मदिन, बिबाह, ब्रतबन्ध, पास्नी, गुन्युचोलो, नयाॅं बच्चाको आगमन, नयाॅं घर किन्दा, कसैको जागिरमा पद्दोन्नति हुॅंदा,स्कुल/ क्याम्पसको पढाई सकिएको खुशियालीमा आदि बिभिन्न अवसर पारेर दिन्छौं नै।

तर यो “क्रिसमसको उपहार” चाहीॅं अलिक फरक किसिमको रहेछ।”पश्चिमी ईसाई संस्कार” अनुसार “सान्टा क्लज वा क्रिसमसको पिता वा सान्टा” भनिने काल्पनिक पात्रले राम्रो बानी,बेहोरा भएका केटाकेटाहरूको घरमा “क्रिसमस इभ, डिसेम्वर २४ तारीख” को राती वा क्रिसमसको दिन, डिसेम्वर २५ तारीखको बिहान, बिभिन्न उपहारहरू घरमा राखेको क्रिसमसको रूखको मुनी ल्याएर राखिदिन्छ भन्ने रहेछ।

त्यही मान्यता अनुसार संसार भर ईसाई धर्म मान्ने साथसाथै अरूहरूले पनि एकआपसमा “ सान्टाले दियो उपहार” भन्दै उपहार आदानप्रदान गर्ने चलन छ।
अमेरिकामा चाहीॅं” धन्यवाद दिवस” को भोलीपल्टदेखि क्रिसमसको उपहार किन्न चटारो शुरू हुन्छ ।

उपहार आफ्नो घर परिवार अनि नातागोता, इष्टमित्रलाई त जसरी नी दिनै पर्यो तर साथसाथै आफुसॅंग काम गर्ने साथीहरूलाई, बच्चाको टिचरलाई, कपाल काट्नेलाई, डाक्टरहरूलाई, अरू कोही मनले खाएकाहरूलाई पनि “धन्यवाद”स्वरूप दिने गर्छन अमेरिकनहरू।

हुन त हामी सानोमा हुॅंदा अहिले जस्तो ठुलै,भव्य किसिमले नभएनी, हाम्रो जन्मदिनमा, मन्दिर गएर पुजा गरेर, मिठो खिर, मिठाई,फलफुलहरू,भए कुनै बर्ष नयाॅं लुगा नै वा केही नगद तथा आशिर्वाद ठुलाबडाबाट पाइन्थ्यो नै।तेस्तै अहिले पनि दशैंमा दक्षिणा, तिहारमा पनि अनि बिभिन्न चाडपर्व वा श्राद्धमा दक्षिणा दिने गरिन्छ, नेपालीको चलन अनुसार शायद यसैलाई नै त मान्ने होला“ उपहार”!

त्यस्तै क्रिसमसको अर्को आकर्षण भनेको “सान्टा” सॅंग केटाकेटीहरूको फोटो खिचाउने हुन्छ। सान्टाको रूप चाहीॅं, सेतो लामो दाह्री पालेको, मोटो, भुॅंडीवाल, रातोमा सेतो धर्का भएको टोपी र रातै लुगा लगाएको, कालो लामो बुट लगाएको हो। बिभिन्न सपिंग सेन्टरमा “ सान्टा” सॅंग फोटो खिचाउने ठाउॅं नै बनाएको हुन्छ अमेरिकैभरी।

ओहो, घण्टौं लाइनमा बसेर केटाकेटीहरूको सान्टासॅंग फोटो खिचाउॅंछन, कोही केटाकेटीहरू त आफुलाई के के उपहार चाहिएको छ क्रिसमसमा त्यो पनि भन्न भ्याउॅंछन् सान्टालाई, कोही केटाकेटीहरू चाहीं सान्टालाई देखेर, डराएर,रूवावासी नै गर्छन्। रमाइलो प्रशंग, एकदिन बेलुका त कुकुर, बिरालाहरू धमाधम सपिगं सेन्टर भित्र लग्दै गरेको देखें, किन रहेछ बुझ्दा त “ सान्टा” सॅंग फोटो खिचाउन रे, ठिकै हो जनावार पनि परिवार कै सदस्य भएपछि, किन तिनीहरूलाई छुटाउने त।
अब कुरा गरौं संसारभर छरिएका हामी नेपालीले मनाउने”क्रिसमस र क्रिसमसको उपहारको”।

ईसाई धर्म मान्नेले त सबैभन्दा महत्वपुर्ण चाड “ येशुको जन्मदिन” धार्मिक हिसावले धुमधामका साथ मान्ने नै भए। तर अरू नेपालीले मान्ने भनेको सामाजिक वा रमाइलो नै हो। “देश गुना भेष” भन्या जस्तो एकत यहीबेला स्कुल, क्याम्पसको लामो बिदा हुन्छ, बजारमा पनि जताततै छुट लागेको हुन्छ, चाहिने सामान किन्यो, काममा पनि अरूबेला एकआपसमा अलिक झर्को फर्को गर्ने साथीहरू हाॅसीखुशी देखिन्छन, बिभिन्न किसिमका”क्रिसमस पार्टी “ हुने गर्छ।

रमाउनै पर्यो। त्यस्तै हामी बिभिन्न पेशा गरेर बसेका नेपालीहरू प्राय: सबैको काममा बिदा हुने हुनाले, भेटघाट गरौं न त मौकामा भनेर कसैको घरमा क्रिसमसको अघिल्लो दिन वा क्रिसमसको दिन, भेला भयो, एकआपसमा उपहार साटासाट गर्यो, मिठोमिठो खायो, रमाइलो गर्यो।

अन्तमा “जे गर्दा तिमीलाई खुशी मिल्छ तेही गर, विरोध गर्नेले त बिरोध गर्ने नै छन् चाहे केही गर या नगर”

शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया