सामुदायिक केन्द्र, हामी नेपाली र प्रतिमा भाउजु !

गुणराज लुइटेल, भर्जिनिया २०७६ पुष १३ गते १७:०६ मा प्रकाशित

 

गुणराज लुइटेल ,भर्जिनिया । हिजो मात्रको कुरा हो नेपाली सामुदायिक केन्द्रको सदस्यता विस्तार गर्ने सिलसिलामा मैले विगत २२ वर्षदेखि स्टर्लिंग, भर्जिनिया निवासी पुराना नेपाली विद्वान व्यक्तित्व डा. दुर्गानाथ रिमालसरलाई सम्पर्क गरें। सर्वप्रथम त उहाँको नातीले फोन रिसिभ गर्नुभयो, उहाँले अंग्रेजीमा बोल्नुभयोर भन्नुभयो- दुर्गा सर अहिले आराम गर्दै हुनुहुन्छ! हुनपनि धेरै पुरानो व्यक्ति, बुढाबुढी शरीर थाक्नुभयो होला भन्ने सोचें । पछि केही बेरको प्रतीक्षा पछि फोनमा बोल्ने अवसर मिल्यो ।

उहाँसँग करिब २ वर्ष अगाडि मैले पोटोम्याक स्थित उहाँको निवासमै भेटघाट गर्ने अवसर पाएको थिएँ । त्यसबेला दुर्गा सरका पुराना अनुभवहरु, दरबार हाइस्कुलमा उहाँले पढ्दाका संस्मरणहरु,त्यसपछाडि सन् १९५१ तिर अमेरिका भ्रमण गर्दाका संस्मरणहरु, अमेरिकाको पढाइ सकेर नेपालपुगी त्यहाँको खानी तथा भूगर्भ विभागको पहिलो निर्देशकको रुपमा काम गरेका अनुभवहरु, फेरि  अमेरिका आएर पीएचडी गरि यहाँ अमेरिकाको भूगर्भ क्षेत्रमा उहॉले पुर्याएको योगदानका बारेमा आधि दिन नै कुरा गर्ने मौका पाएको थिएं ।

यसको अलावा जीवन, संघर्ष र सफलताबारे उहाँले मलाई धेरै कुराहरु बताउनुभएको थियो । भाउजु प्रतिमा उहाँको साथै हुनुहुन्थ्यो त्यसबेला । आफ्ना नातेदार र पुराना राजखानदानीका बारेमा भाउजुले पनि दुर्गा सरलाई सघाउंदै मलाई सुनाउनु भएको थियो । प्रतीमा भाउजुले सकि नसकी चिया बनाएर विभिन्न थरिका कुकीहरू खानुस् बाबु भन्दै टेबुलमा ल्याइ दिनु भएको थियो ।

त्यतिबेला मलाई लाग्छ दुर्गा सर भन्दा प्रतिमा भाउजु निकै स्वस्थ्य हुनुहुन्छ। यो सारै दुर्लभ भेटघाट थियो मेरो उहॉहरुसंग । अनि मैले दुर्गा सरलाइ सोधेको पनि थिए दुर्गा सर हजुरको धेरै पुरानाअनुभवहरु छन्, ती अनुभवहरुलाई एउटा लिपिबद्ध गराउन केही संचारमाध्यम मार्फत अन्तरवार्ता गराउन मन छ कसो गरौं भनेर । प्रतिमा भाउजुले यो सारै राम्रो कुरा हो तर दुर्गा सर त्यत्ती राम्रोसङ्ग कान सुन्नुहुन्न, उहॉलाई कान सुन्ने साधनहरु चाहिन्छ जसले गर्दा अलिकति समय मिलाएर अन्तरवार्ता गर्नु पर्ला भन्नुभयो । मैले नेपाली समुदाय यो डिसी मेट्रो क्षेत्रमा र अमेरिका भरि धेरैफैलिएको छ, ठूलो संख्यामा नेपालीहरु अमेरिका आएका छौं, यहाँ धेरै नेपाली सामाजिक काममार अमेरिकी समाजको भित्री भित्री क्षेत्रमा पनि प्रवेश गरिरहेका छन् ! हजुर जस्तो धेरै पुरानो रसिनियर व्यक्तित्वले अलिकति नेपाली समाजमा पनि हेर्नुपर्यो । यहाँका विभिन्न सामाजिक गतिविधिहरुमा guidelines गर्नुपर्यो-साहित्य, बाल बच्चाहरुको नेपाली पढाइ, अनि यहाँ मन्दिर, भवन निर्माणहरु लगायतका गतिविधिहरूमा हजुर अलिकति सहभागी भई दिनु पर्यो भन्ने अनुरोध पनि मैले गरेको थिएँ ।

उहॉले भन्नुहुन्थ्यो- होइन अलिक असन्चो हुन्छ, अहिले अलिकति बुढेसकाल पनि भयो, अनि हामी विदेशीहरुले जस्तो सक्रिय भएर आफ्नो लक्ष्यमा आफ्नो दायित्वमा काम गर्नु पर्ने त्यो गर्दैनौँ त्यसैले मलाई अगाडि बढेर जान अलिक मन लाग्दैन, सामाजिक सञ्जालहरुमा जान पनि त्यतिमन लाग्दैन भनेर दुर्गा सरले भन्नुभयो ।

त्यतिबेलाको कुरा त्यस्तै भइरहेको थियो अनि गत साल पनि मैले एकपल्ट फेरि दुर्गा सरलाई फोनगरें । अन्तर्वार्ता गरेर तपाईंका अनुभवहरुलाई नेपाली समक्ष राख्न मलाई धेरै मन लागिरहेको छ, मैले down-to-earth भन्ने एउटा प्रोग्राम पनि चलाउँछु त्यसमा हजुरका विचारहरु प्रस्तुत हुँदानेपाली दाजुभाई

दिदीबहिनीहरुले पनि सुन्न पाउनु हुन्छ भनेर अनुरोध गरें । सरले फेरि भन्नु भयो – भयो बाबु अब यो सामाजिक संजाल, मिडिया, पत्रपत्रिकामा अतिथि मेरो नाम ल्याउन म चाहन्न, अब म अलिकबोल्न पनि सक्दिन ।

गत साल मैले फोन गर्दा फोन गर्दा प्रतिमा भाउजुले उठाउनु भएको थियो र भाउजूले फेरि पनि राम्रैहुन्छ, अन्तरबार्ता गर्दा हुन्छ पनि भन्नुभएको थियो । उहॉले मलाई तिमी र तिम्रो श्रीमतीलाई लिएर खाना खानेगरी आउनु है भनेर पनि मलाई भन्नुभएको थियो ।

यतिकैमा समय बित्दै गयो उत्तरी भर्जिनियाको नेपाली समुदाय सामुदायिक केन्द्रको निर्माणमा एकजुट भयो । त्यस समय फोन गरें तर फोन उठेन । सप्ताह लगाइयो, लगभग २ मिलियन भन्दाबढीको दान प्रतिबद्धता भयो । अनि यो हर्षको कुरा सुनाउन मैले दुर्गा सरलाइ फेरी फोन गरेकोथिए तर करिब ४-५ दिनको फलोअपमा पनि उहॉहरुको फोन उठेन । उहॉहरु घरको ल्याण्डलाइन फोन चलाउनु हुन्थ्यो ।

फेरि मैले बूढा पनि मान्छे, केही बिरामी हुनुभयो, पछि फोन गरौला भनेर छोडें । अनि हाल आएर नेपाली समुदायले मनासस स्थित एउटा चर्चको जमिन र भवनहरु खरिद गर्ने चरणमा एकजुट भएरअगाडि बढिरहेको अवस्थामा अब यो कुरा दुर्गा सर र भाउजुलाई सुनाउँछु र सहयोग र सहभागिताको याचना पनि गर्दछु भन्ने सोचेर सम्पर्क गरें।

दुर्गा सर लगायत वहाँका पुराना साथीसँग समेत सम्पर्क गरेर उहॉहरु सबैको सहभागिता गराउनलाई अनुरोध गर्दछु भन्ने सोचेको थिए । त्यसैले अघि भने झैं हिजोमात्र फेरि मैले फोन गरें । फोनमा कुरा गर्दा मैले फेरि पनि हाम्रो सामुदायिक अभियान अनि उहॉको अन्तर्वार्ता लगायतकाकुरा उहाँसँग गरें ।

उहॉले भन्नु भयो- बाबु समयले अलिकति हामीलाई अगाडि धकेलि सक्यो, प्रतिमा भाउजु तिमी हामी बीचमा अव रहनुभएन, उहॉ बित्नुभएको पनि आज चार महिना भइसक्यो। अफ् यो कुरा सुनेपछि म छाँगाबाट खसेजस्तो भएं । कसरी पत्याउने त्यस्तो राम्रो व्यक्तित्व, सवैलाई त्यति आदरभाव गरी सत्कार गर्ने र हेर्दा स्वस्थ्य देखिने प्रतिमा भाउजु स्वर्गबास हुनु भयो भन्दा ।

म र मित्र शिव लामिछानेलाई चिया बिस्कुट खुवाउनु भएको क्षण झलझली सम्झना आयो । मैलेफोन गर्दा हरेक चोटी परिवार सदस्य लिएर भेट्न आउनु है भन्नुहुन्थ्यो । यस्तो व्यक्तित्व अचानक क्षणभर मै गुमेको कुरा सुन्न पर्दा भित्री मनमा कॉडा रोपिए जस्तो भयो । भित्र आत्मादेखि नै असैह्यपीडा पनि भयो । त्यसपछि हिजो रातभरि सोचिरहें । हैन हामी नेपालीहरु यत्रो ठूलो संख्यामा यहाँडिसी मेट्रो क्षेत्रमा रहंदा पनि किन कसैलाई थाहा भएन प्रतिमा भाउजु ब्रम्हलीन हुनु भएको कुरा ?

कति नेपालीले उहाँको देहान्त भएको, दाहासंस्कार भएको कुरा सुन्न पाए त, कति मलामी जानसकियो, कतिले भेटेर स्वास्थ्य लाभको कामना गर्न पाइयो त? यो भन्न सक्ने अवस्थामा म छैन ।

आखिर यहाँ समस्या के छ त?

आखिर यहाँ समस्या के छ त ? जस्ले यत्रो पचास वर्ष अमेरिका बसेका नेपालीलाई समुदायले जोड्न सकेन वा उहॉहरु जेडिन सक्नु भएन ? हामी यत्रो सामुदायिक केन्द्रको निर्माण गर्ने, एउटै क्याम्पसको निर्माण गरेर त्यसै भित्र बालबच्चा पढ्ने नेपाली स्कूल देख मन्दिर र सामुदायिक भवन  सम्मको कुरा गरिरहंदा र नेपालीहरूको एउटै जमघटको थलो बनाउने भनेर हिंडिरहंदा आफैंल्आफैंलाई प्रश्न गर्नु पर्ने अवस्था आएको छ । सन् 50 को समयमा अमेरिका आई 20 वर्षदेखि यसै उत्तरी भर्जिनियामा बसोबास गरिरहेका अतिनै पुराना परिवारका सदस्य प्रतिमा भाउजुको देहान्तमा हामी कोही पनि सहभागी हुन सकेनौं, हामीले देख्न सुन्न र बोल्न समेत पाएनौं!

कस्तो बिडम्बना ! एउटै दुःखको कुरा के भन्न सक्दँछु भने म आफैंले व्यक्तिगत रुपमा यो कमजोरीमा माफी माग्नुपर्छ, म आफै दुःख व्यक्त गर्न चाहन्छु र यसको सम्पूर्ण दोष पनि म आफूलाई नै दिन चाहन्छु ! आखिर त्यो पुलको काम गर्न नसकेको मैले पनि त हो नि!

समाजलाई मात्रै दोष दिनसक्ने ठाउँ पनि छैन! अध्ययनको पाटो के छ भने आखिर यो समाजमा दुर्गानाथ रिमाल जस्ता विद्वान, पुराना व्यक्तिहरु किन सक्रिय छैनन् । उहाँहरुमा नेपाल र नेपालीलाई चिनाउने आत्मशक्ति किन आउन सकेन ! उहॉहरुका जोस र जॉगर किन मरे ?

दायित्वको हिसावले हेर्ने हो भने त उहाँ पुरानो हो र खासमा भन्ने हो भने वहाँहरु जस्तैव्यक्तित्वहरुले हामीलाई नेतृत्व गर्नुपर्ने हो, उहाँले हामीलाई नेतृत्व दिन सक्नु पर्दथ्यो तर यो हुन सकिरहेको छैन ! यसको निदान यहॉ गर्न खोजिएको पनि हैन । दुर्गा सर जस्तै अरु कति नेपाली विद्वानहरु डिसी मेट्रो क्षेत्रमा छरिएर रहनु भएको होला । कसरी उहाँहरुलाई हाम्रा सामाजिकअभियानहरुमा एकै ठाउँमा लिएर आउन सकिएला ? अनि किन प्रतिमा भाउजु जस्ता पचासौं वर्ष अमेरिका बसिसकेका व्यक्तित्वहरू मर्दा र पर्दा, उहाँहरूको देहावसान हुँदा दुई चार जना हामी जस्ता समाजमा चासो राख्ने व्यक्तिहरूले भेट्नसम्म नपाउने, हामीले भेटेर दु:ख समेत व्यक्तगर्न नपाउने एक पल्ट हामी सबै घोत्लिनु पर्ने पो हो कि ?

गत सेप्टेम्बरमै स्टर्लिंगमा भाउजुको देहवसान भएपछि डा दुर्गा अहिले छोरीको घर हर्नडनमा बस्दै हुनुहुंदो रहेछ । यस संस्मरणमा दुर्गा सर र उहॉको परिवारमा कतै आंच पुगेको भए क्षमा चहान्छु, एक्स्क्युज गरि दिनु हुने छ ।

प्रतिमा भाउजु प्रति हार्दिक हार्दिक श्रद्धान्जली, हृदयबाटै दुःख व्यक्त गर्दै भाउजुको स्वर्गमा बासहोस भन्ने प्रार्थना पनि गर्न चाहन्छु! बन्न लागेको सामुदायिक भवनको सफलताको लागि स्वर्गबाटैशुभकामना दिनुहोला ! मन्दिर निर्माण भएपछि दुई थुंगा फूल हजुरको संझनामा चढाउंने छौं ।

प्रतिक्रिया