जन्मनु अघी नै बेबीसावर गरौ र पुरुष पनि मनोरन्जन गर्दै संजालमा लाइभ हालौ -क्रिस्मसको शुभकामना

बिरकाजी बस्नेत २०७६ पुष ९ गते १५:४७ मा प्रकाशित

बिरकाजी बस्नेत ,आज विश्वभरी धुमधामका साथ क्रिश्मस यसुको जन्मको रुपमा मनाइदै छ । मनाउने सबैलाई हार्दिक शुभकामना । यिसुको जन्म भएको करिब २०० बर्ष सम्म क्रिस्मस मनाइदैन थियो । अहिले सम्म पनि यिसु कुन मितिमा जन्मेका हुन भन्ने प्रामणिकता छैन । सबै टाउकोमा रातो टोपी र झिल्मिल रुखको छेउमा बसी सेल्फी खिचाउन ब्यस्त छन । यसमा कसैले इर्स्या गर्न जरुरी छैन आ -आफ्नो खुशी र अधिकारको कुरा हो । यो सामन्ती ढाका टोपी नभएकाले खास गरी नेपालमा यसको बहस जरुरी छैन । संचार माध्यमले पनि बहस चलाऊन जरुरी छैन किनभने यो दसै चाड पनि त होइन । त्यसैले त आङ काजी भन्नेहरुलाई पनि रिस उठ्दैन । यो नेपाली जनजाती माथि लादिएको पनि होइन । किनकी यो बिभिन्न ब्राण्ड्को रक्सी पिएर रमाइलो गर्दै मनाइन्छ ।

असली विद्वानहरुलाई पनि यसको बारेमा दृष्‍टिकोण सार्वजनिक गर्दै लेखहरुको बिष बमन गर्नु पनि छैन । किनकी यसले कृष्ण भट्टचनको थकाली संस्कारलाई पनि घाटा पुरयाएको छैन । नत यसले मधेसमा २४० बर्ष देखी बिभेद नै गरेको छ । यो त खाली हिजोको १३ बर्षमा १३ हजार चर्च लिएर गणतन्त्र पछी नआएको हो ।

बरु यसले सिकेलाल र रावतलाई अथाह चेतना र जागरण ल्याइदिएको छ । यो त संघियता आए पछी न आएको हो । न त यो बाबुरामको लागि बिकसित हुन बाधा गर्ने रुढिबादी अन्धबिश्वासी हिन्दू धर्म नै हो । नत भगवान नमान्ने द्वन्दात्मक भौतिकबाद र बिज्ञान अनुसार चल्ने राजनीतिक नेताहरुको लागि यसले अप्ठ्यारो पारेको छ । जमना आधुनिकीकरण र भुमण्डलीकरण को पो हो त ।

हामीले पुराना रुढीबादी जंजिरहरु भाचेर भए पनि यो मनाउनु पर्छ नत्र संसारमा अरु भन्दा धेरै बर्स पछी परिने खतरा छदैछ । हामी बेलायत जस्तो राजा हुन चर्च अफ इङ्लयाण्डको सदस्य हुनै पर्ने खाले पनि त होइनौ । यो पर्ब मनाउदा पापी बनेर जन्मेका हामी कर्मले पाप वा धर्म जे गरे पनि पवित्र हुने र पाप पखालिने र स्वर्गको बाटो देख्ने अनी पुग्ने खाले पो हौ । हाम्रा बाजे बराजु नजानेर या यो धर्म नमानेर र यो पर्ब नमानेर पापिको पापी भए ,स्वर्ग त पुग्ने कुरै छैन ।

हामी आधुनिक बुद्धिवान बाजेहरु जस्तो अन्धबिश्वासी ,रुढीबादी त हुनु नै भएन । अझै हामी असभ्य र जंगली भएर बसी रहने ? यो त यस्तो धर्म अन्तर्गतको चाड हो जो सर्ब प्रिय छ ,विश्वाब्यापी छ । के अहिले पनि हामी विश्वबाट अलगथलग बस्न सक्छौ ??? यो संसार भरी समानुपातिक र पूर्ण समाबेशी भएर पुगेको छ ।

यो यस्तो कुरा हो जसको अनुसरण गर्दा अन्धो देख्न सक्छ ,बहिरो सुन्न सक्छ ,लाटो बोल्न थाली हाल्छ ,कुजो हिंड्न सक्छ । यो धेरै शक्तिशाली छ झन्डै झन्डै ग्यालिलिओ र कोपर्निकस जस्ता महामुर्खहरुको ज्यान खाइदिएको । विश्वका मान्छे एक हौ ,विश्वका मजदुर एक हौ र यो धर्म अनी पर्ब मनाऔ ।

भ्रम नपर्नु यो कुनै साम्राज्यबादी पनि होइन न त दलाल पुंजीबादी नै हो । बरु कोही क्यान्सर लागेर अस्पातलमा छ भने उसको लागि प्रार्थना गरी दिउ के थाहा चट्टै निको पो हुने हो कि ? धन्न प्रभुको जो कृपा । जाडो भए पनि लेट्स स्नो भनौ ,भक्त भए पछी हामीलाई हानी गर्ने जाडोको के तागत ? नत्र दाह्रीवाला शान्ताक्लुजको ज्याकेटको पनि त ब्यबस्था छ । त्यतीले नपुगे सिण्गल माल्टको जो हो पनि त छ । लाखे जात्राले पाखे बनाउछ त्यसैले हलोविन मनाऔ ।

राष्ट्रपतीले व्यवस्थापकीय कमजोरी गर्दै घुंडा टेकाएर टिका लगाए सामन्ती चरित्रको बिकास गरेको ठानी भरपुर बौद्धिक बहस चलाऊ ,सके सामन्ती टिको बहिस्कार गरौ तर होलिवाइनको जमेर स्वागत गरौ र नै सन्तुलन कायम हुन्छ । दशैमा पशु हत्या गरी बली दिने कुराको सक्दो बिरोध गरौ र भेडा च्याङ्रा किनेर जङलमा छोडौ र पशु अधिकारको रक्षा गरौ जसलाई मासु खानु छ हत्या नगरि खाऔ ।

महादेव सत्तेदेवी ,सिता र राम वा राधाकृष्णको जस्तो प्रेम गरी लाज र गाल नपारौ बरु आधुनिक बनौ भ्यालेन्टाइनमा झुमौ बिदेशबाट आयतित फुलका गुच्छा प्रदान गरौ । महिला बिरोधी स्वस्थानी बहिस्कार गरौ जसमा छोरीले ८ रोटी पनि खान नपाउने ? बरु नदिमा बगाउने ? महादेव मरेको लाश बोक्दै हिंड्ने ? टोलमा संक्रमण सर्दैन ? दौरा र सुरुवालका झन्झटिला तुना बहिस्कार गरौ र महिलालाई डडाल्नोमा सजिल संग बाध्न मिल्ने हुनाले स्विकार गरौ ।

भ्याक्सिन लगाएर स्वस्थ भई बांच्न कुम तिर खुल्ला छोडौ । पुराना फाटेका लुगा लगाएर गरीब माग्ने नबनौ, कुकुरले दारेर छोडे जस्ता जिन्समा सजिएर जमाना अनुसारको मोडर्न बनौ । ईज्जत्वको सुरक्षा र शारीरिक सुरक्षाको लागि कपडा लगाउने काम बन्द गरौ । हात जोडेर नमस्कार गर्ने झन्झट त्यागौ र अंगालो हालेर हग थालौ । सर्वहारीभएकाले गाई खाने आन्दोलन सफल पारौ ,बाहुनको टुप्पी फालौ मन्दिर र मुर्ती मिल्काएर भौतिकबादी बनौ र खाली भएको ठाउमा यसो चर्च बनाऔ ।

संस्कृतिका किताब जर्मनलाई दिउ र उनिहरुबाट टेस्टामण्ट् ल्याउ । पुराना तिन्धारा फालौ मदरसामा अली बढी नगद हालौ । बाहुनबादी पिडा भोगेका हामी ब्राउन (गोरे बादी )बादी उन्मुक्ती रोजौ । पुराना संस्कार सके सम्म त्यागौ ,जन्मनु अघी नै बेबी सावर गरौ र पुरुष पनि मनोरन्जन गर्दै संजालमा लाइभ हालौ ।

नामाकरण आँफै गरौ न्वारान त्यागौ । नाम आधुनिक राखौ । बाउको नाम भैरब र आमाको नाम सीता छ भने छोरीको नाम भैंसी राखौ । जन्मदिन आए पानसमा बत्ती बाली तेल खर्च नगरौ क्यान्डल सल्काउ र मुखले फुकेर निभाउदै बर्थडे मनाऔ ।

जन्मदैका वीर हामी फागु आउँदा लोला र हिलो चेली बेटीलाई हानौ र बिरता पूर्वक उक्त पर्ब मनाऔ । २४० बर्ष अघिका सम्पदा फालौ किनकी हामी बिनास पछी नब निर्माण हुने बिज्ञान सम्मत बिचार बोक्ने वाला हौ ।

हामीले प्रतिगामी पुराना उद्योग बिनास गरेर अनुभव हासिल गरी पनि सकेका छौ । पर्व ,संस्कार ,खानपान ,बोलचालमा विश्व नागरिक बनौ कहिले सम्म बसुधैब कुटुम्बकम भनी रहने कती भनिरहने ?

सामन्ती राष्ट्रबादी वा महेन्द्रिय राष्ट्रवाद भत्काउ र आधुनिक प्रगतिसिल महेन्द्र चौधरिय राष्ट्रबादी बनाऔ । वास्तविक र चैते क्रिस्चियन सबैमा क्रिस्मसको र क्रिस्चियनकरणको शुभकामना !!!

प्रतिक्रिया