निजगढ विमानस्थल निर्माणप्रति चिन्ता : ‘अनावश्यक बखेडा झिक्न खोजियो’

इनेप्लिज २०७६ मंसिर २५ गते ८:२७ मा प्रकाशित

बारा । बाराको निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएपछि स्थानीय सरोकार समिति चिन्तित बनेका छन् ।

विमानस्थल निर्माण कार्यलाई प्रभावित पार्न न्यायालयमा समेत चलखेल सुरु भएको सरोकारवालाहरुको ठहर छ ।निजगढ विमानस्थलको चार किल्लाको सीमांकन, तारबारको काम पूरागरी अहिले दुई ठूला नदी नियन्त्रणको काम जारी छ ।

तर गत शुक्रबार सर्वोच्च अदालतले विमानस्थल निर्माणको कार्य तत्काल अगाडि नबढाउन आदेश दिएसँगै सरोकारवालाको चासो बढेर गएको हो । पटक पटक वातावरणको विषयलाई मुद्दा बनाई बखेडा झिक्न खोजिएको आरोप आयोजनाले लगाएको छ ।

गत मंसिर १ गते प्राविधिकसँगै विमानस्थलको अवलोकन गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि विमानस्थल बन्न नदिन अमुक शक्ति बलियो ढंगले लागेको जिकिर गरेका थिए ।

१ लाख २९ हजारको हाराहारीमा रुख काटिने भए पनि २४ लाख रुख काटिने हल्ला गरिएको आयोजनाले बताउँदै आएको छ ।

केही दिनअघि निजगढ पुग्नुभएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले निजगढ विमानस्थल निर्माणमा अवरोध आए जनतासँगै आफू पनि आन्दोलनमा जाने उद्घोष गरेका थिए ।

वातावरणीय विनाश निम्तिने भन्दै पूर्वसचिव द्वारिकानाथ ढुंगेल, सुकदेव खत्रीलगायतले सर्वोच्च अदालतमा दिएको रिट निवेदनमा सर्वोच्चले रूख काट्ने, निर्माणस्थलबाट बुट्यान हटाउने लगायतका काम अघि नबढाउन आदेश जारी गरेको छ । यस निर्णयले सरोकारवाला पक्षसहित स्थानीयसमेत चिन्तित बनेका छन् ।

 

प्रतिक्रिया