मंगलबार, माघ ७ २०७६
काठमाडौं ०२:५१
वासिङटन डिसी 16:06

पोर्चुगलमा ‘वर्क परमिट ‘ को पिडा : ३-३ महिनासम्म बेरोजगार, स्पोन्सर कम्पनी भन्छ ” अन्तै काम खोज “

गणेश पाण्डेय , पोर्चुगल। २०७६ मंसिर २४ गते २२:५१ मा प्रकाशित

गणेश पाण्डेय , पोर्चुगल।

खुकुलो आप्रवासी नीतिका कारण पोर्चुगल धेरैका लागि रोजाईको पहिलो र अन्तिम गन्तब्य बन्दै आएको छ। युरोपको विभिन्न देश हुदै पोर्चुगल अन्तिम गन्तब्य बनाउनेहरुको संख्या पनि उत्तिकै वृद्धि भएको छ।

पछिल्लो समय वर्क भिषामा पोर्चुगल आउनेहरु पनि उत्तिकै छन्। दलाल मार्फत पोर्चुगल आउनेहरुको पिडा बखान गरेर साध्य छैन। वर्क परमिट भिषामा पोर्चुगल आउनेहरुको पिडा झनै खपिनसक्नु छ।

गएको ६ महिनामा मात्रै दलालमार्फत् पोर्चुगल वर्क भिषामा ४ लटमा नेपालीहरु आइपुगे। १२-१२ लाख तिरेर पोर्चुगल पुगेका उनीहरु अधिकाँस बेरोजगार छन्। वर्क भिषामा पोर्चुगलबाट स्पोन्सर गर्ने कम्पनीले काम नदिएपछि प्रायः सबै बेरोजगार भएका हुन्।

पछिल्लो समय सेप्टेम्वरको पहिलो साता मात्रै २२ जना नेपालीहरुको टोली नेपाली दलाल मार्फत १२-१२ लाख बुझाएर वर्क भिषामा लिस्बन ओर्लियो । लिस्बनको एयरपोर्टबाटै सिधै जम्बोईजिरा लागिएको नेपालीहरुको टोली वर्क भिषामा पोर्चुगल आएको ३-३ महिना भईसक्दा पनि बेरोजगार छन्। उनीहरु फ्रुतास क्रुशेइरो नामक कम्पनीमा वर्क भिषामा आएका थिए।

झापाका अमिर शाहले भोइस अफ नेपालसँग भने ” घरखेत बैंकमा बन्धकी राखेर ऋण गरेको आएको। १२ लाख दलाललाई बुझाएको ६ महिनापछि बल्ल भिषा आयो। भिषाको कपी दिएपछि पनि २-३ महिनासम्म नेपालमै कुराए। कामको करारमा ६०० युरो मासिक तलब र बस्न खानको व्यवस्था उल्लेख थियो। अहिले आएर कम्पनीले वर्क परमिटको समय नै सकियो अब काम दिन सकिन्न भनेर बिचल्ली बनायो।”

काठमाडौँका मनोज शर्माको पनि उस्तै कथा छ। ” कलेजमा ब्याचलर पढ्दापढ्दै साथीको लहलाहमै साथीसंगै पोर्चुगल आए। यहाँ आएपछि न काम छ , न बस्ने ठेगाना नै। खेतको बिचमा बाकसको डिब्बा जस्तै कन्टेनर घरमा बसेको पनि ३ महिना भयो। अहिले आएर स्पोन्सर कम्पनीले नै अन्तै काम खोज भनेपछि अब हामीले कहाँ काम खोज्ने र नेपाल घरमा खै के भनेर खबर गर्ने ? ”

कतारको एक लाख ५० हजारको जागीर छोडेर कार्डको लागि १२ लाख तिरेर पोर्चुगल आएका पोखराका काजी गुरुङ भन्छन् , ” कतारमा कमाई राम्रो थियो। खानपान र बस्ने व्यवस्था पनि राम्रो थियो। युरोप भन्नु मात्रै रहेछ, गाईको गोठ जस्तो छाप्रो डिब्बाको घरको बास छ , न राम्रो खाना , न राम्रो बसाई , न कमाई नै। अब त काम पनि छैन। नजिकको पसल पुग्न पनि करिब २ घण्टा हिड्नुपर्छ। ” ३ महिनाको अवधिमा सालाखाला २ हप्ता मात्रै काम गरेको बताउछन् उनि।

काभ्रेका रोशन खड्काले भने , ” एनआरएनका एक नेताले मलाई यहाँ पठाएका हुन्। स्पोन्सर कम्पनीले काम नदिएपछि अचेल एक जना भारतीयको कम्पनीमा काम गरिरहेको छु। उनको पनि खेती कम्पनी आफ्नो रहेनछ, खेती कम्पनीमा मान्छे सप्लाई गर्दारहेछन्। मलाई त्यहाँ पनि एनआरएनए कै एक नेताले पठाएका हुन्। ऋण गरेर आएको १२ लाख तिर्नपाए म नेपाल फर्किन्थे। ”

भक्तपुरका प्रविन प्रजापति भन्छन् , ” मैले अमेरिका र अस्ट्रेलिया धेरै पटक अप्लाई गरे, भिषा मिलेन। अन्तमा दलाल मार्फत १२ लाख बुझाएर पोर्चुगल आइपुगे। जस्तोसुकै कठिन परिस्थिति आएपनि मेरो उद्धेश्य भनेको यहाको कार्ड बनाउनु हो। तर आएदेखि नै ओलिभ टिप्ने काममा छु। शुरु शुरुमा निकै गाह्रो हुदो रहेछ, अब बानी पर्यो। ”

वर्क भिषामा पोर्चुगल आएका अधिकाँसको कथा र व्यथा उस्तै छ । स्पोन्सर कम्पनीहरु आप्रवासी कामदारलाई पोचुगल प्रवेश गर्ने माध्यम मात्रै हुदै आएका छन्। यहाँ पुग्दा अधिकाँसले स्पोन्सर कम्पनीमा काम पाएका छैनन्।

स्पोन्सर कम्पनीले काम नदिदा खेतीका कम्पनीहरुमा म्यानपावर सप्लाई गर्ने एजेन्ट कम्पनीमा काम गर्न बाध्य छन् वर्क भिषामा आउनेहरु। कामको पनि ठेगान नहुदा धेरै कामदारहरु मानसिक तनाब र डिप्रेशनको शिकार हुदै आएका छन् भने कयौ दुर्व्यसनीमा लागेका पनि भेटिएका छन्।

प्रतिक्रिया