राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिइन्न: रक्षामन्त्री पोखरेल

इनेप्लिज २०७६ मंसिर २३ गते ११:१७ मा प्रकाशित

काठमाडौं, मंसिर २३ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राजनीतिको संरक्षणमा हुने भ्रष्टाचारलाई छुट दिन नहुने बताए ।

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवसको सन्दर्भमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंमा गरेको कार्यक्रममा उनले राजनीतिक आवरणमा हुने भ्रष्टाचारमा आँखा नचिम्लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरे ।

ठुला र साना मछामा विभेद नभइ भ्रष्टाचारलाई निरुत्साहन र सदाचारलाई जीवन पद्धति बनाउनु पर्ने उनको भनाइ थियो ।

भ्रष्टाचारको अन्त्य नभएसम्म सरकारको समृद्ध नेपाल सुखी नेपालीको सपना पूरा नहुने भन्दै भ्रष्टाचार नियन्त्रणमा सबै एक जुट हुनु पर्ने मन्त्री पोखरेलको भनाइ थियो ।

मन्त्री पोखरेलले भ्रष्टाचारबाट टाढै रहने र अरुलाई पनि भ्रष्टाचारबाट टाढै राख्ने संकल्प गर्नुपर्ने बताए ।

नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको भन्दै भ्रष्टाचारमुक्त मुलुक बनाउन सबै क्षेत्रको सहकार्य आवश्य रहेको बताए ।

भ्रष्टाचार गर्ने जो कोहिलाई कानूनी दायरामा ल्याइने उनीहरुको भनाइ थियो ।

ट्रान्सपेन्सी इन्टरनेशनल नेपाल च्याप्टरका अध्यक्ष खेमराज रेग्मीले कानूनी शासन स्थापित नभएसम्म भ्रष्टाचार नियन्त्रण असम्भव हुने बताए ।

उनले अघिल्ला बर्षभन्दा भ्रष्टाचारको दर बढ्दो क्रममा रहेको भन्दै नेपाल भ्रष्टाचार गर्ने ३१ औं मुलुकमा रहेको जानकारी दिए । रेग्मीले जवाफदेहिता, पारदर्शीता र सदाचारमा ध्यान दिन पनि आग्रह गरे ।

यस बर्ष भ्रष्टाचार विरुद्धको सहकार्य सुशासनका लागि अपरिहार्य भन्ने नाराकासाथ भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ ।

प्रतिक्रिया