तीन जिल्लाको डेढ दर्जन स्थानमा गढीमाई मेला

इनेप्लिज २०७६ मंसिर १६ गते ११:३० मा प्रकाशित

सञ्जय मित्र, रौतहट

विश्वप्रसिद्ध गढीमाई मेला आइतवार रातिदेखि सुरु हुँदैछ । हरेक पाँच वर्षमा मंसिर महिनाको शुक्ल पञ्चमी तिथिदेखि सप्तमी तिथिसम्म मूल पूजा गरिन्छ । यस वर्ष मंसिर १५ देखि १७ सम्म पञ्चवर्षीय विशेष पूजा हुँदैछ ।

विश्वप्रसिद्ध गढीमाई मेला भर्न बाराको वरियारपुरमा लाखौँ मान्छे आइपुगेका छन् । भारतको कुना कुनाबाट श्रद्धालुहरु ओइरिएका छन् र अझै पनि आउने क्रम जारी छ ।

सबैभन्दा ठूलो गढीमाई मेला बाराको महागढीमाई नगरपालिकाको वरियारपुरमा रहेको मन्दिरमा नै लाग्ने गरेको भए पनि गढीमाई पूजाको सम्पूर्ण विधि र प्रक्रिया उस्तै हुने गरी मध्य तराईको तीन जिल्लामा करिब डेढ दर्जन स्थानमा यो मेला लाग्ने गर्दछ ।

बाराको महागढीमाई नपाको वरियारपुर र मधुरीगढी, जितपुर सिमरा उपमहानगरपालिकाको जितपुर, कलैया उपमहानगरपालिकाको सिंहासनी र पचानपुर, कोल्भी नपाको बेल्वा, बारागढी नपाको दौर्वाविशुनपुर्वामा गढीमाई मेला लाग्दैछ ।

रौतहटको गढीमाई नगरपालिकाको सुन्दरपुर, हर्दिया र बलुवामदनपुर, गरुडा नगरपालिकाको गेडहीगुठी र गम्हरिया, कटहरिया नगरपालिकाको दुधियाभार र बलिरामपुर, गुजरा नगरपालिकाको कनकपुर, वृन्दावन नगरपालिकाको आँकडपाथर र माधवनारायण नगरपालिकाको माधोपुरमा पनि आजैबाट विशेष पूजा तथा मेला सुरु हुँदैछ ।

यसै गरी सर्लाहीको रामनगर गाउँपालिकाको छोटौल र खैर्वा, बलरा नगरपालिकाको मिर्जापुर, कविलासी नगरपालिकाको जमुनियामा पनि गढीमाई मेला लाग्दैछ ।

भारतसित सिमाना जोडिएको तीन जिल्लाको डेढ दर्जनभन्दा बढी ठाउँमा स्थान छुट्याई तथा मन्दिर बनाई पूजा गरिँदै मेला लगाउने गरिएको भए पनि भारतमा भने गढीमाई मन्दिर रहेको सुनिएको छैन । भारतबाट बलिको लागि आउने पशुमा विभिन्न नाकामा रोक लगाइएको भए पनि भारतबाट पनि पर्याप्त पशु भित्रिएका छन् ।

गढीमाई मेलाको कारण आज आइतवारदेखि रौतहट र बाराका अधिकांश स्थानीय तहले चार दिन सार्वजनिक बिदा दिएका छन् । मंसिर १५ मा विवाह पञ्चमी र १७ मा गढीमाईको विशेष पूजाको प्रदेश सरकारले सार्वजनिक विदा घोषणा गरेको छ भने १६ र १८ मंसिरमा अधिकांश स्थानीय तहले सार्वजनिक विदा दिएको छ । कतिपय स्थानीय तहले भने यो साताभरि नै विदा दिएका छन् ।

रौतहट र बाराका अधिकांश सर्वसाधारणको सम्पूणै दैनिकी गढीमाई मेलाले गर्दा प्रभावित भएकोले संस्कृतिमा यस पूजाको प्रभाव व्यापक विस्तार भएको देखिएको छ ।

प्रतिक्रिया