‘काठमाडौं नेचुरोपेथीको सहयोगी बन्न मन छ’

इनेप्लिज २०७६ मंसिर १५ गते १२:५४ मा प्रकाशित

काठमाडौं, १५ मंसिर । काठमाडौंको बसुन्धरामा खोलिएको काठमाडौं नेचुरोपेथी अस्पतालको आइतबार औपचारिक उद्घाटन गरिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अस्पतालको उद्घाटन गर्दै प्राकृतिक चिकित्सा पद्दतीको अस्पतालको कामले निरन्तरता पाउनुपर्ने बताए । अस्पतालका सञ्चालक तथा अध्यक्ष गणेश पाण्डेलाई आफूले ढाड दुखेको बेला स्वास्थ्यलाभको कामना गरेको स्मरण गर्दै पोखरेलले भने,‘सायद त्यहि अनुभव र महशुश भएर होला बहुमुखी प्रतिभाका धनी गणेशजीले यो अस्पताल सञ्चालन गर्नुभयो ।’

आफू प्रतिनिधि भएको क्षेत्रमा खुलेको अस्पतालले सेवामूलक भएर जनताकै सेवा गर्न लागेको बताएका पोखरेलले भने,‘यहाँ जे जस्तो सेवा सुविधाको कुरा उल्लेख छन् ति जनतासँग गरिएको कमिटमेन्ट हो, अस्पतालको टिमले गरेको कमिटमेन्टमा कुनै कमजोरी नहुने मैले विश्वास लिएको छु ।’

कार्यव्यस्तताका बीच उद्घाटनको कार्यक्रममा आउने या नआउने दोधारमा रहेको अनुभव सुनाएका मन्त्री पोखरेलले भने,‘यदि म यहाँ नआएको, यो कार्यक्रममा नआएको भए गल्ती हुने रहेछ । स्वास्थ्यका हिसाबमा जान्नुपर्ने धेरै चिज रहेछन् ।’

अस्पतालका अध्यक्ष पाण्डेले यो अस्पतालले सेवा दिने र निरन्तरतामा कुनै सम्झौता नहुने जानकारी दिए । उनले अस्पताल सञ्चालन गर्नु कतिपयका लागि रोजगारीको अवसर समेत भएको र प्राकृतिक चिकित्सा पद्दतीको प्रबद्र्धन पनि रहेको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपत्यका पृतनापतिलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा विभिन्न बैंकका सिईओ, डेपुटी सिईओ, स्थानीय सरकारका अधिकारी र युवा व्यापारी करण चौधरीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया