मधेशतिर नून लिन जाँदाको ।

डिग बहादुर तामाङ्ग ,मेरिल्याण्ड, अमेरिका । २०७६ मंसिर १४ गते १:०४ मा प्रकाशित

माघे सग्रान्तिको दिन थियो, भेडापुलीहरुले अरुहरुले झै पुष महिनाको जाडो सकेर अलि फुर्सदको समय पारेर बारीको कुन्यौनिर पारीलो घाम तापेर  बसेर नरसिंह थोकोरले छोरा डगान्बालाई अराउदै भन्यो “ ए गान्बा चिलिम रि तमाखु जाङसी बौ” ए गान्बा तिलिममा तमाखु भरेर ल्याउ” म हुक्कामामा पानी फेरेर सफा गर्छु । बाबुको आज्ञाकारी छोरा, भित्र अगेनामा गएर, भर्खरै साँक्रन्तीको परेवाको मासुमा पिउठाने मुलाको चना मिसाएर पकाएकोे झोल, खड्कुला भरि पकाएको भात खाएर मात्रै सकेको अघेना भरि झरझराउदाको कोइलालाई चिम्टाले टिप्दै पहिले चिलीममा तमाखु हातले राम्रोसंग मिचेर राख्यो अनि माटोको पातोले तमाखुलाई छोपेर अगेनाको रातो कोइलाहरुलाई चिम्टाले टिप्दै चिलीम भरेर हातमा लिएर निस्के बाहिर गान्बा घाम तापेर बसेको बाउ ठाँउतिर । “ लौ बउ” ल्याउ यता भनेर भरखरै पानी फेरेको बाँसको सोतेमा माथी चिलिम राखेर एक सर्को तानेर बसेको मात्रै के थियो माथिल्लो घरको बिपाते बारीको कान्लामा बसेर “ दाई मलाई पनि एक सर्को तान्न दिनु है भनेर माग्यो । “थुङसम खउ” पिउने भए तल झरेर आउ न त । बिपाते फुत्त उफ्रेर तमाखु पिउन रमाउदै आईपुग्या्े । तेत्तिक्कैमा कालुमान पनि टुप्लुक्क आईपुग्यो । “काले स्या कान चापारि डोम्बो आखानी” मासु भात खान पाहुनाहरु कोहि आएनन ? आयो दाज्यू, म त दाजुसंग एउटा सल्लाह गर्नपो आएको, भन त के हो ? होइन दाई गहुँ छरि सक्यॊ आलुपनि खेतमा रोपि सक्यो घरमा नून र सुर्ती सक्यो बरु गोदारमा पो जाने हो कि भनेर आएको । घुडुटुट गरेर तमाखु तानेर लामो सर्को लिएर धुँवा आकाश तिर फयाँक्दै नरसिंहले कालमानको प्रस्ताबलाई स्वीकारेर “उसो भए कहिले हिँड्ने ? जान र आउन १२ दिन लाग्छ दाई जाने भए अर्को साताको आइताबार तिर हिँडौ न त । पहिले पहिले ल्हासाको सुन खासाको नुन भन्थ्यो हाम्रा बाबुहरुको पालामा दाई अहिले चिसोपानी गोदारमा खोले पछि पाउने नून पनि भन्दै बिपाते नरसिंह तिर हात बढाए सोते माग्न थाले ।
गान्बाले म्हा पाराङ थेन म्हा साइला नुन निपाता लाआपा –माइलो ज्योइ र साँइला ज्वोइहरु प्नि जाने होला नि बाबु ? उनिहरु भरखरै मात्रै गए भोलि गएर सोध्नु नि । एक कान दुइ कान झण्डै १५ जना जति गोदार जाने भए । गाँउघर तिर प्राय जसो ढाका र तोक्मा जोहो गरि राखेको हुन्थ्यो त्यतिखेरको समयमा । नहुनेहरुले मागरातीको बाबु छोरा बोलाएर बाँस र मालिङगोहरु कटाउन लगाएर ढाकर बून्न अराए । ढाकर बन्यो ।

हिँडने दिन आई पुग्यो चौबिस माना पिठो, झण्डै दुइपाथी भुटेको मकै भटमास, एक माना तेल नून खोर्सानी, गोल्टीनको बट्टाभरी झुसेतिल र कागती मिसाएको अचार, ओडने दोलई ओछाउने दरि पकाउने ताप्के सिलाबरको थाल सिलाबरकै कचौरा बोकेर निस्के सबैजना, गाउलेहरु थामी डाँडा, धनुखे सिमरास भएर सितलीको फलामे साँगु तरेर खिम्ती बेँसी हुँदै मन्थलीको बड्मानको बर र पिपलको बोटहरु मुनी छाहारीमा गएर सबैजनाले आ आफनो ढाकार बिसाए, तिनओटा ढुँगा जम्मा गरेर चुलो बनाएर, तामाकोशिको बगर तिर बुटयान तिर झिक्राहरु जम्मा गरेर सात आठ ओटा चुलो बनाएर ताप्के बसाए, कसैले घिउ कसैले तोरीको तेल एक चिम्टी हालेर, बलेको आगोमा ताप्के तात्न छिन भर पनि लागेन, डल्ले खोर्सानी फुराएर कसैले भटमासलाई संगै ताप्केमा हालेर भुटे कसैले मस्याङको पिठो मिसाए दाल बनाए, पाकेपछि थालमा खन्याएर ढिडोको लागि पानी बसाले, पहिले तेल तताए, त्यसपछि भटमास हाले त्यसपछि भिजाएको गुन्द्रुक हाले पानी हाले उमाले पछि, सिल्भरको थालमा खन्याएर फेरि त्यहि ताप्केमा ढिँडोको लागी पानी उमालेर ढिँडो ओडाल्न थाले । पानी उम्लेपछि पिठो हालेर ट्वाक ट्वाक आवाज निकाले सबैले पिठो र पानी मिसाएको तात्तातो ढिंडोको डल्लो चार भाग गरेर आआफनो भाग लिएर खाए, ढाकरको बाहिरापट्टि झुण्ड्याएर संगै लगेको बाँसको ढुंग्रोमा भरेको पानी पिउदै स्वादिष्टसंग भोजन गरे एक डफ्फामा १४ जना थिए । साँझ भैसकेको थियो तामा कोशिको शान्त आवाजसंगै पानी हाँसको आवाज आइ रहेको थियो । साथको सबैभन्दा उमेरले पाको कुमारीको बाउ मुसे बुढोले उर्दी जारी गरे “कोहि कोशीको बालुवामा नपस्नु बरु पल्लोपट्टि खोल्साको पानीमा भाडा माज्नु”। कारण थियो भास्सिएर कोशिले बगाउन सक्छन भन्ने निर्देशन थियो उन्को । बुडोखाडो जति तमखु भरेर सल्काउन थाले, ठिटोहरु तामाङ्ग जोहारी गीतको झटेर हानेर परबस्ने ढाक्रेहरुको  हुलतिर सुनाउन थाले, कोहि ओछयान लगाएर पल्टिन थाले । गीतको बोल थियो, “तामाकोशीको तिर तिर, बरपीपलको फेदमुनि जालमायाँ लाउने कोहि छन् कि”? भनेर एक चरण गीतको झटेरो एक पठाएको थियो भेडापुलीहरुको हुुलबाट, उताबाट सुरीलो स्वरमा महिलाहरुको आवाज आयो “जाल मायाँ लाउन खोज्ने को होला, आजको अधेरी रातमा, हामीहरु सुकन्या , आएका छौ माईतीको साथमा जिन्दगी हाम्रो एक बरको आज हो कि भोलि हो गरेर जौ न त रमरास”। गीतले कति समय लियो , त्यसपछि के भयो । भोलिपल्ट झिस्मिेसेमै कोहि खोक्न थाले, कोहि भजन गाउन थाले, आ आफनो भारीलाई कसेर हिंडन थाले ।

आआफनो भारी कसेर विस्तारै हिड्न थाले भेडापुलेहरु रनजोरको खहरे आउँन भन्दा पहिले नै मुसे बुढाले उर्ती सुनाए, “ रनजोरको खहरेमा पानीको अभाव छ यतै खाना खाएर रामेछापको उकालो लाग्नु” मुसु हास्ने रे नाम पनि मुसे राखेको रे । कालुमान र बाँयाँकाठको कालेको भान्सा संगै थियो । काले उमेरले १३ बर्षको थियो । कालुमान सैनुले फुपाज्यू पर्ने भएकोले, कालेको आमाले कालुमानको जिम्मा लगाएर पठाएको कालेलाई ।

नरसीङबुढाको उर्दी अर्कै थियो, “हामीहरु यहाँ एक घण्टा भित्र खाना खाएर यो खहरे पार गर्न भ्याउनु पर्छ । विवाहको जन्ती जाँदा नरसिङ बजाउनेको अघि अघि हिँडने रे त्यसैले उन्को नाम पनि गाँउले नरसिङ राखेको रे । मिठे, मगर, ढेवाहरुको एउटा भ।न्सा थियो, उनिहरु नै हुन रातभरी गीत गाइ बस्ने पनि । रामेछाप बाबियाखर्का अनि मोडाजोरको घाटमा पुगेर, दुई पैसा लिएर माँझीले सुनकोशी र तामाकोशी मिसिएर बगेको नदीमा डुङ तारि दिए सिन्दुली जिल्ला पट्टि पुगे । भरखरको ठिटाहरु, निकासी गाँउकी तरुनी थोकरस्याहरु गीत गाँउदै रम।ईलो गर्दै हिँडेकाले थकाईको महसुुस भएको जस्तो देखिन्न थियो ।

बिच्जोर खोलाको तिरैतिर भएर उकालो लागे, दिनको पाँच बजे तिर महाभारतको डाँडामा पुगे, “नरसिङको उर्दी जारी भयो, “आजको बास घ्याम्पे बेंसी मुनि” बाङ्गरिङ डाँडा भन्दा नजिक” भित्री मदेश शुरु भएर ओरालो करिब चार कोशजति हिँडेपछि, पुगे । पीपलको बा्ेट मुनि पुगेर सबैले आडोढेबाले सुनाए । आँगेटारको अंकारे, काजी र लामाटारको दातेको कमाउनेको एउटा भान्सा थियो  । रातीको समय चारैतिर जंगल बिचमा खेत एउटा पाटीमा धुलिखेलको साहु किराना सामानहरु राखेर पसल थापेर बसेको रहेछन् त्यहा पनि । मुसेले सुनाए “ होइन ए साहु खसी बाख्रा छैन” साहुले खसी चाँहि छैन एउटा बोका छ, दाम सात मोहर । मिठेर ढेबा बाख्राको खोरतिर गए, झण्डै सात धार्नी जतिको बोकालाई म्याह म्याह गर्दै डो¥यार ल्याए । बोकालाई छिनाए, रगती एउटा ताप्केमा थापे, मदेशमा दाउराको के खाँचो पोलपाल गरे नीकासीको हुलमा सात जना महिलाहरु थिए, उनिहरु नजिकैको खोलामा आगोको उज्योलमा बसेर आँन्द्र भुडी केलाउन गए । सहुघरमा ठूलो खडकुँलो रहेछन त्यसैमा भात पकाएर दामासाहिले चोक्टालाई झिकेर भाग लगाए, ढेबा, नरसिंह मुसेको रोहबरमा । आ आफनो ताप्केमा ढिँडो ओडालि सकेको थियो, सिलाबरको थालमा बोकाको मासुसंग ढिँडो ऐसेलुु ख्वाई भयो । ऐसेलुु जस्तै स्वदिष्ट भनेको । बुढाहरु र काले निदाए, जवानी ठिटा ठीटिहरु गीत गाँउदै थिए, गीत मात्रै होइन अन्तर आत्मा मिलेपछि के के गरे उनै इश्वर जानून । मदेशको ठाँउमा नरिसिंगे बुढालाई उज्यालो भयो उठ भन्नै परेन, लुँयचे बनैभरी, किकि किकि गरेर बास्यो, सबै उठे भारी कसे । बाङरिङ्ग ढुङरे हुँदै कमलखोँच निर पुग्यौं ।

कालेले पहिलो चोटि घर छोडेको । दनवार दनवारनी कहिले नदेखेको, घुँडाभन्दा माथि सेता लुगा, के जातीलाई मात्रै छोपेको नाइटो सम्म खोपेको टाउको माथी किया बोकेको स्वास्नी मान्छेहरुलाई पहिलो चोटि देख्द डरले थुरथुर । चुरेको डिलमा पुगेर बास बस्यौं । मचान रहेछ माथि तल भुइँमा भात खाएर माथि उक्लेर सुत्न पर्ने । राती तल बागको गर्जन सुनिन्थ्यो ह्वाँग हवाग, बुढाहरुले झन डराउन भनेर अनेक खिस्स राखेको झन डराउन भनेर खिस्सा हास्थे । भोलिपल्ट बिहानै सबैजना, खाना नखाएर बब्फर खोलाको बाटो भएर चिसोपानी गोदारमा पुगेर भारी बिसाए । त्यहाँ मदेशका व्यापारीहरु बाटो छेक्न आई । कुनै व्यापारीले एक माना चामल दिने, कुनै सख्खर र एक माना चिउरा दिने, कुनैले एक कल्ली सूर्ती दिने भयो यदि उनिहरुको दोकानबाट नून सूर्ती किनेर लगेमा । मुसे बुढो बाठो थियो नै, उनले भने एक एक रुपैयाँ लिने । १२ जनाको १२ रुपैयाँ लिएर, कसैले नुनको भारी हाले, कसैले सूर्तीको भारी लिएर फर्के । बाटोमा उकाली ओराली भएर बित्जोर खोलामा आई पुगेर भारी विसाएर बिशायौ एउटा बाहुन रुदै आए, “ए हजुर मेरो थारो भैंसी भिरबाट लड्यो न बाँच्ने भयो, हजुर खाने जात भए मलाई चार रुपैया दिएर खानु होस हजुर” भारी बोकेर थकान, त्यसमाथि शीकार फेला परेको कस्ले छोडलान ? दाँतेकाले भने होइन हजुरहरु न ताते पनि “ म छोडने वाला छैन” । त्यो दिन खुरकोट आएर बस्ने योजना थियो । भैंसीको कारणले त्यतै बसे । बडेमानको भैंसी, खांबो गाडेर उता आगो बाले, यता भैंसीलाइृ चीरफार गरेर भाग लगाए, चौबिस भाग । रातभरि कलेजो, मुटु बोसे आन्द्रा , केहि फल मासु पकाएर खाए । बाँकि बलेको आगोमा सुकुटी बनाए । फुलासी डाँडालाई छिचोलेर रोक्तलीमा के आई पुगेको थियो, सबैले आफनो ताप्केमा ढिडो सुकुटीको तिहुन खाएर के भारी कस्नलाई मात्र आँटेको थियो । एउटा शुभ समाचार निस्क्यो त्यहाँ “ मगर गोलेले निकासीको पसले साहुकी नातिनी ठुलीलाई नयाँ दुलाही बनाएर, भेडापुमा लाने भयो । चौतारो माथि मिल्ती खोलाकी साँइलीले निङार बेच्न बसेकी रहेछिन, सबैले उनकी निङार सगुन बनाएर पिए । कोहि रमाए, ठूलीकी बहिनी माईली सारै रुइन । उसो भए मेरो भान्जा सानै छन यि यहि हो उसैसंग तिमी पनि विवाह गर न माईली मगरले मुख खोले, उता काले लाजले शिर निउरेर बसे । सबैजना गलल हाँसे । तर पछि, माईली भुटानतिर कोहि मान्छेसंग पोइला गइन रे । पछि उतै मरिन रे ।

प्रतिक्रिया