अमेरिका आउँदा आँखाभरि आँसु पार्दै एक मुठी माटो बोकेर आएकोले बुद्धि पुर्याएको रहेछु भन्ने किन लाग्न थालेको छ ?

विजय थापा २०७६ मंसिर ११ गते २:४९ मा प्रकाशित

विजय थापा ,डिसी । लिपुलेक ,लिम्पियाधुरा र कालापानीको अतिक्रमणले यस्तो लाग्छ भोलि हाम्रो माटो भन्न पनि पाइने या नपाइने हो कि भन्ने शंका उपशंका लाग्न थालेको छ । मुलुक बाहिर हुँदा यस्ता कुराहरु स्वत स्फुर्त रुपमा मस्तिष्कमा उब्जिदा रहेछन । तर म ढुक्क छु पाइन्छ ।

भारतले लिपुलेक ,लिम्पियाधुरा र कालापानी हाम्रो भूमि हो भनि नक्सा सार्वजनिक गरे पछि आफूले अमेरिका आउँदा एक मुठी देशको माटो ल्याउन सफल भएकोले अहिले बुद्धि पुर्याएछु जस्तो लाग्न थालेको छ । धन्न १२ बर्ष अगाडी त्यस्तो बुद्धि आएछ ।

ईतिहास साँक्षी छ ,सबैलाई सिक्किमको कथा थाहा छ । सिक्किमका जनताले मेरो सिक्किम राष्ट्रको माटो भन्न बाट बन्चित भए अर्थात् भन्न पाएनन् । त्यसरी नै भोलि देश नै रहेन भने हामी कसरी नेपाली हुन्छौ । नेपाल नै रहेन भने हामीले कसरी देशको माटो भन्ने ?

तिमीलाई दुविधा भयो भने हत्केलामा नेपालको एक मुठी माटो उचालेर सोध उसले जे भन्छ त्यही तिम्रो अन्तरात्माको आवाज हुन्छ ।’ लेखक तथा साहित्यकार स्व जगदीश घिमिरेले बीपी कोइरालासँग एक वार्ता शिर्षक नामक कवितामा लेखेका छन् l

यस्ले मलाई पनि छोयो र पढ्नेलाई छोएको हुनु पर्छ l यो पंक्तिकार अमेरिका आएको १२ बर्ष भएछ l अझ पनि मन भुरुंग भै रहन्छ l स्वदेशको मायाले त्यति नै सताई रहन्छ l अमेरिका उड्नु अगाडी नै जन्मभूमिको यादले तड्पाउने छ भन्ने पूर्व अनुमान नगरिएको पनि हैन l अमेरिकाले बिस्तारै आफुलाई भसाउदैछ र क्रम बढ्दो छ l कर्मभूमिले मोहनी लगाएको लगायै छ l कर्मभूमि र मातृभूमिको सम्झना ,भोगाई र भावना छातीमा लिएर जीवन चलि रहेको छ l

यसरी अमेरिका सपरिवार उड्ने भए पछि ३ वटा ऐतिहासिक काम गर्न मन लाग्यो l सम्भवत यस्तो अरुले गरेका छन् या छैनन् ,थाहा भएन l मुग्लानमा पनि मातृभूमिको यादमा सदैब डुबी रहिन्छ भन्ने सोचेर पहिलो काम अमेरिका छोड्नु अघि बिराटनगरमा अवस्थित आफ्नो घरको माटोलाई हत्केलामा उठाएर हेरे l

यति अवधि सम्म मेरो भाग्यमा लेखेको रहेछ , हे नेपाल आमा भन्दै श्रद्धा भक्तिको साथ हात जोडेर जमिनलाई ढोगे l त्यति मात्र गरिन ,अमेरिका आउनु अघि आफुले पाखुरी चलाएर बनाएको घरको एक मुठी माटो अमेरिका लिएर जाने निधो गरे l र ,माटो लिएर आउन सफल भए ।

यसै गरि अमेरिकाको धर्ति टेक्ने बित्तिकै लम्पसार परेर ढोगे l वाशिंगटन डिसीको अन्तर्राष्ट्रिय डलस विमानस्थल बाहिर आए पछि गाडी चढ्नु अगाडी हे धर्तीमाता ! बिरानो ठाउँमा आएको छु मलाई रक्षा गर भने l मातृभूमि छोड्नु अघि नेपाल आमालाई पनि ढोगेको थिए र तिमिलाई पनि ढोगे भनि अन्तर आत्मा देखि बर्बराए l मेरा पाठक ,शुभ चिन्तकले यस्लाई कथा र काल्पनिक लेख कदापी ठान्नु हुने छैन भन्ने मैले विश्वास गरेको छु l

अमेरिकामा यस्ता कुराहरु लान नदिने हुनाले सुरक्षित गरि एउटा पोकामा हालेर ल्याउन सफल भए l अमेरिकामा आफ्नो घर किने पछि आफ्नो करेसा बारीमा नेपालको धर्तिको माटो मिसाएको छु l र अमेरिकन जमिन भित्र गाडेर अमेरिकन र नेपालको माटो मिश्रित गरि दिएको छु l जहिले आफुलाई सताउछ त्यहाँ गएर उभिन्छु र ढोग्ने गर्छु l

मानिसले अमेरिका आउदा अनेक चिज ल्याए पनि मातृभूमिलाई नभुलु भनेर १२ बर्ष अगाडी माटो समेत ल्याएकोमा आफुलाई सन्तोष भएको छ l यसले मलाई हौशला दिन्छ l आनन्दको अनुभूति हुन्छ l थोरै भए पनि नेपाली माटो छ भन्ने सम्झन्छु l झन् कालापानीको कारण मन रुन्छ ।

अझ मात्री भुमिलाई नबिर्सने भनि २६ बर्ष देखि नेपाली समुदायका नेपाली मूलका कुनै पनि मानिस संग जहिले पनि नेपाली भाषामा मात्र कुरा गर्ने अभ्यास गरेको छु l अमेरिका आउने भए पछि उत्साह र उमंग आयो l शुन्य बाट जीवन सुरु गर्नु पर्ने ,चुनौती ,अप्ठ्यारा र भोग्नु पर्ने अनेकौ कुरा मनमा खेल्दा अमेरिका आउनु भन्दा अगाडी धेरैलाई हर्ष हुँदा हुदै पनि पिर बढ्छ र मानसिक तनाव बढ्दछ l बसाई कर्मभूमि तर मातृभूमिको सम्झनाले दिनरात सतायो भने मानिस घर न घाट को हुन्छ l न यता को हुन्छ न उता को हुन्छ l

अमेरिका आउनु भन्दा अगाडी र आए पछि यस्ता कुरा मनमा पटक्कै खेलाउनु हुदैन l अमेरिकामा खुट्टा टेके पछि मातृभूमि तथा परिवारको सम्झनाले सतायो भनि झोक्राउनु हुदैन l मस्तिष्क चल्दैन भन्ने दिमाग बाट हटाउनु पर्छ l हात खुट्टा लुलो पार्नु हुदैन l

यस्ता कुराहरु आफुले पनि भोगिने डरले नेपाल छोड्नु अघि धर्तिमा ढोगे र अमेरिकाको धर्तिलाई पनि ढोगे l यति मात्र गरिन नेपाल आमाको एक मुठी माटो पनि ल्याए l

अब लिपुलेक,लिम्पियाधुरा र कालापानी के हुन्छ भन्ने चिन्तामा छु कारण त्यो हामि तपाईका पुर्खाले निर्माण गरेको राष्ट्रको भुमि हो । भूमि भए पछि मात्र माटो हुन्छ । हाम्रो देशको माटो भन्न पाइन्छ । आफ्नो देशको भूमि अतिक्रमणमा पर्छ भने माटो कसरी पाइन्छ ? हामीले सिक्किमका जनताले हाम्रो देशको माटो भन्ने बाट बन्चित भए झैँ हामीले त्यो दिन देख्नु नपरोस ।

अहिले मातृभूमि बाट ल्याएको माटो प्राण भन्दा प्यारो लाग्न थालेको छ । तपाईले यस्तो गर्नु भएको छ त ?

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया