शन्तोशी भण्डारीको अध्यक्षतामा इनास अष्ट्रिया गठन ।  

इनेप्लिज २०७६ मंसिर ३ गते २३:१२ मा प्रकाशित

शुभद्रा भण्डारी, अष्ट्रिया

युरोपको मुटुमा रहेको अत्यन्तै रमणिय तथा पर्यटकिय देश अष्ट्रियामा रहेर विभिन्न क्षेत्रमा आफ्नो कला, शिप तथा प्रतिभा प्रश्तुत गर्दै आईरहेका नेपालीहरूको सहभागितामा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास- International Nepalese Artist Society ) अष्ट्रिया गठन भएको छ ।

संस्था स्थापनाको दौरानमा, अष्ट्रियामा रहेर विभिन्न क्षेत्रका नेपाली कलाकार, साहित्यकार तथा कला, साहित्य र संस्कृतिप्रेमीहरुसंग छलफल, सरसल्लाह तथा सहकार्य गर्दै आउनुभएकी श्रीमती शन्तोशी भण्डारीलाई सर्वसम्मतवाट संस्थापक अध्यक्ष चयन गरिएको छ भने सो कमिटीका सदस्यहरूमा राजन कुमार श्रेष्ठ, प्रदिप ढुंगाना, सम्झना वोहोरा, शुभद्रा भण्डारी, शिला अधिकारी, नविन कार्की, गिता (पुमा) राई, मयन लिम्वु, श्वेता वज्राचार्य, सुरज थापा, शेखर लामा र पुनम पौडेल लाई चुनिएको छ । करिब सात वर्ष पहिले मात्रै स्थापना भएको कलाकारहरूको संस्थाले विश्वव्यापीरुपमा विस्तार हुने क्रममा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) अष्ट्रिया त्रिहत्तरौ (७३) शाखाको रूपमा गठन भएको हो ।

मातृभूमी नेपाल तथा विष्वभर छरिएर रहेका विभिन्न विधाका कलाकारहरूको संगठन इनास अष्ट्रियाले स्थापनाको दौरानमै, एक विदेशी महिलाले नेपालको संस्कृती झल्किने पोशाखमा फोटोसुटको लागि गरेको अनुरोध स्विकार्दै नेपाली पहिचान झल्किने फोटोसुटमा सहभागी भई विभिन्न देशका पहिरनहरूसंग नेपालीको पहिरन पनि समावेश गराई नेपाल र नेपालीको परिचय फराकिलो वनाउन थप मद्दत गरेको छ ।

अष्ट्रियामा रहेका अन्य विभिन्न संघसंस्थाहरूसंग हातेमालो गर्दै, विभिन्न देशहरूमा ‘इनास’ले आयोजना गर्ने विभिन्न विधाहरूमा, अष्ट्रियावासी नेपालीहरूमा भएका कला, शिप तथा प्रतिभालाई सहभागी गराउदै अगाडी वढ्ने दृढताका साथ इनास ग्लोबलको उद्देश्य अनुरुप नेपाली भाषा, कला, साहित्य र संस्कृतिलाई प्रवर्द्धन गर्ने कार्यमा इनास अष्ट्रिया सधै अग्रसर रहने संकल्प समेतगरिएको छ ।

हालै मात्रै ऐतिहासिक रुपमा नेपालमा ६ औ इनास फिल्म अवार्ड तथा तेश्रो इनास ग्लोवल सभा सम्पन्न भएको छ भने आगामी चौथो इनास अवार्ड अस्ट्रेलियामा गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया