छठको विस्तार कसरी हुन पुग्यो विश्वव्यापी ?

सञ्जय साह मित्र २०७६ कार्तिक १६ गते १३:२८ मा प्रकाशित

सञ्जय मित्र

महाभारतको एउटा किंवदन्तीसित छठको सम्बन्ध रहेको सामाजिक मान्यता छ । कस्तो किंवदन्ती रहेको छ भने पाण्डवहरुले चौध वर्षको बनबास र एक वर्षको अज्ञातबास पाएकोमा अज्ञातबासको सफलताको लागि द्रोपदीले छठ पूजा गरेकी थिइन् । एक वर्षको अज्ञातकालमा पाण्डवलाई कौरव पक्षले पत्ता लगाउन सकेको खण्डमा बाह्र वर्षको बनबास पुनः प्रारम्भ हुने र त्यसको अन्त्यमा फेरि एक वर्ष अज्ञातबास बस्नुपर्ने हुन्थ्यो । अज्ञातबास सुरु हुनुभन्दा पहिले नै बनबास समाप्तिको अन्तिम समयमा पाण्डव तथा उनकी पत्नी द्रोपदीलाई अज्ञातबासको चिन्ताले सताउन थालेको थियो । कौरवका गोप्य दूतहरु जताततै थिए । अज्ञातबासको समयमा आफूलाई कसरी जोगाउने भन्ने चिन्ता लागेको थियो । यसै समयमा एक रात द्रोपदीले देवी छठीको कठिन व्रत गरेमा अज्ञातबास सफल हुने सपना देखिन् । द्रोपदीले आफूले देखेको सपना सबैलाई बताइन् । सबैजना धार्मिक प्रवृत्तिका थिए – सपनामा देखेअनुसार सबैको सल्लाहले द्रोपदीले कठिन छठ व्रत गरिन् । व्रतको प्रभावले पाण्डवहरुको अज्ञातबास सफलतापूर्वक पूरा भएको देखिन्छ ।

कुन ठाउँमा भएको थियो पहिलो छठ

मान्यताको आधारमा द्रोपदीले पहिलोपटक गरेको छठ वर्तमान रौतहटको समनपुर हो ।साक्ष्य : प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा भूटनदेवी मन्दिर छ । यो मन्दिर निकै प्रसिद्ध छ । भूटनदेवीलाई हिडिम्बा भएको मानिन्छ । हिडिम्बाको विवाह महाभारतका प्रसिद्ध पात्र भीमसेनसित भएको पाइन्छ । भीमसेन र हिडिम्बाको संयोगबाट घटोत्कचको जन्म भएको थियो । त्यहीँ हिडिम्बाको नामबाट कालान्तरमा यस बस्तीको नाम हेटौँडा भएको मानिन्छ ।

गत वर्ष २८ कात्तिक २०७५ मा रविन्द्र घिमिरे र राजन घिमिरेले त्यो हेटाँैँडा, यो हेटौँडा शीर्षकमा अनलाइनखबर डट कममा लेखेको संयुक्त रिपोर्टमा पनि हेटाँैडाको नामकरण हिडिम्बाको दाजु हिडिम्ब राक्षसको मृत्युपछि उनैको नाममा हेटौँडा बस्ती बस्न गएको किंवदन्ती रहेको उल्लेख गरेका छन् । यसबाट पनि महाभारत कालको बनबासको केही समय यस क्षेत्रमा बिताएको पुष्टि हुन्छ ।

महाभारत युद्धमा भीमसेन र हिडिम्बाको छोरा घटोत्कचको मृत्यु कर्णको वाणबाट भएको थियो । महाभारत युद्ध सकिएपछि भीमसेन छोराको मृत्युको खबर पत्नी हिडिम्बालाई सुनाउन हतारिएका थिए । हिडिम्बा भएको ठाउँमा आउँदै गरेका भीमसेनले परैबाट आफ्नो हतियार गद्दा फालेका थिए । उनको गद्दा फालिएको ठाउँ नै हेटौँडाको उपत्यका बनेको जनविश्वास रहेको छ । चुरे र महाभारत पर्वत शृङ्खलाको हेटौँडादेखि फुर्केचौरसम्मको पहाड उनले फालेको गद्दाले चकनाचुर भएको भएको थियो । यो ठाउँको लम्बाई करिब सोर किलोमिटर रहेको छ ।

रौतहटको गढीमाई नगरपालिकाको समनपुर ऐतिहासिक तथा पौराणिक घटनाहरुको आफैँमा साक्षी छ । नेपाल–अंग्रेज युद्धको समयमा स्थानीयबासीले नै तोप तथा अन्य अत्याधुनिक हातहतियारले सुसज्जित अंग्रेजी फौजलाई हराएको ऐतिहासिक ठाउँ हो । यस बजारको सम्बन्ध प्राचीन इतिहाससित पनि रहेको छ । तत्कालीन नेपाल (काठमाडौँ) र पाटलीपुत्र (पटना)को व्यापार बागमती नदीको किनारै किनार हुँदा समनपुर ठूलो व्यापारिकस्थलको रुपमा थियो । प्रसिद्ध विद्वान प्रा.डा.योगेन्द्रप्रसाद यादवले यहीँ समनपुरमा केही समय प्रसिद्ध चिनियाँ यात्री हु–एन–साङ आएर बसेका थिए भन्ने उल्लेख गरेका छन् एउटा अनुसन्धानमा । यसै बजारनजिक एउटा महादेव मन्दिर रहेको छ । महादेव मन्दिरको स्थापनाको विषयमा प्रचलनमा रहेको किंवदन्ती पनि महाभारतसितै सम्बन्धित रहेको छ ।

पाण्डवहरुले अज्ञातबासको सुरुआत यहीँबाट गरेका थिए । द्रोपदीले बागमती नदीको किनारमा छठ व्रत गरेपछि अज्ञातबासको लागि एउटा सुरुङमा पसेका थिए । सुरुङभित्र पसेपछि सुरुङको प्वाल बाहिरबाट बन्द गर्न मुखैमा एउटा ढुंगा हालेका थिए । सुरुङभित्र चार दाजुभाइ, द्रोपदी र आमा पसिसकेपछि सबैभन्दा पछि पसेका भीमसेनले सुरुङ नदेखियोस् भन्ने उदेश्यले सुरुङको मुखमा ढुङ्गा हालेका थिए । आज पनि के विश्वास रहेको छ भने महादेवमाथि जतिसुकै जल चढाए पनि पानी कहाँ जान्छ भनेर थाहै हुँदैन । सुरुङको मुखमाथि ढुङ्गा राखिएकोले पानीजति सुरुङमै पस्दछ भन्ने विश्वास स्थानीयबासीको छ । सुरुङमा पसेर अज्ञातबास सुरु गरेका पाण्डवहरु बागमती नदी पारि गएर केही दिनको यात्रापछि विराटनगर विराटको दरबारमा भेष बदलेर पुगेका थिए जहाँ अज्ञातबास पूरा गरेका थिए ।

महादेव भनेर पूजा भइरहेको ढुङ्गा भीमसेनले ल्याएको हो भन्ने विषयमा पनि स्थानीयबासीमा फरक विश्वास रहेको छ । हिडिम्बासित बिहे भएपछि केही समय हेटौँडाकै आसपासमा रहेको जङ्गल तथा पहाड र नदी किनारमा बिहार गरेका थिए । यसै क्रममा चुरे पहाडमा पनि बागमतीको किनारमा गएका थिए । एक दिन भीमसेनले पहाडको टुप्पोमा पुगेर ख्याल ख्यालमै एउटा ढुङ्गा फालेका थिए । त्यहीँ ढुङ्गा केही समयपछि उनलाई सुरुङको मुखमा हाल्न काम लागेको थियो ।

द्रोपदीले अज्ञातबासको सफलताको लागि छठ गरेको र अज्ञातबास प्रारम्भ भएको ठाउँ रौतहटको समनपुरमा रहेको रहेकोले छठको सुरुआत रौतहटको समनपुरबाटै भएको हो भन्न सकिन्छ ।
छठको पूजामा प्रयोग गर्ने सम्पूर्ण सामग्री तथा विधिविधानलाई राम्ररी विचार गर्ने हो भने सम्पूर्ण सामग्री यस क्षेत्रकै किसानको घरखेतका नै रहेबाट पनि यसको पुष्टि हुन्छ ।

विश्वविस्तार

बागमती नदी किनारमा रहेको समनपुर छठको उद्गमस्थल हो । नदी किनारमा छठको प्रारम्भ भएको र अज्ञातबासजस्तो कठिन कार्य सफल भएकोले छठ पर्व नदी किनार र जलाशयमा नै हुन थालेको देखिन्छ । तत्कालीन समनपुरको सिधा सम्बन्ध पाटलीपुत्र र कान्तिपुरसित रहेको थियो । तत्कालीन अवस्थामा संसारको सबैभन्दा ठूलो युद्ध भएको र युद्धको कथाका साथै द्रोपदीप्रति सबैको सहानुभूति रहेकोले यस पर्वले विस्तार पाएको थियो । तर यसको बारेमा कसैले उल्लेख किन गरेनन् भने यस पर्वमा कुनै शास्त्रीय देवदेवीको पूजा कुनै शास्त्रीय विधिअनुकूल गरिएको थिएन ।

द्रोपदीले पहिलोचोटि छठ व्रत गरेको कुरो बारम्बार विभिन्न मिडियाहरुले उल्लेख गर्ने गरेका छन् ।

छठको विस्तार यसै क्षेत्रबाट भएको हो । सबैभन्दा प्रचलित क्षेत्र पनि यहीँ नै हो । विस्तारै यहाँबाट छठ पूर्व, पश्चिम, उत्तर र दक्षिणतिर फैलँदो छ । यस क्षेत्रका बासिन्दा विभिन्न कारणले जताजता र जहाँजहाँ पुग्दैछन्, आफ्ना अन्य संस्कृति बिर्से पनि छठलाई भने बिर्सेका छैनन् । छठ पर्वको रुपमा मात्र नभई सांस्कृतिक जिनको रुपमा मन, मस्तिष्क तथा जीवनको एउटा अंगको रुपमा स्थापित भइसकेको छ । यसकारण यसको विस्तार विश्वव्यापी हुँदो छ ।

 

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया