बिहीबार, कार्तिक २८ २०७६
काठमाडौं ०८:५३
वासिङटन डिसी 22:08

महाकबी देबकोटा – एक संक्षिप्त परिचय

 बसन्त श्रेष्ठ ,भर्जिनिया ,अमेरिका  २०७६ कार्तिक १० गते २:१८ मा प्रकाशित

बसन्त श्रेष्ठ ,भर्जिनिया । अमेरिका नेपाली भाषा साहित्यका महाकबी लक्ष्मी प्रसाद देबकोटाको जन्म काठमाण्डौ धोबीधारामा बि.स. १९६६ साल कार्तिक २७ गते लक्ष्मी पुजाको दिन जुन समयमा भएको थियो त्यस समय नेपालमा राणा शासन मध्य जवानीमा रम्दै थियो । छिमेकी मित्र राष्ट्र हरुमा परिबर्तनका ठुल ठुला आन्दोलन चर्कदै थियो । त्यहि समयमा हुर्केका बढेका महाकबी देबकोटामा  प्रत्यक्ष प्रभाब अनुरुप शुरु शुरुमा उनी परम्पराबादी चिन्तनको घेरा भित्र अध्यात्मबादी बन्दै पछि गएर सुधारबादी प्रजातन्त्र तिर उन्मुख भएको पाईन्छ । उनको लेखन शैलीमा काल्पनिक क्षमता र चिन्तनमा बेजोड मानिन्छन । उनि यति चर्चित र लोकप्रिय छन् कि उनका कतिपय गीति लहरी क्र्तिहरु हाम्रा घर गाउँलेहरुको जन जिब्रोमा आज पनि भिजेको पाईन्छन । 

जस्तै  – ईश्वर तैंले रचेर फेरी किन यो बिगारिस 

           शृष्टिको फूल रोपेर फेरी किन यो चुडाईस ।

अध्ययनमा हदै जेहेन्दार र तीक्ष्ण बुद्धि मानिएका महाकबि देबकोटा बि.स. १९८६ सालमा बि.ए. र १९८९ सालमा बि एल पास गरेका थिए । सोर्ह बर्षको उमेरमै संस्कृतमा कविता कोरिसकेका देवकोटाका पहिलो कविता बि.स. १९९१ साल मंगसिर १५ गतेको गोरखापत्रमा यी तलका कविता प्रकाशित भएको थियो ।

पुर्णिमाको सुन्दरतामा उछ्लियी उछिलियी गहिराई 

उठ्छन लहरी भाषा तटमा ठ्कुराई ठुकुराई 

गम्भीरताको गुन्जद्छ गाना मेरो प्राण पवन 

भाव हरुका उठ्छन लहरी लहराई लहराई  ! 

महाकबि देबकोटाको पहिलो निबन्ध “आषाढको पन्ध्र” बि.स. १९९३ सालमा र पहिलो कथा “मने” १९९६ सालमा शारदा पत्रिकामा प्रकाशित भएको थियो । बि.स. २००२ सालमा ५५७ पृष्ठको २४ सर्गको “ शाकुन्तल “ महाकाब्य तिन महिना मा नै लेखेर नेपाली भाषाको पहिलो महाकाव्य रचना गरेर कबि लक्ष्मी प्रसाद देबकोटा महाकबि देबकोटा बनेका थिए ।

पश्चिमी साहित्यको अध्ययन गरेर नेपाली साहित्यलाई नबिनता प्रदान गर्ने तिन नेपाली श्रेष्ठ कविहरु बालकृष्ण सम, गोपाल प्रसाद रिमाल र देबकोटा मध्ये महाकबि देबकोटा कै कवितात्मक प्रतिभा धेरै माथि देखिन्छ । बास्तबमा भन्ने हो भने नेपालको साहित्यिक व्यक्तित्वहरुमा नेपाली  अग्रज आदिकबि भानुभक्त आचार्य पछि देबकोटा नै यस्तो चर्चित र लोकप्रिय व्यक्तित्व बने जसको अन्तराष्ट्रिय ख्याति मा त आरु कसैले आज सम्म पनि भेट्न सकेको छैन । महाकबि देबकोटाले अंग्रेजी भाषाका साहित्यलाई नेपाली भाषामा अनुबाद मात्र गरेनन अंग्रेजी भाषामा समेत साहित्य सिर्जना गरे । उनको पच्चीस प्रबन्ध संग्रह अंग्रेजीमा अनुबाद भएको सिर्जना हो । महाकबि देबकोटालाई पश्चिमी कविहरु संग तुलना गर्दा विलियम वर्डस्वर्थ, जोन किट्स, शेली र बायरन संग गर्ने गरिन्छ । उनको लेखन शैली, भावनात्मक बिचारहरु र काल्पनिक प्रबाहहरुलाई तिनै कविहरुको हाराहारीमा उभ्याउन सकिन्छ ।अझ भारतका विद्वान पण्डित डा. राहुल साङ्क्रित्ययनका अनुसार त महाकबि देबकोटा बराबर भारतका तिन महान कविहरु सुमित्रा नन्दन पन्त, जय शंकर प्रसाद र सुर्यकांत त्रिपाठी निराला हुन् भनेकाछन ।

महाकबि देबकोटा अति नै प्रतिभाशाली व्यक्ति थिए । कवितामा यति चांडो लेख्न सक्ने क्षमता थियो कि उनि बास्तबमा आँशुकबि नै थिए ।  शाकुन्तल महाकाव्य तिन महिना मा नै लेखे, दश दिनमा सुलोचना महाकाव्य, एकै रातमा कुन्जिनी खण्ड काब्य, एक घण्टा बिस मिनेटमा बयानब्बे श्लोकको “आँशु” खण्ड काब्य ले नै प्रमाणित गर्दछ कि उनको काल्पनिक शक्ति कति बेजोड थियो भनेर ।

महाकबि देबकोटाको रचनाहरुलाई चार प्रकारमा विभाजन गर्न सकिन्छ । 

१. परम्परागत संस्कृत छन्दमा – सुलोचना, शाकुन्तल महाकाव्य 

२. लयात्मक कविताहरु      – चारु, यात्री , भिखारी आदि 

३. झ्याउरे शैली      – मुनामदन, कुन्जिनी, बसन्ती आदि 

४. गध कविता   – साँढे, झंझाबिर, पागल, आदि पर्दछन ।

महाकबि देबकोटा साहित्यको क्षेत्रमा मात्र होईन अरु क्षेत्रमा पनि यति धेरै किन चर्चित र लोकप्रिय बन्न पुगे भनी हेर्दा उनका निजि स्वभाब र जीवनका बिबिध जीबनक्रम लाई केलाएर हेर्न आबश्यक पर्ने हुन्छ । उनका व्यक्तिगत स्वभावलाई हेर्दा उनमा तर्कशिल र दार्शनिक पक्ष भन्दा बढी संबेदनशील र भाबुक प्रकृतिको पाईन्छ । देबकोटा आफ्नो जिबनकालमा के बनेनन – लेखक, वकिल, प्राध्यापक, सरकारी सल्लहाकार, एकेडेमीका सदश्य देखि मन्त्रि समेत बन्न पुगे । साहित्यका बिद्यामा त उनि गीतकार, निबन्धकार, उपन्यासकार, कथाकार, समालोचक र अनुवादक पनि भए ।

साचै भन्ने हो भने महाकबि देबकोटामा सबै बर्ग, सबै जाति सबै बिषयलाई समेट्न सक्ने असिम र विशिष्ट प्रतिभा समाहित थियो । उनका रचनाहरुले नेपालका बिभिन्न जात जाती र भिन्नभिन्न समाजको पनि प्रतिनिधित्व गर्छन । जस्तै उनका “मुनामदन” काठमाण्डौ उपत्यकाको पुरानो कथालाई झ्याउरे लयमा लेखिएको खण्डकाब्य हो भने उनका “कुन्जिनी” ले राउटे समाजको झलक दर्साउछ, “लुनी”  शेर्पा समाजको दर्पण हो भने “तिप्लिंगा” पिपा समाजको गाथा भएको खण्डकाब्य हो । 

 महाकबि देबकोटामा कलात्मक सिर्जनाको असिम प्रतिभा थियो  । उनि अनेकौ भाषाका ज्ञाता थिए । अंग्रेजी, उर्दु, हिन्दि, फ्रेन्च, जर्मनी र नेवारी भाषा मा त कविता कोर्द्थे । उनि उच्च आदर्शबादी व्यक्तित्व थिए । भाषण कलामा निकै निपुण मानिन्थे । उनको जीवनको निकै उतार चढाउ मा पनि उनि आफ्नो आदर्श प्रति सदा कटिबद्ध रहे ।

संसार रुपी शुख स्वर्ग भित्र रमे रमाए लीई स्वर्ग चित्र 

सारा भयो त्यो मरुभूमि तुल्य रात परे झैं अब बुझ्छु बल्ल 

रहेछ संसार निशा समान आएन ज्युँदै रहदा नि ज्ञान 

आखिर श्रीकृष्ण रहेछ एक न भक्ति भो ज्ञान न भो बिबेक ।।।

बि.स. २०१६ साल भाद्र १९ गते यी माथिको आन्तिम  कविता कोरेर सोही सालको भाद्र २९ गते सोमबार साँझ लामो क्यान्सर रोगको कारण बाट उनि दिबंगत भए । उनि त्यसबेला एकाउन्न बर्षका मात्र थिए ।

उनको देह्बसानको बारेमा प्रशिद्ध समालोचक कृष्ण चन्द्र सिं प्रधान सरकारको गलत रुबैया र बेथितिको कारण महाकविको असमय मै निधन भएको मान्छन । प्रख्यात नाटककार बालकृष्ण सम भन्छन “ महाकबि देबकोटा तिन चोटी जन्मे मुनामदन संग  शाकुन्तल संग र पागल संग तर एक चोटी पनि मरेनन । उनि नेपाली साहित्य आकाशमा सदैब जीवित रहिरहनेछन” ।

भारतका प्रख्यात साहित्यकार कमल सांक्रित्यायन भन्छन “महाकबि देबकोटाको बास्तबिक मुल्यांकन र उचित कदर भएको भए उनि र उनको देशले साहित्य जगतमा बिश्वको कुनै विशिष्ट पंक्तिमा उभिने थियो” ।

जे जस्तो भए पनि महाकबि देबकोटाले नेपाली साहित्य क्षेत्रमा मात्र न भै अरु बिभिन्न क्षेत्रमा जति ठुलो सेवा गरे त्यसको ऋण हामि कसै गरे पनि तिर्न सक्दैनौ । तर महाकविको कृतिहरुको उचित मुल्यांकन गर्नु, कृतिहरुको प्रकाशन र अनुबाद गर्नु, साहित्यिक प्रतिभाको संरक्षण गर्दै उचित कदर गर्दै जानु नै आजको हाम्रो आबश्यकता हो । र यहि नै आजको हाम्रो छलफल र मुल्याङ्कनको बिषय हुनु पर्छ । मेरो बिचारमा यहि नै महाकबि देबकोटा प्रति सच्चा श्रद्धान्जली अर्पण गरेको ठहरिनेछ ।

अस्तु ।

बसन्त श्रेष्ठ

प्रतिक्रिया