बिहीबार, कार्तिक २८ २०७६
काठमाडौं ०९:०९
वासिङटन डिसी 22:24

युरोपा लिगको तेस्रो चरणमा म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी

इनेप्लिज २०७६ कार्तिक ८ गते ९:५४ मा प्रकाशित

लन्डन, ८ कात्तिक । युरोपा लिगको तेस्रो चरणमा बिहीबार राति म्यानचेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् ।

पार्टीजानको मैदानमा भएको खेलमा म्यान युनाइटेड १-० गोलले विजयी भयो। एन्थोनी मार्सलले ४३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। म्यान युनाइटेडले चार खेलपछि पहिलो जित हात पारेको हो।

यसबीचमा उसले तीन बराबरी र एक हारको नतिजा निकालेको थियो। पछिल्लो खेलमा उसले घरेलु लिगमा लिभरपुललाई १-१ गोलको बराबरीमा रोकेको थियो।

इङ्ल्यान्डकै अर्को क्लब आर्सनलले घरेलु मैदानमा गुईमाराइसलाई ३-२ गोलले हरायो। खेलमा दुईपटक पछाडि परेको आर्सनलका लागि निकोलास पेपेले दुई गोल र मार्टिनेलीले एक गोल गरे। सुरुवाती अग्रता भने भ्रमणकारी टोलीले लिएको थियो नवाैँ मिनेटमा।

मार्टिनेलीले ३२ औँ मिनेटमा खेल बराबरीमा ल्याए। पाँच मिनेटलगत्तै गुईमाराइसले पुन अग्रता लियो। पेपेले ८० औँ मिनेटमा खेल बराबरीमा ल्याए। इन्जुरी समयको तेस्रो मिनेटमा निर्णायक गोल गर्दै उनले घरेलु टोलीलाई रोमान्चक जित दिलाए। पेपे ७९ औँ मिनेटमा मैदान छिरेका थिए। एक मिनेटलगत्तै उनले फ्रिकिकमार्फत गोल गरेका थिए।

दोस्रो गोल पनि उनको फ्रिकिकबाटै थियो। दुवै फ्रिकिक २५ यार्ड टाढाबाट प्रहार गरिएको थियो। अघिल्लो खेलमा घरेलु लिगअन्तर्गत सेफिल्ड युनाइटेडसँग पराजित भएको आर्सनललाई जित हात पार्न निकै संघर्ष गर्नु परेको हो।

आईभरिकोस्टका २४ वर्षीय स्ट्राइकर पेपेलाई आर्सनलले यसै सिजन क्लबको कीर्तिमानी ७२ मिलियन पाउन्डमा आबद्ध गरेको थियो। क्लबको अपेक्षाअनुसारको प्रदर्शन भने उनले गर्न सकिरहेका थिएनन्।

प्रतिक्रिया