चिन्तन मनन: समयसॅंगै बदलिंदै अमेरिकामा हाम्रा आवश्यकता

शशी केसी २०७६ कार्तिक ५ गते २२:०९ मा प्रकाशित

शशी केसी । सधैं जस्तै छुट्टीको दिन, फेसवुकमा साथीहरूको पोष्टमा लाइक र कमेन्ट गर्दै थिंए। एकजना अर्को राज्यमा बस्ने साथीले मेसेन्जरमा “तिमीलाई फुर्सद भए कुरा गरौं न लेखिन” अनि उसॅंग कुरा गर्न थाले, यस्तै त हो सबैको जस्तै घर,परिवार, केटाकेटी, साथी आदीका बारेमा दुख सुख कुरा भए। साथीको एउटा कुराले त निकै बेर सोचनिय बनायो, उसको पनि साथी (जसलाई मपनि केहीमात्रामा चिन्छु,श्रीमान, श्रीमती दुवै डाक्टर, छोराहरू कलेज पढ्छन र सासु पोहोर बितेको) को ससुरालाई घरमा हेर्न “अलि अलि औषधी समय समयमा खुवाइदिन सक्ने” नेपाली कोही तिम्रो ठाॅंउतिर छन् भने खोजिदेउन रे, बस्न, खान सित्तैमा, तलव राम्रो दिनेछन्। यताको नर्सहरू धेरै नै महगों पर्यो र साथै भाषाको पनि ठुलो समस्या । ल हेर अस्तिसम्म हामी केटाकेटीलाई हेर्ने “बेबीसिटर” खोज्थ्यौं, लौ अव त बुढाबुढी हेर्ने ”केयरटेकर ” पो खोज्नेबेला आएछ, समय त बदलेछ त।

अनि सोच्न थालें, समकालिन साथी, इष्टमित्र, हुन पनि हो त हामी आफै १५,२०-२५ बर्ष अगाडी अमेरिका कलेज पढ्न आएका थियौं । अहिले हाम्रा केटाकेटी कोहीका कलेज पढ्दै र कोही पढाई सकेर, काम र बिबाह पनि गरि सके।

हामी नेपालबाट आउॅंदा कोही साना केटाकेटी लिएर र कोहीका यहीॅं आएर जन्मिए/ थपिए। त्योबेला हामी पढ्दै पनि काम गर्दै पनि, कोहीका श्रीमान पढ्ने, कोहीका श्रीमती पढ्ने, कोही दुवै बिधार्थी, अनि अलिअलि काम पनि गर्दै घर खर्च पनि जुटायो। पढाई, काम र घर मिलाउॅंदै व्यस्त ति दिनहरू। एक त बिधार्थी, अमेरिकाको “लिभिगं स्ट्यानडर” अनुसार गरीवीको रेखामुनी पर्ने, पैसै नहुने, केटाकेटीलाई पैसा तथा डेकेयर र आफ्नो कलेजको क्लासको समय तालिका नमिल्ने कारणले, राम्रा “डेकेयर” मा राख्न असम्भव नै हुन्थ्यो । अनि”बेबीसिटर” आफ्नै बरीपरी घर बस्ने/ बाहिरतिर काम नगर्ने छिमेकीलाई खोज्यो। रमाइलो प्रसंग! हाम्रा प्राय: का छिमेकी स्पेनिसभाषा मात्र बोल्ने, केही अंग्रेजीमा भन्नुपर्दा अरूले उल्था गरिदिनुपर्ने। ओहो, हाम्रा केटाकेटी त तिन भाषा बोल्ने पो भए सानामा, नेपाली घरमा, स्कुलमा अंग्रेजी अनि बेबीसिटरसंग स्पेनिस।अहिले त धेरै नेपाली महिला दिदी बहिनीहरूले आफ्नै घरमा नै “डेकेयर” खोल्नु भएको छ,आफ्नै नेपाली भाषा बोल्ने समुदायमै केटाकेटी पठाउनपनि संम्भव छ। साथै आपतै पर्दा नेपाली छिमेकीसंग सहयोग पनि लिन सकिन्छ। बेबीसिटरको समस्या त लगभग टर्यो।

अबकुरा गरौं “केयरटेकर” को ! यता अमेरिकामा आफ्नो र सन्तानको भविष्य बनाउॅंदै गर्दा, उता नेपालमा रहेका बुबाआमालाई गर्नु पर्ने दायित्व हामीले पुरा गरिनै रहयौं । कहिले आफै नेपाल पुग्यौं, कहिले उॅंहाहरूलाई बोलायौं, कहिले घरपरिवारमा एकआपसको सहयोग लियौं। रहदाॅं बस्दा, पढाई सकेपछि धेरै हामी जागिर खाॅंदै, यहींको नागरिक बन्दै गयौं। आफु नागरिक बनेपछि पाउने सुविधा उपयोग गरेर, बुबाआमा तथा आफ्नै दाजुभाई, दिदीबहिनीलाई पनि अमेरिकाको नागरिक र ग्रिनकाड दिलायौं। कोही आए सबै, अहिले परिवारै यतै छन् भने कोहीका बुबाआमा नेपाल आउने/ जाने गर्छन ६-६ महिनामा। कोही चाहीॅं सबै सन्तान बिदेश लागेका, नेपालमा कोही नहुॅंदा, जहाॅं गएनी घरमै बस्ने त हो,बरू अमेरिका नै गए, सबै सन्तानलाई भेट्न पनि पाइन्छ बेलाबेलामा भनेर आउने पनि छन् बुबाआमा समुह। तेस्तै भुटानी समुदाय, नेपालीभाषी, जो पहिले नेपाली नै भएका कारणले भुटानबाट खेदिएर नेपाल र नेपालबाट अमेरिका ल्याई/ आएका अर्को समुह छ बुढाबुढी धेरै भएका। अर्को बर्ग छ जो चाहीं ३५-४५ बर्ष अगाडी पढ्न र काम गर्न आएका अमेरिकामा र अहिले जागिरबाट रिटायर लिएका बुढाबुढीहरू।

अहिले अमेरिकामा केटाकेटीदेखि जवान बुढाबुढी सबै थरीका नेपाली छौं। अब बिस्तारै, बच्चाहरूको लागि “बेबीसिटर” जवानको लागि “काम” मात्र हैन की बुढाबुढीहरूको लागि “केयरटेकर” को पनि आवश्यता महशुस हुॅंदैछ। यस्तै जुन महिनाको एक आईतबार पेन्सिलभ्यानियामा रहेको ‘ब्रज’ मन्दिर (जुन गुजराती इन्डियन समुदायले बनाएको) पुग्दा, हुलकाहुल गुजराती बुढाबुढीहरू हातमा दुरविन लिएर कृष्ण भगवानको दर्शन गरिरहेका। को रहेछन भनेर बुझ्दै जाॅंदा, तिनीहरू न्युजर्सीमा रहेको बुढाबुढीहरूको लागि खोलेको डेकेयरबाट धार्मिक भ्रमणमा आएका रहेछन्। हुनत इन्डियनहरू धेरै छन अमेरिकामा बिभिन्न समुदायका साथै नेपालीहरू भन्दा धेरै अगाडीदेखि आएका, आफ्नो समुदायको आवश्कता र चल्ने नै भएर त खोले होलान्, बुढाबुढीहरूको लागि डेकेयर।

हाम्रो नेपाली समुदायले पनि अब त सोच्नेबेला भयो। हो हामी बेलाबेलामा आफ्नो पेशागत हिसावले, डाक्टर,इन्जिनियर, नर्स, बिभिन्न नेपालका जिल्लाबासीको भेला, समुदायको भेला आदी भन्दै रमाइलो त गर्छौं, सबै परिवार पनि जान्छौं तर सोचौं त बुढाबुढी समुहका पनि आफ्नै आवश्यकता होला, घरमा त इन्डियन च्यानल, युटुब, फेसवुक आदीमा मनोरन्जन साथै घुमाउन,पुजाआजा गराउन मन्दिर आदी पनि लगिदिन्छौं तर आफ्नै उमेर सरहकासॅंग कुरा, भेटघाट गर्न मन लाग्ला, नेपालमा जस्तो एक्लै यताउती जान नी सम्भव भएन। कहिलेकाहीं पसलमा बुढाबुढी बाआमाहरू भेट हुन्छ, नानी नेपाली हो भनेर यती खुशी हुॅंदै कुरा गर्न आउनु हुन्छ, कोही कोही चाहीं, घर कहाॅं, आफ्नै हो, ठुलो छ घर अनि चिठ्ठा परेर आएको हो भनेर प्रश्न गरेर रमाइलै गर्नु हुन्छ ।

हामी कति चाहीॅं गर्न सक्ने हुॅंदा अहिले अमेरिकामा एक व्यापारबाट अर्को, एक जागिरबाट अर्को गरेर पैसा कमाउनमा नै छ पुरै ध्यान,पैसा नभई हुॅंदैन,पक्कै हो। साथै कोही हामी नेपाल जाने जागिरबाट रिटायर भएर भन्छौं, जान पनि के गार्हो छैन, मनै त हो, यो अमेरिकामा २ ठुलो १ सानो सुटकेस, हाते झोला अनि मन भरि अमेरिकन सपना बोकेर छिरेका हामी, अहिले बिभिन्न पेशा गरेर कोही यहीं जन्मेका रैथाने भन्दा कम छैनौं। नेपाल त आफु जन्मे, हुर्केको देश, नेपालमा निकै बिकाश पनि भएकै छ। हामीले हेर्ने भनेको आफु सरहका साथीहरू हुन र उनीहरू राम्रै गरेर बसेकाछन।

तर यी सबै भनिरहॅंदा अव त हामी आफै पनि त बिस्तारै बुढाबुढी हुॅंदै छौं। बिस्तारै सोच्नेबेला भयो, आफुसाथै समुदाय कैलागि पनि, किन कसैले नर्सींग होम, बुढाबुढीको डेकेयर वा डाक्टर, नर्स आदीको नेटवर्क नै किन नबनाउने र आफ्नै समुदायलाई सेवा दिने, केटाकेटी त सॅंधै साथै रहदैनन्, चाहिने त हो आफु सरहका साथी, इष्टमित्र नै ! यसो म एक आपसमा हेर्छु, हामी खै के कारणले हो, किन यती औपचारिक हुॅंदैछौं वा टाढाटाढा जस्तै जस्तै सबैबाट, छुट्टीको दिन सबै घरै हुन्छौं, सॅंधै तेती व्यस्थ पनि हुॅंदैनौ तर कसैको घर फुत्त पसेर मॅं आएं वा आउॅंछु दुखसुखका गफ गर्न भन्न सक्दैनौं वा लौ बाहिर कतै पार्कतिरसॅंगै हिंडन जाउॅं वा लौ कतै रेष्टुरेन्ट मै लन्च, डिनर नै किन नगरौं।

अन्त्यमा आजभन्दा १५,२०-२५ बर्ष अगाडी हाम्रो पुस्ताले “बेबीसिटर”को लागि संघर्ष गरेको जस्तो, आउने १५,२०-२५ बर्ष पछि हाम्रा सन्तान पुस्ताले “केयरटेकर” को लागि संघर्ष गर्नु नपरोस्।

 

प्रतिक्रिया