नदेखिएकी कमला

इनेप्लिज २०७६ कार्तिक ५ गते १:१७ मा प्रकाशित

कमला घिमिरे। यतिबेला सामाजिक संजाल भर एकछत्र पकड जमाउन सफल धादिंङ्गकी एघार बर्षीय वालिकाको नाम हो। युट्युब वा फेसबुक जतासुकै यिनै कामको चर्चा परिचर्चा देख्न र सुन्न पाइन्छ। वाह! एघार बर्षकी वालिकाको चमत्कारिक प्रतिभा। साच्चै उनको प्रतिभा अदभूत नै छ। हामी सबैले यसलाई गौरव नै मान्नुपर्छ। एघार बर्षकी वालिकाको त्यति मीठो स्वर अनि दोहोरीका प्रश्नहरुलाई फर्काउने अब्बल खुबी छ उनमा| ज-जसले उनको यो प्रतिभालाइ उजगार् गर्न भूमिका निर्बाह गरे त्यसलाई धन्यवाद दिनै पर्छ। लाग्छ यतिबेला नेपालका युट्युबवरहरुलाई गतिलो खुराक भेटिएको छ र सामजिक संजाल चलाउनेलाई फुर्सदको सदुपयोग। तर सबै आ-आफ्नै रुपमा रमाइरहेको यो माहोलमा ओझेल परेका छन् कमलाभित्रका वास्तविकताहरु। बाहिरीरुपमा देखिएको कमलाको प्रतिभा र भित्रिरुपमा उनको वास्तविकतामा आकाश र जमिनको फरक पाइन्छ।

दशैँको बेलामा मेरा आँखा एउटा युट्युब च्यानलमा पुग्यो। जहाँ एक युट्युबर हस्याङ्ग फस्याङ्ग गर्दै कमलाको घर धादिङ्ग पुग्छन। उनी कमलाको बुबा, आमा अनि कमलासंग अन्तरबार्ता लिन्छन्। अन्तरबार्ताकै क्रममा कमलालाई गीत गाउन लागाईन्छ। कमला आफ्नो घाँटी दुखेको र गाउन नसक्ने भनेर बताउँछिन। उनकी आमा लगायत बुबाले पनि गीत गाइदिन भन्छन तर उनले सार्है घाँटी दुखेकोले गाउन नसक्ने बताउछिन र अन्त्यमा उनकी आमाले गीत गाउछिन। धेरै कार्यक्रममा गीत गाउन जानु परेको र आफू सार्है थाकेको कुरा कमला बताइरहेकी हुन्छिन। उनी सार्है थकित र मलिन अनुहारसहित अन्तर्वार्तामा प्रस्तुत भईरहेकी हुन्छिन। लाग्दथ्यो उनलाई त्यो अन्तर्वार्ताप्रति कुनै जाँगर नै छैन । कमलाले यो अन्तर्वार्ता दिई रहदा उनकै उमेरका उनका साथीहरु भने दशैँको टिको थाप्न मामाघर वा कुनै आफन्तका दगुर्दै थिए। कोहि टिको थापेर मस्तसंग पिङ्गमा रमिरहेका थिए । कोहि दशैको पैसो टिपेर चकलेट किन्न दगुर्दै थिए। समग्रमा भन्नुपर्दा उनीहरु दशैको वास्तविक मज्जा लिदै थिए जो बाल्यकालमा मात्र पाइन्छ ।

कमलाभित्र प्रतिभा मात्र होइन वाल्यापन, रहर, वाध्यता अनि अबोधपन पनि छ भनेर बुझ्ने कसले? सबैलाई चर्चित हुनुपर्ने यो भिँडमा चर्चित हुँदाको पीडा बुझ्ने कसले? के अरु साधारण वालबालिका सरह हाँस्ने, खेल्ने रमाउने अधिकार छैन कमलाको? अझ भन्नुपर्दा स्वत्रन्त्र बालबालिका भएर बाँच्न्न नपाउने उसले? बर्तमानमा उनको परिवारलाई आर्थिक रुपमा केहि सहयोग भयो होला तर त्यति भन्दैमा उनको बाल अधिकार खोसिएको चाहिँ कसैले हेक्क्का नराख्ने? लाग्दछ अरु कसैलाइ उनको प्रबाह नै छैन। सबैलाई आ-आफ्नै उदेश्य पूरा गर्नुछ। उनलाई गीत गाउन कहिले कुन ठाउँ, कहिले कुन ठाउँ लगिएको हुन्छ जसका कारण उनको पढाई तथा अन्य दैनिकीमा असर गरिरहेको कुरा अरुले बुझेको देखिदैन

मेरो यो लेखको उदेश्य यो होइन कि उनको प्रतिभालाइ बाहिर ल्याउनु गलत थियो। उनको प्रतिभा बाहिर आयो र देशविदेशमा उनी चिनिन पुगिन। यो अत्यन्त राम्रो पक्ष हो तर उनको प्रतिभालाइ प्रयोग गरेर जसरी तछाड मछाड गरि उनी भित्रका अरु रहर, इच्छा, खुसी चंचलता र बाल्यपनलाइ जबरजस्ती बयस्क बनाइदै छ यो अत्यन्त गलत छ। उनको गीत गाउने कला प्रदर्शन गर्ने होडमा उनका अरु रहरहरुलाइ कुल्चने प्रयास भएका छन्। अझ यतिमात्र नभएर ठूला गायकलाई पछार्ने भनेर उनलाई गीत गाउन लगाईन्छ। एघार बर्षकी सानी बालिकालाइ फुर्काएको हो कि जित्नैपर्छ भन्ने मानसिक दबाव दिएको?

उनी एक प्रतिभावान बालिका हुन् यसमा दुइमत हुन् सकिदैन तर अब उनको प्रतिभामा मख्ख परेर बसियो भने धेरै ढिलो हुन सक्छ। सबैले यो बुझ्नु जरुरी छ कि उनलाई अरु साधारण बाल बालिकाजस्तै स्वतन्त्र छोडिदिनुपर्छ। उनलाई पढ्न, खेल्न रमाउन र खुल्ला भएर बाँच्न दिइनुपर्छ। उनको फुर्सदको समय मिलाएर उनको इच्छा बमोजिम कुनै संगीतको ज्ञान सिकाइनुपर्छ। अहिले उनी सानी छिन एकवटा चकलेट दियो भने फुरुङ्ग परेर जसले जे भन्यो त्यहि मान्न सक्छिन्। उनमा के सहि? के गलत? छुट्याउने क्षमताको विकास भइसकेको छैन। बिशेष गरेर उनका अभिभावकहरुले यो कुरालाइ बेलैमा ध्यान दिनु अत्यन्त जरुरी देखिन्छ कि हामीले कमलालाइ सहि बाटोतर्फ डोर्याएका छौ कि छैनौ? अहिलेको केही आर्थिक सहयोगको लालसाले कमलाको भविष्यलाइ असर गर्छ कि गर्दैन? यसैगरी च्याउजस्तै उम्रेका युट्युबवर महोदयहरुले पनि यो बुझ्नु जरुरी छ कि यी एघार बर्षकी बालिकाको पनि अरु बालबालिकाहरुमा जस्तै बाल स्वतन्त्रता छ। उनले पनि खेल्न रमाउन र बाल्यपनको मीठो अनुभव गर्न पाउनुपर्छ। कमलाका हरेक गतिबिधि र उनका गीतका भिडियोहरु प्रतिष्पर्धात्मक रुपमा बनाएर देखाउदा तपाईहरुका दर्शक र आम्दानी त बढ्ला, अनि तपाईहरुका च्यानलहरु रातारात चिनिन सफल पनि होलान तर कमलाको बाल स्वतन्त्रतामा कस्तो असर पर्छ? त्यसमा ध्यान दिनु पनि तपाईहरुको उत्तिकै जिम्मेवारी भित्र पर्छ कि पर्दैन? तपाईहरुले यी सबै कुरामा आँखा चिम्लिए कमलाभित्रको कमलालाई बुझ्ने कस्ले?

बिष्णु पगेनी सिग्देल , तनहूँ, नेपाल ।
हाल : हेगर्सटाउन , मेरिल्याण्ड , अमेरिका

प्रतिक्रिया