“दरो घर दिगो बस्ती” भूकम्पीय जोखिमयुक्त नेपालको लागि अपरिहार्य कार्यक्रम

इनेप्लिज २०७६ कार्तिक ४ गते २२:५४ मा प्रकाशित

३ कार्तिक, कुश्मा: नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यान्वयन कार्यलाई सघाउनेमध्येको एक कार्यको रुपमा “दरो घर दिगो बस्ती” कार्यक्रम कार्यान्वयन लागि नगरपालिकासंग सम्बद्ध बिभिन्न क्षेत्रमा जन चेतना जगाउने र प्राबिधिक ज्ञान दिलाउने अभिप्रायले भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) र कुश्मा नगरपालिका बीच संझौता पत्रमा हस्ताक्षर भै सहकार्य गर्ने किसिमले अगाडि बढन प्रतिबद्धता जनाइएको छ ।

संझौता पत्रमा कुश्मा नगरपालिकाका तर्फबाट मेयर राम चन्द्र जोशी र भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) तर्फबाट सूर्य नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन ।

कार्यक्रममा बोल्दै मेयर जोशीले जापान भ्रमणका क्रममा त्यहाँका भूकम्प प्रतिरोधात्मक भवनहरु देखेर प्रभाबित भएको तर नेपाल जस्तो भूकम्पीय जोखिमयुक्त देशको कुश्मा जस्तो नयाँँ नगरपालिकामा जनताको ज्यानको सुरक्षा मानिने घर कसरी बलियो र सुरक्षित बनाउने भन्ने बिषयमा कार्यरत यस्तो महत्वपूर्ण परियोजना ल्याउन महत्वपूर्ण भूमिका निर्बाह गरिदिएकोमा नगरपालिकाको तर्फबाट वरिष्ठ इन्जिनियर रामकुमार श्रेष्ठप्रति आभार प्रकट गर्नु भयो ।

वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठले विकसित देशहरुमा जनताको सुरक्षाको लागि सरकार कतिसम्म संबेदनशिल हुन्छन भन्ने उदाहरणहरु दिंदै भूकम्पीय जोखिमका दृष्टिकोणले अत्यन्तै संबेदनशील नेपालको काठमाण्डौं उपत्यकामा नै जोखिमपूर्ण टेका लगाएर बसिएका घरहरु थुप्रै भेटिएकाले कुश्मा जस्तो नयाँँ नगरपालिकामा भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि शहरी विकासको प्रकृया एवं घर तथा संरचनाहरुको निर्माणमा भूकम्पीय सुरक्षाको अवधारणालाई समाहित गर्न यो कार्यक्रम ल्याउन लागि परेको बताउनु भयो ।

भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) का प्रोग्राम मैनेजर स्टक्चरल इन्जिनियर सुमन प्रधानले अन्य ३० नगरपालिकामा गरेका कामका आधारमा देखा परेका सकारात्मक परिणाम र नगरपालिकासंग के कसरी सहकार्य गर्न सकिने भन्नेबारे प्रस्ट पार्नु भयो । कार्यक्रममा उपस्थित जिज्ञासुहरुद्धारा सोधिएका प्रश्नहरुको पनि उहाँले जबाफ दिनु भएको थियो ।

नगरपालिकाका इन्जिनियर सञ्जय लामिछानेले पर्याप्त प्राबिधिक जनशक्तिको अभावका बाबजुद पनि नगरपालिकाले अहिलेसम्म १५७२ वटा नक्सा पास प्रकृया पुरा गरेर गरिसकेको र करीब १५० जति नक्सा पास हुने प्रकृयामा भएको जानकारी दिंदै नगरपालिकामा बिद्यमान प्राबिधिक जनशक्तिको यो कार्यक्रमसंग सम्बन्धित क्षेत्रमा क्षमता अभिबृद्धि गर्ने काममा पनि सहयोगको अपेक्षा राखेको बताउनु भयो ।

बिभिन्न राजनीतिक पार्टीका प्रतिनिधिका रुपमा कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले नगरपालिका आएपछि बनिसकेका पुराना घरहरुलाई कानून छ भन्दैमा बल मिच्याइं गर्न पनि नमिल्ने, नगरपालिका सर्बसाधारणको लागि हाउगुजी बनिराखेको सन्दर्भमा यस्तो बातावरण हुन महत्वपूर्ण खेलिनुपर्ने धारणा राख्नु भयो ।

प्रशासकिय अधिकृत ध्रुब राज पौडेलद्धारा सन्चालन गरिएको उक्त कार्यक्रमको समापन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीताकुमारी काफ्ले लामिछानेले बिशेष गरी कुश्मा नगरपालिका जस्तो नगरपालिकाको लागि अत्यन्तै उपयोगी साबित हुने यस्तो कार्यक्रम आएकोमा खुशी ब्यक्त गर्दै नगरपालिकाप्रतिको नकारात्मक धारणाको हाउगुजी न्यूनिकरणमा समेत यो कार्यक्रमले महत्वपूर्ण भूमिका निर्बाह गर्न सक्ने विश्वाश ब्यक्त गर्नु भयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी पंगेनी, अधिकांश वडाका वडा अध्यक्षहरु, बिभिन्न संस्था र राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया