रत्ननगर उद्योग वाणिज्य संघको अधिवेशन नै नगरी महोत्सवको तयारी गर्दै अध्यक्ष रेग्मी

इनेप्लिज २०७६ कार्तिक १ गते १०:५८ मा प्रकाशित

शिशिर सिंखडा,चितवन, १ कात्तिक ।

पूर्वी चितवनको रत्ननगर उद्योग वाणिज्य संघको अधिवेशन नै नगरी संघका अध्यक्ष राजाराम रेग्मीले १०औँ रत्ननगर महोत्सवको तयारी थालेका छन् ।संघको अधिवेशन भएको ३ आर्थिक वर्ष भइसकेको छ । संघको विधान अनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारण सभा गरी हरहिसाव सार्वजनिक गर्ने र अधिवेशनको वर्ष भए अधिवेशन गर्नुपर्ने हुन्छ । रत्ननगर उद्योग वाणिज्य संघको संशोधित विधान २०७४ को परिच्छेद ५ को १६ (क) मा वार्षिक साधारण सभा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । जस अनुसार संस्थाको यहि पुष मसान्त भित्र साधारण सभा गरिसक्नुपर्ने हुन्छ तर सो नगरी अध्यक्ष रेग्मीले पुषको अन्तिम साताबाट सुरु गर्ने गरी १०औ रत्ननगर महोत्सवको तयारी थालेका छन् । ६ महिनाभित्र सो साधारण सभा सम्पन्न गर्नैपर्ने विधानमा वाध्यात्मक वैधानिक व्यवस्था छ ।

६ महिनाभित्र साधारण सभा नगरेमा त्यसको अर्को विकल्प छैन । सो विधानको विपरीत संघका अध्यक्ष रेग्मीले आगामी पुषको अन्तिम हप्ता रत्ननगर महोत्सवको तयारी थालेका हुन् । सो महोत्सवको मूल समारोह समितिको संयोजक समेत अध्यक्ष रेग्मी आफै बनेका छन् । करिव १५ दिन अगाडि उनले बैठक राखी उपसमितिहरु समेत गठन गरेका छन् ।

के छ त भनाइ चितवनका प्रमुख जिल्ला अधिकारीको ?

संस्थाहरुको साधारण सभाका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले संस्थाको विधान अनुसार जुनसुकै संघ संस्थाहरुले साधारण सभा गर्नुपर्ने बताउनुभयो । संस्थाको विधानको त्यो संस्थाका कार्यसमिति तथा सदस्यहरुले नियम पालना गर्नुपर्ने भएकोले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ६ महिनाभित्र साधारण सभा गर्नुपर्ने हुन्छ । यदि अधिवेशन गर्नुपर्ने वर्ष हो भने सो पनि सम्पन्न गर्नुपर्ने हुन्छ, वहाँले भन्नुभयो । साधारण सभा नगरी विधान विपरीत पुषको अन्तिम साता रत्ननगर महोत्सवको आयोजना हुन लागेको सन्दर्भमा उहाँले समय बाँकी भएकाले विधान अनुसार साधारण सभा हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

किन गर्दैनन् अध्यक्ष रेग्मीले साधारण सभा ?

कुनैपनि संस्थाको साधारण सभा संस्थाको विधान बमोजिम गर्नुपर्ने भएपनि संघ अध्यक्ष राजाराम रेग्मीले आफू चयन हुँदा अधिवेशन ढिलो भएकाले अर्को आर्थिक वर्षमा मात्र अधिवेशन गर्ने बताएको संघका एक कार्यसमिति सदस्यले बताए । संघको साधारण सभा महोत्सवको अवधि भन्दा अगाडि नै सम्पन्न गरेमा संघको अध्यक्षको हैसियतले कुनैपनि कार्य गर्ने अवसर नहुने भएकोले उनले संस्थाको अधिवेशन भन्दा पनि महोत्सवलाई प्राथमिकता दिएका छन् । महोत्वस गर्दा राम्रो आर्थिक हुने भएकाले सो साधारण सभा तथा अधिवेशनको विषय उनले गुपचुप राखेका छन् ।

गत २ वर्ष अगाडि सम्पन्न नवौँ रत्ननगर महोत्सवको पनि उनले धेरै खर्चहरु टेण्डर नै नगरी मनोमानी ढङ्गले गरेका थिए । महोत्सवको खर्चको सार्वजनिक विगतका सबै वर्षहरुमा पत्रकार सम्मेलन गरी गर्ने गरिए पनि गत वर्ष भने उनले गुपचुप मै सो आम्दानी खर्च विज्ञप्ती मार्फत् सार्वजनिक गरेका थिए । यस्ता मेला महोत्सवको आम्दानी खर्चको सार्वजनिक सुनुवाई अथवा पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया