पोहोर साल, सत्र बर्षपछि नेपालमा दशैं मनाउँदा

शशी केसी २०७६ असोज २० गते २१:२५ मा प्रकाशित

दशैं, आहा, त्यो पनि नेपालमा मनाउन पाउनु, हामी परदेशिएकालाई, चाडबाडमा सधैं नेपाल कल्पनेलाई,त्यो भन्दा खुशी अरू के नै होला र ! हुन त यी सत्र बर्ष परदेशमा बिभिन्न ठाँउमा, बिभिन्न तरिकाले र बिभिन्नसंग दशैं त मनाइयो तर नेपालमा , आफन्तहरूसंग मनाएको दशैंको छुट्टै नै रौनक हुनेरहेछ, याद धेरै आउने ति दिनहरू झनझन यताको बसाई बढ्दै गर्दा।

दशैंमा अरू जस्तै जान नचाहेको त हैन नेपाल तर तेही त हो बच्चाहरूको पढाई, काम, लामो बिदा मिलाउन खोज्दा खोज्दै सत्र बर्षमा बल्ल जुर्यो नेपालको दशैं पोहोर।मन सार्है खुशी भयो। ति केटाकेटी बेलामा मनाएको दशैं, टिका, मन्दिर दर्शन, खसी, बोका घरमा काटेको क्षण सबै याद आयो। तर खै धेरै बर्ष नेपालबाट टाढा भइएर हो कि के हो , दुई चार कुराहरू चाहीँ निक्कै नै फरक महशुश भयो मलाई नेपालको दशैंमा।

पहिलो अनुभव, मन्दिर दर्शन र पुजा: दशैंको पहिलो दिन घर घरमा जमरा राख्ने चटारो धेरैकोमा देखियो काठमाडौंतिर (जमरा खासमा मुलघरमा राख्ने चलन हो), यसले के संकेत गर्छ भने धेरैको मुल घर अब त काठमाडौं नै सरेछ,शायद अघिल्लापुस्ताका धेरै कोही जिवितबाँकी नहुनु भएर होला,मनै कट्टक हुने । देविहरूको मन्दिर त जताततै पहिलेकै जस्तो घुइँचो नै देखें, लामो लाइन तर एउटा कुरा गज्जव नै देखियो, सजावट धेरै नै र पहिले जस्तो बोकाहरू जताततै काटेर, रगत नै रगत टेक्नु नपर्ने भएछ। बोका चढाउनेको बेग्लै व्यवस्था रहेछ, साथै घरघरमा बोकाको मासु खाने केटाकेटी सबै परदेशिएर होला, बुढाबुढी बुबाआमा जो कालै बोका देविलाई चढाउनै पर्छ भन्ने गर्नुहुन्थ्यो नी उहाँहरूले बोकाको सट्टा काँचो नरिवल चढाउने गरेको देंखे। कालो बोका किन्ने चटारो खत्तम। साथै मन्दिरहरूतिर पनि ठुलाठुला व्यानरमा पशुबलीको सट्टा नरिवल चढाऔँ लेखेर टाँसेको देखियो र मन्दिर बाहिर जताततै नरिवल बेच्न राखेको। राम्रो कुरा हो, इच्छा हुनेले छुट्टै काट्ने, नहुनेले काटेको देख्नुपनि/ हेर्नु पनि नपर्ने।

दोस्रो अनुभव: बजारमा दशैंको किनमेलको चट्टारो त उस्तै नै रहेछ तर धेरै ठुलाठुला सपिंग सेन्टर जताततै खुलेकोले आफ्नो इच्छा अनुसार किन्न पाइने। घरमा राखिएको पसलदेखि सडकसम्मका पसलमा घुईँचो धेरै नै अनि रमाइलो त सामान उस्तै उस्तै नै छ, भाउमा आकाश जमिनको फरक, सडक र सपिगं मलको, किन तेस्तो भन्दा खास्सा र चाइनिज सामान रे, तिनै जानुन कताको के के हो । भाउमा मोलतोल त जत्ति सकिन्छ गरे हुने पैसा आफ्नो हो।

तेस्रो अनुभव: मासु त प्राय: सबैको घरमा पाक्ने नै रहेछ दशैंलाई भनेर आफु मासु नै नखाएपनि टिका लगाउन आउनेको लागि भनेर तर उहिले जस्तो खसी, बोका आफै किनेर ल्याएर बनाउने झन्झट त धेरै नै कमैलेमात्र गर्ने, बगरेकोमा गएर खसी छान्ने र मासु बनाउन लगाएर काट्कुट गरेर ल्याउने वा आवश्यकता अनुसार २-३ किलो किनेर ल्याउने। ओहो बरू हामी बिदेशतिर पो खसी नै किन्ने कम्ता चटारो गर्दैनौं त, छुट्टीको दिन टाढाटाढा गाँउतिर गएर। अर्कोकुरा,धेरै जसो आजकल मासु खान छोडेर होला, मासु नखानेको लागि पनि मिठाई,पनिर आदिको बन्दोबस्त हुने रहेछ टिका लगाउन जाँदा प्राय:।

चौथो अनि अत्यन्त महत्वपुर्ण अनुभव टिका: ओहो दशैंको टिकाको कम्ता महत्व हुन्छ, गएर सोध्नु परदेशिएकालाई, नेपालको टिकाको साइत पारेर फोन वा आजकल त भाइवर, स्काइप, मेसेन्जरमा लाइभ, भिडियोमा कुरेर बस्यो र आफ्नोपालोमा टिका तथा आशिष थाप्यो। नेपालमा आफ्नो घरमा टिका त साइतमै लगाएको देखियो सबैले नै, तर आफन्तसँगको टिका चाहीँ सबैले सल्लाह अनुसार, एकठाँउमा भेला भएर लगाउने गरेको देखियो , जो जो आए तेसतेसले लगाए टिका, न आएकाहरूको छुटेको छुट्यै, अनि उहिले जस्तो, आफन्तको घर अरूबेला कहिल्यै नगएपनि टिका लगाउन त जसरी नी जाने चलन त पुरै बन्द,रिसाउन की नरिसाउन। अझ सबैभन्दा अचम्म त दशैंकोबेला सपरिवार मिले बिदेश, नमिले नेपालको कुनै रमणिय ठाँउ घुम्न निस्कने गज्जवको चलन निस्केछ नेपालमा त आजकल। हो, लामो बिदा हुने आफ्नो तथा केटाकेटीहरूको पनि! मौका त यही हो तर दशैं त दशैं हैन र भन्या । ओहो, गज्जवै। हुदाँ हुदाँ बिभिन्न ट्राभलएजेन्सीहरूले दशैं पारेर होटल, प्लेन भाडा आदीको प्याकेजमा सस्तोमा डिल दिने रहेछन्, बाली, थाईल्यान्ड, मलेशिया, सिंगापुर, दुवई आदी देशहरूको ।आ-आफ्नो बिचार हो तर अव हामी नै चाडपर्वमा केटाकेटी लिएर यसरी हिंडन थालेपछि, भोलीपर्सी केटाकेटीले चाडपर्व मानेनन भन्नु चाहीँ बेकार हुन्छ, हामीले नै चाडपर्व,संस्कार, रितिरिवाज सबै नसिकाएपछि। ओहो,बरू हामी परदेशिएकाहरू खोजीखोजी नेपाली चाडपर्व जोगाउन खोज्दै छौं ।

अन्त्यमा दशैंलाई दशैं नै जस्तै गरेर सँधै मनाउन पाइयोस जहाँ रहे पनि, शुभकामना

शशी केसी

प्रतिक्रिया