दशैँको छुट्टीमा पनि आपत्कालीन सेवा, निशुल्क हटलाईन र रेडियो कार्यक्रम निरन्तर हुने

इनेप्लिज २०७६ असोज १७ गते ११:२० मा प्रकाशित

नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालित विभिन्न सेवाहरु दशैँको लामो छुट्टीमा पनि निरन्तर रहने व्यवस्था मिलाइएको छ । यस बीचमा कुनै विपद्का घटनाहरु आइपरेमा केन्द्रीय स्तरमा विपद् व्यवस्थापन विभागका उपनिर्देशक हरि मोहन श्रेष्ठको संयोजकत्वमा रहेको टोली सक्रिय रहने छ । सो स्ट्यान्डबाई टोलीमा रमेश घिमिरे, अनिल महर्जन, निमराज राउत, राजेन्द्र रोकाहा र सविता सिं हुनुहुन्छ ।

यस्तै केन्द्रीय कार्यालयमा अवस्थित रक्तसञ्चार सेवा पनि सुचारु हुनेछ । दैनिक ६ जनाले ड्यूटी गर्ने व्यवस्था मिलाइएको र एक हजार २ सय यूनिट रगत स्टकमा राखिएको छ । दशैँ छुट्टीमा सामान्य तया यो स्टक पर्याप्त हुनेछ ।

शनिबारबाहेक हरेक दिन विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुँदै आएको नेपाल रेडक्रसको निशुल्क हटलाइन सेवा ११३० विजया दशमीका महाअष्टमी देखि एकादशी (असोज १९ गते देखि २२ गते सम्म ) नेपाल टेलिकमका ग्राहकको लागि बन्द रहने रहेपनि एनसेलबाट आउने कलहरुका लागि भने यो सेवा विदाका ती दिनहरुमा पनि नियमित रहने छन् ।

दशैँको लामो छुट्टीमा पनि रेडक्रसका सेवा तथा गतिविधिबारे टिप्पणी, सुझाव, गुनासो वा प्रश्नहरु भएमा हटलाइन ११३० मा एनसेलका मोबाइल फोनबाट निशुल्क फोन गर्न र सेवा लिन सकिने व्यवस्था गरिएको हो ।

त्यस्तै हरेक शनिवार विहान ८ बजे प्रसारण हुने मानवताको लागि हातेमालो कार्यक्रम तथा हरेक मंगलबार बेलुकी ७ः१५ बजे प्रशारण हुने रेडियो कार्यक्रम रेडक्रस पनि विभिन्न एफएमबाट नियमित प्रसारण हुनेछन् ।

प्रतिक्रिया