महरा–शाही प्रकरणले जसको संसार सक्कियो

इनेप्लिज २०७६ असोज १६ गते २१:१२ मा प्रकाशित

काठमाडौं, १६ असोज । विहीबारसम्म उनले पदच्युत भएका सभामुख कृष्णबहादुर महरा र आफ्नी नर्सपत्नी रोशनी शाही सम्बन्ध, यातनालगायतका प्रकरणमा परिचय खुलाएका थिएनन् । न, समाचार माध्यमले उनको परिचय खुलाएको थियो ।

महरा–रोशनी सम्बन्धका बारेमा हल्ला सुनेका थिए, हल्ला गरेका थिएनन् । मानसिक तनावबीच उनले जीवन धान्ने निधोलाई त्यागेका थिएनन् । पत्नीसँग सम्झौताको जीवनमा बाँच्ने जाँगर अझै थियो, सायद ।

तर जब पत्नी मिडियामा आइन्, प्रमाणका थाक बोकेर आइन् र देशकै मर्यादाक्रममा पाँचौ रहेका सभामुख महरालाई बलात्कारको आरोप लगाइन् उनी खंग्रङ भए । यो प्रकरणलाई मिलाउने विषयमा जिल्लाको जागिरलाई केही दिनका लागि त्यागेर काठमाडौं फर्किए, चित्रजंग शाही । जो रोशनीका पति हुन् ।

हाइप्रोफाइल पावरबाट जोगिन सकिन्छ की भनेर उनले यस प्रकरणमा ‘पत्नीको मानसिक समस्या रहेको, डिप्रेशनमा रहेको’ खुलाए । तर विश्वभर फैलिसकेको महराविरुद्ध बलात्कार प्रयासको अभियोगको समाचारलाई उनले रोक्न सक्ने कुरै थिएन ।

देशभरीको अहिलेको चर्चाको विषय यहि बन्दा चित्रजंगलाई पारिवारिक, आफन्तजन र विविध क्षेत्रका साथीभाईले प्रकरणबारे खोजीनीति गर्छन् । पत्रकारले फोन हान्छन् । जुन विषयका सन्दर्भमा उनी सोच्न पनि सक्दैन थिए, त्यहि विषयमा उनले जवाफ दिनरहनु परेको छ ।

पत्नीका उदण्डतालाई कतिसम्म सहेर बस्ने ? तीन दशक लामो बैबाहिक जीवनमा कतिपय खटपट पनि भए । खटपटका क्रममा विष सेवन नै गरिसकेकी रोशनीलाई बचाएका पनि थिए ।

पत्नीको हाईप्रोफाइलसँगको अनैतिक सम्बन्धको दबाब एकातिर, सामाजिक सञ्जालदेखि अनेक ठाउँमा मनपरी लेखिदिने शैलीदेखि हाईप्रोफाइलका दबाबको चपेटामा छन्, उनी ।

राजनीतिक पहुँच भएकाको साख जोगिन पनि सक्ला, आरोप प्रत्यारोप प्रमाणित होला या नहोला त्यो अर्को कुरा भयो तर भुईँमान्छे भएको र आम मानिससरह काम गरी खानुपर्ने बाध्यतामा चित्रजंगको सामाजिक ओज, प्रतिष्ठा, पारिवारिक सम्बन्धका विविधतामात्र सक्किएन, एउटा सानो संसार नै भत्किएको छ ।

त्यसैले उनी भत्किएको जीवनबाट केही राहत पाउने निणर्यको नजिक पुगे, एउटा सहमति बाहिर आएको छ ।

रोशनीका हर्कत सकिएका छैनन्, रोकिएका छैनन् । एक दिन अभियोग लगाउने, प्रमाण देखाउने अर्को दिन त्यसको खण्डन गर्ने काम गरिरहेकी छन् । त्यतिमात्र होइन, यस प्रकरणलाई सामाजिक सञ्जालमा गालीगलौजदेखि लिएर अनेक हिसाबले लेखिरहेकी छन् । जसले चित्रजंगको त्रसित मुटुलाई निरन्तर ढ्याङ्ग्रो बजाउने काम गरिरहेको थियो । उनले यो तनावबाट मुक्ति पाउने एउटा कठोर निर्णय गरे– रोशनीसँगको २८ बर्ष लामो बैबाहिक जीवनबाट अलग्गिने । यहि निर्णयको एउटा कागजी सहमतिको चिर्कटो फेसबुमा राख्दै चित्रजंग लेख्छन्– हामी २८ बर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं । धन्यवाद शुभचिन्तकहरूमा ।

समाचार र विवरणहरूमा महरा रोशनीको कोठामा पुगेको तथ्य प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुगेको उल्लेख छन् । प्रमाणहरूले पनि पत्नीको दोष सबै कोणबाट नै देखिन्छ । पहिलो, महरासँगको सम्बन्ध स्थापित हुनुले व्यक्तिगत जीवनमा धोका, दोस्रो त्यसको सार्वजनिकीकरण गरी हाइप्रोफाइलको तारो तेस्रोचाहिँ त्यसलाई ढाकछोपा गर्नै ढाँटसहित अनेकलाई धम्कीपूर्ण भाषामा सामाजिक सञ्जालमा लेख्नु ।

‘आजित भएपछि एउटा पतिले के गर्छ ? सबैतिरबाट खतरा हुने भएपछि के गर्छ ? सम्बन्धविच्छेदको विकल्प नै रहेन’ चित्रजंगनिकट भन्छन्,‘घरको न घाटको हुने अवस्था आएपछि यस प्रकरणमा कुनै दोष नै नभएका व्यक्ति अलग्गिनु उचित हो ।’

खासगरी यो प्रकरणमा चित्रजंग रोशनीका पति भएका कारणले जवाफ दिन बाध्य पारिएका छन् । उनीसँग कुनै जानकारी हुने सामाजिक कारण पनि छैन । महरा र रोशनीको विवाहहेत्तर सम्बन्धको चपेटामा पीडित बनेका हुन्, चित्रजंग ।

प्रतिक्रिया