शनिबार, कार्तिक २ २०७६
काठमाडौं १०:३४
वासिङटन डिसी 00:49

अमेरिकी मूलधारमा स्थानीय तह देखि राज्यको राजनीतिमा ईतिहास रच्ने नेपाली मुलका ४ जनाले दशैँ यसरी मनाउने

सभासद ह्यारी भण्डारी,उपनगर प्रमुख किरण सिटौला,नगर परिषद सदस्य द्वय मधु पन्थी तथा प्रदिप ढकालका बाल्यकालका दशैका सम्झना

इनेप्लिज २०७६ असोज १६ गते १३:१६ मा प्रकाशित

विजय थापा । डिसी । अमेरिकाको मूलधारको स्थानिय तह देखि देखि राज्य सम्म निर्वाचित हुनु भएका नेपाली मूलका चार जनाले २०७६ सालको दशैँ यसरी मनाउने भएका छन् । ईनेप्लिजको कुराकानीमा चारै जनाले आफ्ना बाल्यकालका दशैका स्मरण समेत सुनाएका छन् ।

सबैले समग्रमा परिवार संगै दशैँ मनाउने ,आफ्नो संस्कृतिलाई जगेर्ना गर्नु पर्ने भन्दै मनोरंजनको लागि तास खेल्ने ,लंगुर पुर्जा( झन्डी पुर्जा )खेलेको सम्झना ताजै रहेको बताए ।

ह्यारी भण्डारी : मेरिल्याण्ड राज्यका बिधान सभाका लागि जिल्ला ८ बाट निर्वाचित ह्यारी भण्डारीले मेरिल्याण्ड स्थित घर मै बुवाआमा दाजुभाई तथा छोराछोरी संगै बसेर लगाउने बताए ।

सभासद भण्डारीले आफुलाई दशैमा कहिले पनि टिका ग्रहण गरे पछि पैसा पाउने भन्ने कुराले न लोभ्याएको बताए । त्यसको सट्टा मामाको घरमा जाँदा बाटोमा ओखर टिप्दा रमाइलो लाग्ने र मामाले घर फर्कदा एक झोला ओखर दिदा ज्यादै खुशी हुने बताए ।

भण्डारीले सानो उमेर देखि नै आफु पर्वत स्थित भूमि कोतमा ९ दिन सम्म एक छाक खाएर क्षेत्रीको छोरा भएकोले कर्ता भएर पुजारीको रुपमा आफु बसेको सम्झना सुनाए । २ कक्षा देखि नै चण्डी पढेको स्मरण गर्दै ४ जना कर्ताको रुपमा बस्ने गरेको बताए । आफ्नो बाल्यकाल दशैँमा धर्मकर्ममा बितेको र वेद पनि पढ्ने गरेको सम्झना रहेको बताए । श्लोक कण्ठ गर्ने र सेलरोटी लगायत अन्य परिकार खान खुब रमाइलो हुने बताउदै सबैलाई बडा दशैको शुभकामना दिएका छन् ।

किरण सिटौला : यसै गरि अमेरिकाको मुलधारको राजनीतिमा सबै भन्दा अगाडी स्थानीय स्तरमा ईतिहास रच्दै खाता खोल्ने झापा घर भै हाल मेरिल्याण्ड निवासी नेपाली किरण सिटौलाले घर मै सपरिवार दशैँ मनाउने भएका छन् ।

सिटौलाले अगाडी भने आगामी अक्टोबर ५ का शनिबारका दिन सबै सिटौला परिवार /बन्धुहरु भेला हुने जानकारी दिएका छन् । दशैको लागि अग्रिम रुपमा खसीको मासु ल्याई सकेको भन्दै आफ्नो करेसो बारीमा फलेको काक्रोको खल्पिको अचार समेत राखिएको बताए । यो सप्ताह अन्त्यमा दक्षिणाको लागि खुद्रा पैसा साट्न धनागार ( बैंक ) जानु पर्ने काम भएको बताए ।

बाल्यकालमा मामाको घरमा पैसा पाइने हुनाले भान्जा भान्जीलाई पैसा दिने हुनाले मनोरंजन लाग्ने भएको बताए । बालकपनको कारण त्यसैले मामा माइजु ज्यादै प्यारो पनि लाग्ने गरेको सम्झना भएको कथा सुनाए । दशैमा भक्तपुरमा चंगा उडाएको हेर्न मान पर्ने र नयाँ लुगा लगाउदा निकै मन प्रफुल्ल हुने समेत याद आउने बताए ।

सिटौलाले लंगुर पुर्जा खेल्न ज्यादै मन पराउने सम्झना रहेको ईनेप्लिजलाई बताए ।

मधु पन्थी : यसै गरि भर्जिनिया मनासस नजिक रहेको हे मार्केट नामक शहरका निर्वाचित नगर परिषद सदस्य मधु पन्थीले सपरिवार नै दशैँ मनाउने योजना रहेको बताए । उनले हामी नेपालबाट हामी टाडा भए पनि हाम्रो संस्कृतिको जगेर्ना गर्नु पर्ने अपरिहार्य हुने भएकोले दशैँलाई बिदेशी माटोमा हर्ष खुशीको साथ मनाउने तयारी रहेको बताए

उनि भर्जिनिया राज्यको हे मार्केट शहरका निवासी रहेकोले खसी नजिकैपाइने भएकोले सबै व्यवस्था भै सकेको बताए । उनले दशैमा पाहुनाहरु घरमा आउने ,केटाकेटि आउने ,तास खेल्ने मिठो खाने गरे पनि आफ्नो घरमा मदिरा भने निषेध रहेको बताए ।

नेपालको सम्झना गर्दै बाल्यकालमा लिङ्गे पिङ्ग ,लंगुर पुर्जा ,तास खेलेको खुव याद आई रहने बताए । काठमाडौँमा पढे पनि पहाड मै टिका लाउन जाने गरेको भन्दै पहाडमा ज्यादै रमाइलो लाग्ने ईनेप्लिजलाई जानकारी दिएका छन् ।

पहाड घर अर्घखाची भएकोले कहिले काही टिकट नपाइने भएता पनि पहाडमा दशैँ मनाउदा को छुट्टै मज्जा आउने गरेको सम्झना आई रहने गरेको बताए ।

प्रदिप ढकाल : यसै गरि भर्जिनिया हर्नडन शहर क लागि नगर परिषद सदस्यमा निर्वाचित सदस्य प्रदिप ढकालले यो पल्टको दशैं परिवारसँगै बसेर मनाउने हो भनेका छन् । दशैंको खाना त मुख्यरुपमा खसिको मासु र भात नै हो। खसिको तयारी पनि भैसकेको अवस्था छ। मलाई मन पर्ने परिकार खसिको भुटन र चिउरा पनि हो।

दशैंको लागि नया लुगा किन्ने चलन चाहि नेपाल हुँदा थियो। आफ्नो आर्थिक अवस्थाका कारण खसिको मासु खान र नया लुगा किन्न दशैं नै कुर्नु पर्थ्यो बाल्यकालमा। त्यो नया लुगा भनेको पाठशालाको साझा पोशाक (स्कूलको ड्रेस)किन्ने गरेको स्मरण हुने बताए । उनले अगाडी भने हाल हामी अमेरिकामा रहेकोले अहिले त्यस्तो अवस्था रहेन। कहिलेकाहि त्यो बेलालाई याद गर्नलाई पनि नया लुगा किनिन्छ भन्ने जनाएका छन् ।

बाल्य अवस्थामा टिकाको महत्व भन्दा पनि आफन्तकहाँ जाने, लंगुर बुर्जा (dice) खेल्ने कुरा बढी रमाइलो हुने गरेको सम्झना रहेको बताए । त्यसमा पनि दक्षिणाको ध्यान र महत्व सब भन्दा धेरै हुन्थ्यो। टिका लगाएर दक्षिणा पाउनासाथ पेट कट्टक्क काटेर शौचालय त कति गएको सम्झना रहेको बताए । कति भनि बढि दक्षिणा पाईने घरहरुमा टिका लगाउन जाने पहिलो सुचिमा पनि पर्ने गरेको रोचक कहानी बताएका छन् ।

प्रतिक्रिया