बारामा मदिरा भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु

इनेप्लिज २०७६ असोज १६ गते ७:३६ मा प्रकाशित

सिमरा, १६ असाेज । बाराको फेटा गाउँपालिका–४ बतरास्थित मदिरा उत्पादन गर्ने भट्टीको खाल्डोमा डुबेर ५ जनाको मृत्यु भएको छ ।

मदिरा भट्टी सञ्चालक करिब ४० वर्षीय जोगा मुखिया बिन, उनकी १२ वर्षीया छोरी सुमनकुमारी, उनका भाइ ३५ वर्षीय महेन्द्र मुखिया, महेन्द्रकी पत्नी ३० वर्षीया लालमुनी देवी र ५० वर्षीय एक भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले बताए । भारतीय नागरिक लालमुनीका बुबा हुन् ।

प्रहरीका अनुसार उनीहरू बुधबार बेलुकी करिब ८ बजे एउटै खाल्डोमा डुबेका हुन् । ‘पाँचै जनाको घटनास्थलमै मृत्यु भएको हो,’ एसपी खनालले भने, ‘मृतकहरूको शरीरमा चोटपटक वा रगत देखिँदैन ।’ उनीहरूको मृत्यु कसरी भयो भन्ने खुल्न नसकेको उनले बताए ।

मदिरा उत्पादन गर्न घरभित्रै बनाइएका २ वटा खाल्डामध्ये पानी रहेको खाल्डामा उनीहरू डुबेका हुन् । एउटा खाल्डो (ट्यांकी) मदिरा बनाउने गुडले भरिएको छ । बिजुलीको पोलबाट हुक लगाएर बत्ती बाल्ने गरेको देखिएकाले करेन्ट लागेको पनि हुनसक्ने प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए ।

जोगा परिवारले लामो समयदेखि घरमै मदिरा भट्टी सञ्चालन गर्दै आएको थियो । १५ दिनअघि प्रहरीले भट्टी भत्काई कच्चा पदार्थ नष्ट गरे पनि उनीहरूले फेरि मदिरा बनाउन भट्टी र कच्चा पदार्थ तयार गरेको देखिएको छ ।

प्रतिक्रिया