कलिउड नाईट २०१९ को साक्षी बस्दा

बासु श्रेष्ठ ,उडब्रिज, भर्जिनीया २०७६ असोज १३ गते २१:१० मा प्रकाशित

 

(कलाकारहरुको नाम प्रस्तुतीपिच्छे उल्लेख गरिँदा लेख केहि लामो हुन गएको अनुभव हुनसक्छ । तर, उल्लेख गरिनाको कारण तिनलाई उत्साहित गराउनु हो । पाठकले अन्यथा नमान्नु होला ।)

बासु श्रेष्ठ ,उडब्रिज, भर्जिनीया । सन् २०१७ देखि केसी डान्स सेण्टरले आरम्भ गरेको कलिउड नाईटको तेश्रो प्रस्तुती कलिउड नाइट २०१९ को साक्षी घटस्थापनाको ठिक एकदिन अगाडि स्थानिय नोभा कलेजको प्रेक्षालयमा बस्न पाईयो । दशैँ अगाडि सेप्टेम्बर २८ का दिन गरिने भनिएको यस कार्यक्रमको तयारीको बारेमा भने म झण्डै पाँच छ महिना पहिले नै जानकार थिएँ ।

साँझ ६ बजे शुरु गरिने भनिएको यो कार्यक्रम भने आधा घण्टा ढिलो शुरु भयो । किनभने प्रेक्षालय भवनमा अकस्मात फायर अलार्म बज्न गयो र हलमा उपस्थित सबैलाई बाहिर पठाएर दमकलका कर्मचारी आई भवन सुरक्षित रहेको प्रमाणित गरेपछि मात्र दर्शकहरुलाई पुनः प्रवेश गराईएको थियो । यसकोलागी कार्यक्रम सँचालनमा स्वभावतः केहि ढिलाई हुन गयो ।

कार्यक्रमको शुरुवात दुर्गा वन्दना तथा मँगल धुनबाट गरिएको थियो जसमा सोनिका महत, रिया श्रेष्ठ, रिचा ढकाल, दिप्ती अधिकारी, स्वाती गुप्ता, अक्षरिका खनाल, अनुष्का पाण्डे, नितिशा चौधरी, दिया पौडेल तथा अँकिता कोईराला सहभागी भएका थिए ।

यस लगत्तै केसी डान्स सेण्टरको तर्फबाट सँचालकव्दय नविन केसी तथा लुना श्रेष्ठको आवाजमा स्वागत मन्तव्य प्रकट गरियो । स्मरण रहोस्, आवाजका साथै शब्दहरुपनि पर्दामा दौडिईरहेका थिए । अब बल्ल भने कार्यक्रमका सँचालक परशु तिम्सिना तथा समीक्षा सापकोटाको आगमनमा कार्यक्रमले गति लियो । जसमा बालापनको उमेर शीर्षकमा स्वस्तिका ज्ञवाली, सुहाना शाही, प्रितिका रिजाल, प्रनिशा रिजाल, ईभा गुरागाईँ, किञ्जल रिजाल, रेजल पाण्डे, किञ्जल शर्मा, विभूति अधिकारी, अर्विना तिवारी, अनुष्य सुबेदी, रेवा बस्नेत, सदिक्षा बस्याल तथा सुभी बस्यालको आकर्षक तथा मनमोहक प्रस्तुती रहेको थियो ।

उक्त नृत्य लगत्तै रिया श्रेष्ठ, रोमा भण्डारी तथा आस्था ढकालको डम्फुमा बजाउ गीतमा नृत्य प्रस्तुत भएको थियो । त्यसपछि जगदिश समालले नबिर्सेँ तिमीलाई गीत प्रस्तुत गरे भने यस लगत्तै लुना श्रेष्ठ, राहुल केसी, रोमा भण्डारी रिया श्रेष्ठ, अँकिता कोईराला, दिया पौडेल, दिप्ती अधिकारी, रिचा ढकाल, आस्था ढकाल, आयुषा ढकाल, अनुष्का पाण्डे, नितिशा चौधरी, तेजस्वी पाण्डे तथा स्वाती गुप्ताको मनमोहक नृत्य छाएछ बसन्त मेरो तनमन भरी गीतमा प्रस्तुत भयो ।

अहिलेसम्म बालिकाहरुकोमात्र प्रस्तुती भईरहेको क्रमलाई भँग गर्दै बाल कलाकार रायन बस्नेत, आदित्य निरौला, निशान्त रिजाल, सदिक मुडभरी, सँस्कार बुडाथोकी, आर्यन राठौर तथा शान राजभण्डारीको समुहले यो कुरा गोप्य तथा पप गायक ब्रुनो मार्सको अँग्रेजी गीत डण्ट बिलिभ मी जस्ट वाचमा नृत्य प्रस्तुत गरे।

नलिना चित्रकारको चाहिँदैन हिरा र मोतीको प्रस्तुती लगत्तै नेपालको बहुसाँस्कृतिक झलक दिने धिमाल, नेवारी, भोजपुरी, टप्पा तथा शेर्पा गीतमा यज्ञमान शाक्य, राहुल केसी, सबिना बज्राचार्य, सुहाना शाही, स्वस्तिका ज्ञवाली, रोमा भण्डारी, रिया श्रेष्ठ, दिप्ती अधिकारी अँकिता कोईराला तथा स्वाती गुप्ताको आकर्षक तथा मन छुने नृत्य प्रस्तुत गरेर दर्शक दीर्घाबाट वाहवाह बटुले ।

सुपर गल्र्स नामका समुहका बालिका कलाकारहरु अँकिता कोईराला, दिप्ती अधिकारी, रिचा ढकाल, दिया पौडेल, स्वाती गुप्ता, नितिशा चौधरी, अनुष्का पाण्डे, सुधात्री शर्मा, अक्षरिका खनाल तथा बेञ्जु राजभण्डारीले आँखामा गाजल लाएर हेर गीतमा नृत्य प्रस्तुत गरे ।

सदा माईक समातेर उभिएरै गीतको प्रस्तुती दिँदै आएका लोकगीत गायक तथा नेपालकालागी अवैतनिक वाणिज्यदूत प्रेमराजा महतले भने यस पटक सर्वथा भिन्न प्रस्तुती दिए । उनले गाएको गीत ऐना हेरेर कपाल कोरेरकोलागी नृत्यमा साथ दिएका थिए रिमा केसी, ऐश्वर्य निरौला, सुयष्का नेपाल, सदिक्षा मुडभरी, रिहाना नेपाल, श्लेष्मा पन्त, सिमरन ढकाल, यश आचार्य, आर्या बानिया, बिनिशा अधिकारी, समा भुषाल, ओजस्वी केसी तथा आरजु कार्की । लोकगीत गायक प्रेमराजा महतको यो प्रस्तुती नितान्त नौलो र रचनात्मक थियो जसलाई दर्शकहरुले निकै मन पराए ।

प्रत्येक बर्ष प्रस्तुत गरिँदै आएको सुपर मम्सले यस बर्षपनि निरन्तरता पायो । जसमा चोली राम्रो पाल्पाली ढाकाको गीतमा प्रस्तुत भएका थिए रुबिना राजभण्डारी, सबिना बज्राचार्य, सोनिका महत, जया श्रेष्ठ, सुजाना ढकाल, रेखा राजभण्डारी, अर्चना लामा, गीता न्यौपाने, गौरी गजुरेल, बबिता श्रेष्ठ, सम्झना खतिवडा तथा सुपर ड्याडका रुपमा यमन श्रेष्ठ, युवराज ढकाल, माधव भण्डारी तथा कृष्ण ढकाल । यस सुपर मम्सको प्रस्तुतीका बिच अनपेक्षित ढँगले जब यि सुपर ड्याड्सहरुको मँचमा प्रवेश भयो, यस लेखकको मनमा तत्कालै यस्तो सुपर ड्याड्सकोमात्र अलग्गै प्रस्तुती भएको भए अझ राम्रो हुनेथियो होला भन्ने लागेको थियो । नभन्दै यस प्रस्तृतीको अन्त्यपछि उद्घोषक परशु तिम्सिनाले आगामी बर्ष यस्तो योजना रहेको भन्दै मेरो मनको कुरा उद्घोष गरिदिए । आगामी बर्ष यसको प्रतिक्षा रहने छ ।

अब मँचमा फेरि आईन नलिना चित्रकार जसले गोरी काली जे भने नि हुन्छ लगायत थुप्रै गीतका सम्मीश्रण प्रस्तुत गरिन् । दर्शकदीर्घामा नै पुगेर दर्शकहरुलाई सहभागी गराउने नलिनाको प्रस्तुतीबाट मैले कार्यक्रमको अन्त्यमा पुगीसकेको अनुमान गरेको थिएँ ।

नभन्दै अन्तिम कार्यक्रमको प्रस्तुती द्यौसी भैलो कार्यक्रम रहेछ । गलबन्दी च्यातियो गीतमा नविन केसी तथा सुष्मा खनाल लगायतका समुहको दोहोरी लगत्तै द्यौसीभैलो प्रस्तुत भयो । द्यौसीभैलो खेलिने घरको मुखियाका रुपमा प्रस्तुत भएका थिए यस क्षेत्रका पुराना वासिन्दा, पासापुचका सँस्थापक तथा वरिष्ठ ब्यक्ति राम मालाकार । मुखियाकी छोरी चाहिँ लुना श्रेष्ठ अनि द्यौसीभैली भट्याउने परशु तिम्सिना लगायत नविन केसी, सुष्मा खनाल, सगुन लुईटेल, रुबिसा ढुँगेल, रुबिना ढुँगेल, आकृति गडतौला तथा माथि उल्लेखित नृत्य तथा गायनका प्रस्तोताहरु थिए ।

यसरी दशै तथा तिहार आगमनको अनुभूति दिने यस बर्षको कलिउड नाईट २०१९ मनोरँजनात्मक तथा सन्देशमूलक भएर टुँगियो । कार्यक्रमको तयारीकोलागी ज्यादै मेहनत गरिएको प्रस्तुतीबाट स्पष्ट हुन्थ्यो । झण्डै १०० कलाकारहरुले गरेका प्रस्तुतीको नृत्य निर्देशन नविन केसी तथा लुना श्रेष्ठको थियो । र कार्यक्रममा पर्दा उघ्रिने या बन्द हुने प्रथा थिएन भने प्रत्येक नृत्यका शब्दहरुसँग मेल खाने गरि भिडियोग्राफीको प्रस्तुती पनि आकर्षक थियो र यसरी प्रस्तुत गर्ने सोच बनाएका रहेछन् उनै नविन केसीले ।

त्यसपछि नविन केसी तथा लुना श्रेष्ठले उपस्थित सबैलाई केसी डान्स सेण्टरको नारा तपाईको उपस्थिति, हाम्रो हौसला दोहोर्याउँदै धन्यवाद ज्ञापन गरे ।

यसरी यो कार्यक्रममा कतै कहिँ कुनै खोट बिना ठुलो मनोरञ्जन लिएर घर फर्किएँ । तथापी, कार्यक्रममा बजाईएका गीतका श्रष्टाहरुको नामपनि उद्घोष गरिएको भए ति श्रष्टाहरुपनि सम्मानित हुने थिए कि भन्ने प्रश्नहरु चाहिँ कार्यक्रम अवधिभर उठिरहे । यसलाई पनि कार्यान्वयन गर्ने कि भन्ने एउटा सानो खसखस लागेको छ ।

परदेशमा जिविकोपार्जन तथा अध्ययन लगायत आआफ्नै ब्यस्तताका बिचमा पनि आफ्नो भाषा, सँस्कृतिलाई निरन्तरता दिन योगदान गर्ने सम्पूर्ण ति स्थानिय कलाकारका अभिभावकहरुपनि धन्यवादका पात्र भएका छन् ।

दशै तथा तिहार आगमनको अनुभूति दिने प्रकारको यो कार्यक्रमको तयारीकालागी लाग्ने समयको योगदान सानो ईच्छाले सम्भव हुन्न । त्यसमाथि यि बालबालिकाहरु पनि आआफ्ना स्कूलको समयका अतिरिक्त समयमा सहभागी भएका हुन् जसको हामीले मुक्तकण्ठले प्रशँसा गर्नैपर्ने हुन्छ । र सबैभन्दा ठुलो जस नविन तथा लुनालाई दिईनु पर्छ जसले यत्रो ठुलो समुहलाई आकर्षक नृत्य निर्देशन गर्दै मँच प्रदान समेत गरे ।

कार्यक्रम सँचालकत्रय परशु तिम्सिना, समीक्षा सापकोटा तथा बिच्चबिच्चमा बाल कलाकार रिचा ढकालको उद्घोषणमा केहि भूमिकाहरुको प्रवेशले अलि लामो भएको अनुभव भएपनि समग्रमा रमाईलो र रोचक थियो । पोहोर यस लेखकले दिएको सल्लाह बमोजिम दर्शकबाट ताली मागिने काम पनि न्यून थियो ।

सँयोगबश, कार्यक्रममा भुतपूर्व शिक्षामन्त्री दिनानाथ शर्माको पनि उपस्थित रहेको थियो । उनिसँगको परिचयपछि मध्यान्तरको अवधिमा मैले कार्यक्रम कस्तो लाग्दैछ भन्ने अनौपचारिक प्रश्न गरेको थिएँ । उनि आफु यसबाट प्रभावित भएको भन्दै कार्यक्रमको प्रशँसा गरे । आशा गरौँ उनले यो समाचार देशमा पुर्याउलान् ।

प्रतिक्रिया