मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १४:२०
वासिङटन डिसी 04:35

प्रविधि र परिस्थितिले निम्त्याएकाे भर्चुअल दशैं

तारा भट्टराई २०७६ असोज १३ गते ०:४४ मा प्रकाशित

तारा भट्टराई । आज घटस्थापना नवरात्रकाे सुरुवात।हामी प्रवासमा बस्नेहरु काखमा ल्यापटप राखेर, कानमा ब्ल्यूटूथकाे ठाेसाे खॉदेर गाउँमा ऊ बेला मनाएकाे दशैं सम्झदै विरक्तिने र अलाप विलाप गर्ने बेला । कलमबाजहरु अहिलेकाे र उहिलेकाे दशैं तुलना गरेर लेखहरु लेख्ने बेला।

दशैं सम्बन्धि लेखिएका लेखहरु र साेसल मिडियामा गरिएका पाेष्टहरु हेर्दा मानिसहरु उमेर घटाउन मिल्ने भए सबै वालापनमा नै फर्कलान जस्ताे लाग्ने। हुनपनि दशै शब्द सुन्नासाथ सिङ्गै गाऊ रात भरि चिउरा ढिकीमा कुटेको भक्राङच्याङ भक्राङच्याङ आवाज र भुटेको धानको गाउँभरि फैलिएकाे सुगन्ध , डाँडामा थापेको लिङ्गे पिङमा मच्चिदाकाे मज्जा , रातोमाटो र कमेरो माटोले घर पोतेर चिटिक्क पारेकाे जस्ता कुराहरु दिमागमा आईदिन्छन्।

कुरा उहिलेका सम्झेर अहिलेकाे उपभोक्तावादी संस्कृतिले ग्रस्त समाजमा निरशाजनक टिप्पणी गर्ने वा दिक्क मान्ने कुरा पनि केहि छैन।

उहिले पनि समय थियाे र अहिले पनि समय चक्र नै चलिरहेकाे छ। उ बेला दशैं केबल दशै मात्र थिएन, बर्ष भरिको उत्साह र उमंगको समिश्रण थियाे । किनभने चाडवाड बाहेक मनाेरन्जन गर्ने अरु साधनहरु केहि पनि थिएनन्। टाट्नामा बाँधेको बोका खसी, कोठेबारीमा पसाएकाे केराको घरी र आँगनको डिलमा फूलेको गोदावरी, सयपत्री र मखमलीलाई परिवारका सबै सदस्यहरु मिलेर स्यहार सुसार गरिन्थ्याे । दसैँलाई भनि चामल, खसी, कुखुरा, रागाँ, फूलपातीे र फलफुल लगायतका सामाग्री आफैंले आफ्नै बारिमा उत्पादन गर्नुपर्थ्याे । तर, अहिले हरेक सामानहरु बजारबाट खरिद गर्न पाईन्छ।

त्याे बेलाकाे जस्ताे चाडवाडप्रतिकाे उमंग र जाेस जॉगर पनि अहिलेकाे पुस्तामा छैन। एक त अहिले चाडपर्वलाइ हेर्ने दृष्टिकोणमा नै पुरै परिवर्तन आएको छ भने मानिस पुरै यान्त्रिक पनि भईसकेकाे छ। बढ्दाे आधुनिकतासँगै दशैकाे त्याे खालकाे मौलिकता पनि गुम्दै गएर क्रमश दशैं सामाजिक सन्जाल र इन्टरनेटकाे माध्यमबाट चाडवाड आउनु महिना दिन अघिदेखि नै आशीर्वादकाे बर्षा छुट्न थाल्छन्।

अहिलेकाे पुस्तालाई धर्मकर्म भन्दा पनि विज्ञान र प्रविधिप्रतिको विश्वास बढी छ। सिमेन्ट र टिलिक्क टल्कने ईंट्टाका रङीविरङी घरमा बसेर चाडबाडको बेला कमेरो माटोको याद गर्नु पनि बेकारकाे कुरा हाे। थरिथरिका खानेकुरा पाईने अहिलेकाे बजारमा ढिकीमै कुटेको चिउरा र काठकाे ठेकिकाे दही , अनि डाँडामा बाबियोको लठ्ठो बटारेर थापेको लिङ्गे पिङमा मच्चिएकाे नै सम्झना गर्नु पनि बेकार हाे। अहिले बजारमा बिजुलीबाट चल्ने मच्चिने अनेक यन्त्र राेलरकाेष्टर देखि डिज़्नीवल्ड सम्म छन्।

मेराे बाल्यकालकाे दशैं सम्झदा नयॉ जामा लाउने, मिठाे परिकार खाने अनि दक्षिणा कति हात पर्ला भन्ने कुराले बढी प्राथमिकता पाउथ्याे। तर दशैंकाे रातभर चिउरा कुट्ने, कमेराे माटाे लगायत कामकाे चटाराे सम्झदा याे दशैं किन आउछ बर्षैपिच्छे जस्ताे पनि लाग्थ्याे। अहिले दशैं कहिले आउला र मिठा परिकार खाउला अनि राम्रा लुगा लगाउला भन्ने आशा पनि छैन। पैसा कमाउन सक्दा सधै नयाँ पहिरन, चुल्लोमा सधै मिठा परिकार पाक्ने भएका कारण दशैंमा चाहिं के परिकार खाने त भनेर यूट्यूबमा अरु देश र कलल्चरका मानिसहरुका भान्सामा पाक्ने परिकार सर्च गर्नुपर्छ।

मान्छेका ईच्छा आकांक्षा ती स साना गाउँमा पुरा हुन नसकेकै कारणले नै अहिले विश्वका प्राय: सबै मुलुकमा नेपालीहरु पुगेका छन्। विश्वका जुन कुनामा बसेर आफ्ना जीवनका सपना पुरा गर्दैगरेकाे भएपनि सामाजिक सन्जालबाट महिना दिन अघिदेखिकाे दशैं तिहारकाे आशीर्वादकाे बर्षाले मेराे यसपटक दशैं छैन है , जुठाे परेकाे छ वा प्रियजन गुमाएकाे बेदना छ वा म सँग मनाउने पैसा छैन है भन्ने माैका समेत मिल्दैन।

दशैंकाे टीकाले गराउने पारिवारिक तथा सामाजिक अन्तरक्रिया फेशबुकले नै गराईदिएकाे छ र कति नयॉ नयॉ सम्बन्धहरुसँग सम्पर्क पनि बढाएको छ । म न्यूयाेर्कमा बस्छु र नेपालकाे पुर्वी पहाडीजिल्लाकाे गाउँमा बस्ने ९० बर्षका हजुरबासँग ईन्टरनेटकाे सहयाेगले हरेकदिन आशीर्वाद लिनसक्छु। उहॉकाे चुल्हाेमा जे पाक्छ यहॉ मेराे चुल्हाेमा पनि त्यहिं पाक्छ।

अब पुरानो मान्यताहरुलाई नयॉ स्वरुप दिने बेला आएकाे छ। अहिले व्यक्तिको जीवन पनि त्यति सजिलाे छैन। एकातिर पढाइ, जागिर र करिअरकाे चिन्ता छ भने अहिलेकाे बजारमा बिक्नसक्ने प्रतिस्पर्धाकाे दौडधूप पनि ज्यादै छ। अर्काेतिर पारिवारिक दायित्व पनि उत्तिकै छ।व्यवस्तताकै कारण आफन्तसित भाैतिकरुपमा दुरी टाढा भएपनि भर्चुअललाई नै यथार्थ मानेर बस्नुपर्ने अवस्था छ।

सबैलाई विजया दशमी र दिपावलीकाे हार्दिक मंगलमय शुभकामना ।

सबैकाे जय हाेस ।

प्रतिक्रिया