मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १४:१०
वासिङटन डिसी 04:25

नेपाल जिम्बावेसँग ५ विकेटले पराजित

इनेप्लिज २०७६ असोज ११ गते १०:५२ मा प्रकाशित

काठमाडौं, ११ असाेज । नेपाली क्रिकेट टोली सिंगापुरमा जारी त्रिकोणात्मक ट्वान्टी–२० शृंखला अन्तर्गत पहिलो खेलमा टेष्ट मान्यताप्राप्त टोली जिम्बावेसँग ५ विकेटले पराजित भएको छ ।

शुक्रबार साँझ सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १ सय ३३ रनको लक्ष्य सिंगापुरले ५ विकेट गुमाएर ११ बल अगावै भेट्टायो ।

टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुआत राम्रो हुन सकेन । मध्यक्रममा उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले केहि आक्रामक शट खेलेपछि नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल खडा गरेको थियो ।

सिनियर टोलीबाट डेब्यू गरेका इशान पान्डेले कप्तान पारस खड्कासँगै ओपनिङ गरेका थिए । उनले ८ बलमा एक चौकासहित ४ रनमात्र बनाउन सके ।

तेस्रो नम्बरमा आएका आरिफ शेख पनि ८ रनमै आउट हुँदा नेपाल ६.४ ओभरमा ३२–२ को स्थितिमा थियो । अर्को ओभरमा कप्तान पारस पनि १८ रनको स्कोरमा आउट भए । उनले २२ बल खेलेर ३ चौका प्रहार गरे ।

पाँचौं नम्बरमा ब्याटिङमा आएर अर्का युवा खेलाडी कुशल मल्लले पनि सिनियर टोलीबाट डेब्यू गरे । उननले ६ बलमा २ रनमात्र जोड्न सके । १०.१ ओभरमा नेपालले ५५ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो ।

पाँचौं विकेटका लागि दीपेन्द्र र सन्दीप जोराले ३४ रनको साझेदारी गरे । १५.२ ओभरमा नेभिल माद्जिवाको बलमा क्याच आउट हुनुअघि सन्दीपले १५ बलमा २ चौकाको सहयोगमा १७ रनको योगदान गरे ।

अर्को ओभरमा दीपेन्द्र पनि व्यक्तिगत ४० रनको स्कोरमा आउट हुँदा नेपालले ९५ रन जोडेको थियो । नेपालको तर्फबाट सर्बाधिक रन बटुलेका दीपेन्द्रले ३३ बलमा ५ चौका प्रहार गरे ।

सातौं विकेटका लागि वकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र सोमपाल कामीले ३७ रनको अविजित साझेदारी गरे । १४ बल खेलेका सोमपालले अविजित २५ रन बनाउने क्रममा ३ छक्का प्रहार गरे । विनोद १२ बलमा १ चौकासहित ११ रनमा अविजित रहे ।

बलिङमा जिम्बावेका सीन विलियम्सले २ विकेट लिए । विलिङटन मासाकाद्जा, तेन्दाइ चतारा, मादजिभा र रायन बर्लले १/१ विकेट बाँडे ।

प्रतिक्रिया